लाइन काटेका सबै उद्योगमा प्राधिकरणले जोड्यो बिजुली



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफूले लाइन काटेका सबै उद्योगमा विद्युत् जोडेको छ । ठूला ११ उद्योगबाहेक सबैमा लाइन जोडिएकामा बुधबार राति ९ बजेसम्म ती उद्योगमा पनि जोडिसकेको हो ।

प्राधिकरणले मंगलबार सबै उद्योगमा लाइन जोड्ने निर्णय गरे पनि ५ मेगावाटभन्दा बढी बिजुली खपत गर्ने उद्योगमा लाइन जोडेको थिए । लाइन जोड्न बाँकी रहेका हुलास स्टील, अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, त्रिवेणी स्पेनिङ मिल्स, अशोक स्टील, जगदम्बा स्टीलगायतमा भर्खरै विद्युत् जोडिएको हो ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले लाल आयोगको प्रतिवेदन कार्यान्वयन गर्दै काटिएका उद्योगमा २४ घण्टाभित्र लाइन जोड्ने निर्णय गरेको थियो । मंगलबार बसेको विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले पनि मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

खासगरी उद्योगी र प्राधिकरणबीचको विवादमा अग्र पंक्तिमा देखिएका उद्योगीहरुको लाइन जोडिएको थिएन ।

बुधबारै डेडिकेटेड ट्रंकलाइनको महसुल नउठाइ उद्योगहरुमा विद्युत जोड्न सरकारको निर्देशनविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले अन्तिम आदेश दिन अस्वीकार गरेको छ ।

आइतबारको मन्त्रिपरिषद् बैठकले टिओडी मिटरको बिलको आधारमा १५ दिनभित्र डेडिकेटेड ट्रंकलाइनको बक्यौता असुल गर्न र २४ घण्टाभित्र बिजुली काटिएका उद्योगमा लाइन जोड्न निर्देशन दिने निर्णय गरेको थियो ।


क्लिकमान्डु