१३४ यात्रुसहित सिचुवान एअरलाइन्सले पोखरामा दोस्रो चार्टर्ड उडान गर्दै



कास्की । चीनको सिचुवान एअरलाइन्सले १७ महिनापछि आज दोस्रो उडान गर्ने भएको छ । सिचुवान एअरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा १३४ यात्रुसहित चार्टर्ड उडान गर्न लागेको हो ।

नेपाल र चीनबीचको पर्यटन र मित्रतालाई थप सुदृढ बनाउने उद्देश्यसहित कात्तिक २४ मा पोखरामा हुन लागेको तेस्रो संस्करणको पोखरा अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड प्रतियोगितामा सहभागी हुन आउने चिनियाँ प्रतिनिधि, खेलाडी, दर्शक र अन्य व्यक्ति चार्टर्ड उडानमार्फत पोखरा आउन लागेका हुन् ।

चीनको कुनमिङ विमानस्थलबाट आउने एअर बस ३१९ विमान बिहीबार दिउँसो २ बजेर ४० मिनेट जाँदा पोखरामा अवतरण गर्नेछ । पोखरामा अवतरण गरेपछि अपराह्न ४ बजेर १० मिनेट जाँदा काठमाडौंका लागि उड्ने विमानस्थलकी सूचना अधिकारी जसोदा सुवेदीले जानकारी दिइन् । उक्त विमान काठमाडौंका लागि भने खालि नै उड्नेछ । प्रतियोगिताका प्रचारप्रसार संयोजक प्रतीक पहारीले विमानबाट एक सय ३४ जना यात्रु पोखरा आउने जानकारी दिए । प्रतियोगितामा नेपाल र चीनका खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

सिचुवानले यसअघि २०८० असार ६ मा पहिलोपटक चार्टर्ड उडान गरेको थियो । पोखरा विमानस्थल सञ्चालनमा आएको १७२ दिनमा चीनको छेन्दु विमानस्थलबाट सिचुवान एअरलाइन्सको न्यारोबडी ए ३१९ विमानले उडान भरेको हो ।

सो विमानमा पोखराको फेवातालमा सम्पन्न दक्षिण एसियामै पहिलोपटक नेपाल–चाइना फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल २०२३ मा सहभागी हुन चिनियाँ टोली आएका थिए । यो नै पोखरामा भएको पहिलो अन्तर्राष्ट्रिय उडान हो ।

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पोखरामा चारपटक गरी अहिलेसम्म पाँच चार्टर्ड र एक व्यावसायिक उडान भएको छ ।


क्लिकमान्डु