तेस्रो टेलिकम सेवाप्रदायक भित्र्याउन अध्ययन गर्दै दूरसञ्चार प्राधिकरण, एनटीसी र एनसेलबीच आउला प्रतिस्पर्धी ?
काठमाडौं । सरकारले नेपालको टेलिकम क्षेत्रमा तेस्रो सेवाप्रदायक भित्र्याउने विषयमा अध्ययन थालेको छ । नेपालको टेलिकम क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले तेस्रो सेवाप्रदायको आवश्यकता र संभावना बारेमा अध्ययन गर्दै छ ।
प्राधिकरणका सहायक प्रवक्ता डा. प्रदीप पौडेलका अनुसार एक साताअगाडि गठन भएको समितिले काम थाल्दै छ । टेलिकम क्षेत्रमा भइरहेको विषयमा अध्ययन गरेर प्रतिवदेन दिन उक्त समिति बनेको पनि पौडेलले बताए ।
पौडेलका अनुसार नेपालमा तेस्रो सेवाप्रदायक आवश्यक भए/नभएको र भित्र्याउन आवश्यक किन छ वा छैन भन्ने विषयमा अध्ययन हुने भएको छ । अध्ययन समितिले तीन महिनाको समय पाएको पनि उनले जानकारी दिए।
अध्ययन समितिको संयोजक प्राधिकरणको निर्देशक अमर स्थापित छन् । उनको संयोजकत्वमा प्राधिकरणका निर्देशक सन्तोष पौडेल, उप निर्देशक प्रदीप पौडेल, सुन्दर प्याकुरेल र सहायक निर्देशक सुनिल खतिवडा सदस्य रहेका छन् ।
उक्त अध्ययन समितिले नयाँ सेवाप्रदायक आवश्य भए कसरी इजाजत जारी गर्ने, कति समयको ममय दिने, अहिले देखिएको समस्या तथा सेवाप्रदयाकको गुनासोको विषयमा पनि सम्बोधन हुने प्राधिकरणको भनाइ छ ।
हाल नेपालको टेलिकम क्षेत्रमा निजी क्षेत्रबाट एनसेल र सरकारी सेवाप्रदायक नेपाल टेलिकम मात्रै छ । टेलिकम र एनसेलबीच अहिले चर्को प्रतिस्पर्धा छ । यी दुईबीचको प्रतिपस्धाका बीच अर्को सेवाप्रदायक ल्याएर उपाभोक्तालाई विकल्प दिने र टेलिकम क्षेत्र थप व्यवस्थित उपभोक्तामैत्री बनाउने पनि प्राधिकरणको भनाइ छ ।