नेपालबाट पहिलोपटक बंगलादेश विद्युत् निर्यात सुरु



काठमाडौं । नेपालबाट भारत हुँदै बंगलादेश विद्युत निर्यात आजदेखि औपचारिक रुपमा शुभारम्भ भएको छ ।

नेपालका ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्का, भारतका विद्युत्मन्त्री मनोहरलाल र बंगलादेशका विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका सल्लाहकार मोहमद फोजुल कबिर खानले भर्चुअल विधिमार्फत संयुक्त रुपमा स्वीच अन गरी विद्युत् निर्यातको सुभारम्भ गरे । नेपाल र भारतबीचमात्र विद्युत् व्यापार हुँदै आएकोमा अब नेपालको विद्युत् तेस्रो देशमा विस्तार भएको छ ।

शुभारम्म कार्यक्रममा बोल्दै ऊर्जा मन्त्री खड्काले बंगलादेशमा नेपालबाट विद्युत निर्यात सुरु हुनु दक्षिण एशियामा विद्युत व्यापारमा कोशेढुङ्गा सावित भएको बताए ।

विद्युत निर्यातको लागि गत असोजमा नै त्रिपक्षीय सम्झौताअनुसार आजदेखि भारत हुँदै बंगलादेशमा विद्युत निर्यात सुरु भएको उनको भनाइ छ । विद्युत निर्यातको लागि सहजीकरणको लागि भूमिका खेल्ने भारत सरकार र बंगलादेशलाई उनले धन्यवाद दिए ।

नेपालमा उत्पादित विद्युत् भारतको प्रसारण संरचना हुँदै बंगलादेशसम्म पुगेको छ । नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै भारतको मुजफ्फरपुर सबस्टेसनमा विद्युत् पुग्नेछ । त्यसपछि मुजफ्फरपुर सबस्टेसनबाट भारतको प्रसारण लाइनमार्फत भारत–बंगलादेशबीचको बहरामपुर (भारत)–भेरमारा (बंगलादेश) चार सय केभी प्रसारण लाइनमार्फत बंगलादेश विद्युत् पुग्नेछ । नेपालबाट भारत हुँदै बंगलादेशतर्फ विद्युत् निर्यात मध्यान्ह १२:३० बजेबाट सुरु भएको हो । यसवर्ष (सन् २०२४)को वर्षायाममा विद्युत् निर्यात शुक्रबार राति १२ बजेसम्म मात्र हुनेछ ।

त्यसपछि आगामी वर्ष सन् २०२५ को जुन १५ बाट बंगलादेशतर्फ पुनः विद्युत् निर्यात सुरु हुनेछ । भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले त्रिशूली र चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित क्रमशः १८ दशमलव ६० र २१ दशमलव ४० गरी ४० मेगावाट विद्युत् बंगलादेशतर्फ निर्यातका लागि बिहीबार स्वीकृति दिएको थियो । केन्द्रीय विद्युत् प्राधिकरणले दुई आयोजनाबाट उत्पादित ४० मेगावाट विद्युत् सन् २०२९ अक्टोबर २ सम्म बंगलादेश निर्यात स्वीकृति दिएको हो । यी दुवै भारतमा विद्युत् निर्यातका लागि स्वीकृति पाइसकेका आयोजनाहरु हुन् ।

नेपाल विद्युत् प्राधिकरणले वर्षायामको ६ महिना अर्थात हरेक वर्षको जुन १५– नोभेम्बर १५सम्म पाँच वर्ष ४० मेगावाट विद्युत् अमेरिकी डलरमा बंगलादेशलाई बिक्री गर्नेछ । नेपाल–बंगलादेशबीच विद्युत् व्यापार डलरमा हुनेछ । प्राधिकरणले बंगलादेश विद्युत् बिक्री गरी प्रति युनिट ६.४० अमेरिकी सेन्ट (शुक्रबारको विदेशी मुद्रा विनियम दर अनुसार ८ रुपैयाँ ६२ पैसा) पाउने छ । नेपालले विद्युत् बिक्रीबाट पहिलो पटक डलरमा आम्दानी गर्न लागेको हो । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँमा हुँदै आएको छ ।

प्राधिकरणले शुक्रबार साँढे ११ घण्टा बंगलादेशतर्फ ४० मेगावाट विद्युत् निर्यातबाट २८ हजार १६० डलर ( रु ३७ लाख ९३ हजार चार सय ३३ ) पाउने छ । बंगलादेश निर्यात हुने विद्युत्को मूल्य प्राधिकरणले भारतको मुजफ्फरपुर बिन्दुमा पाउने छ । ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै बेहोर्नेछ । मुजफ्फरपुर विन्दुपछिको प्रसारण लाइन शुल्क, चुहावट, एनभिभिएन, भारतले लिने ट्रेडिङ मार्जिनलगायतका सम्पूर्ण कर तथा शुल्कहरु बंगलादेशले नै व्यहोर्ने छ । नेपालबाट ४० मेगावाट विद्युत् भारतीय प्रसारण ग्रिड प्रयोग गरी बंगलादेश लैजानका लागि नेपाल विद्युत् प्राधिकरण, एनटिपिसी विद्युत् व्यापार निगम (एनभिभिएन, भारत र बंगलादेश पावर डेभलप्मेन्ट बोर्ड (बिपिडिबी)बीच गत असोज १७ गते त्रिपक्षीय विद्युत् बिक्री सम्झौता (Power Sales Agreement-PSA) भएको थियो ।

त्रिपक्षीय विद्युत् बिक्री सम्झौतापछि प्राधिकरणले गत २३ असोजमा बंगलादेश विद्युत् निर्यात स्वीकृतिका लागि आयोजनाको सूची भारतको केन्द्रीय विद्युत् प्राधिकरणमा पठाएको थियो । भारतको केन्द्रीय विद्युत् प्राधिकरण बिहीबार स्वीकृति दिएपछि शुक्रबारबाट विद्युत् निर्यात सुरु गरिएको हो ।

कानुनमा भएको व्यवस्था बमोजिम बिपिडिबी १६ पुस २०८० मा नेपालबाट उत्पादित ४० मेगावाट विद्युत् बंगलादेश, भारत र नेपालका निकायहरुबीचको त्रिपक्षीय सम्झौताअनुसार हुनेगरी पाँच वर्षसम्म खरिदका लागि बोलपत्र आह्वान गरेको थियो । प्राधिकरणले विद्युत् बिक्रीका लागि तोकिएको ढाँचामा बिक्री गरिने विद्युत्को दरसहितको बोलपत्रसम्बन्धी कागजात पेस गरेको थियो । प्राधिकरणले पेस गरेको बोलपत्र स्वीकृत भएपछि त्रिपक्षीय विद्युत् बिक्री सम्झौताको प्रक्रिया अगाडि बढेको थियो ।


क्लिकमान्डु