नेपालले आजबाट ४० मेगावाट बिजुली बंगलादेश पठाउँदै, तीन देशका उर्जामन्त्रीले भर्चुअल रुपमा उद्घाटन गर्दै



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आजदेखि ४० मेगावाट बिजुली बंगलादेश निर्यात गर्दै छ।

भारतले अन्तिम स्वीकृति दिएसँगै बंगलादेश विद्युत निर्यात गर्न लागिएको हो । ‘हामीले भारतबाट स्वीकृति पाएका छौं । शुक्रबारदेखि बिजुली निर्यात गर्ने तयारी छ,’ नेपाल विद्युत प्राधिकरणका लोड डिस्प्याच सेन्टरका प्रमुख चन्दन घोषले भने ।

भारतीय ग्रीडको प्रयोग गरी नेपालबाट बंगलादेश ४० मेगावाट विद्युत प्रवाह शुभारम्भ कार्यक्रम शुक्रबार मध्याह्न १२ बजे नेपाल, भारत र बंगलादेशका उर्जामन्त्रीको भर्चुअल सहभागीतामा गरिने भएको छ ।

यस अघि नै नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट र भारतको विद्युत् व्यापार निगमबीच त्रिपक्षीय सम्झौता भने भइसकेको छ । भारतीय प्रसारणलाइन प्रयोग गरेर नेपालको बिजुली बंगलादेश लैजानुपर्ने भएकाले त्रिपक्षीय सम्झौता भएको हो । सम्झौता भए पनि भारतले प्रसारणलाइन प्रयोग गर्ने अनुमति दिएको थिएन ।

बीपीडीबीले २०८० पुस १६ गते नेपालबाट उत्पादित ४० मेगावाट विद्युत् बंगलादेश, भारत र नेपालका निकायहरुबीचको त्रिपक्षीय सम्झौताअनुसार हुनेगरी पाँच वर्षसम्म खरिदका लागि बोलपत्र (टेण्डर) आह्वान गरेको थियो ।

प्राधिकरणले विद्युत बिक्रीका लागि तोकिएको ढाँचामा बिक्री गरिने विद्युत्‍को दरसहितको बोलपत्र सम्बन्धी कागजात पेस गरेको थियो । पेस गरिएका बोलपत्र सम्बन्धी कागजात मूल्यांकन गरी त्यसलाई सम्बन्धित निकायबाट स्वीकृत भएको जानकारी दिँदै बिपिडिबीले बोलपत्र स्वीकार गर्ने आशयको सूचना प्राधिकरणलाई दिएको थियो ।

प्राधिकरणले भारतीय अनुदानमा निर्माण भएको तथा आफ्नो स्वामित्वमा रहेको २५ मेगावाटको त्रिशूली र सहायक कम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत बंगलादेश निर्यात गर्ने तयारी गरेको छ । यी दुवै भारतमा विद्युत निर्यातका लागि स्वीकृति पाइसकेका आयोजनाहरु हुन् ।

नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर-मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेश निर्यात हुने विद्युतको मूल्य प्राधिकरणले भारतरको मुजफ्फरपुर विन्दुमा पाउने छ । अर्थात बंगलादेश निर्यात हुने विद्युतको मिटर मुजफ्फरपुरमा रहने छ ।

ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै बेहोर्नेछ । मुजफ्फरपुरबाट भारतको प्रसारण लाइनमार्फत बहरामपुर (भारत)-भेरमारा (बंगलादेश) ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेश विद्युत् पुग्नेछ ।

नेपालले जुन १५ तारिखदेखि नोभेम्बर १५ तारिखसम्म ५ महिना बिजुली निर्यात गर्न सक्छ । प्रत्येक महिना २८ हजार ८०० मेगावाट आवर विद्युत निर्यात गर्ने छ । प्रतियुनिट बिजुलीको मूल्य ६.४ सेन्ट हुनेछ ।


क्लिकमान्डु