मनसुन हटेसँगै हेलिकप्टर उडानमा लागेकाे प्रतिबन्ध हट्यो, बढी जोखिमको उडान अनुमति मात्रै प्रधान कार्यालयबाट




काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले मौसम पूर्वानुमान महाशाखाले मनसुन सकिएको घोषणा गरेसँगै वर्षातको समयमा हुने हेलिकप्टरको उडानका लागि लगाएको उद्दार उडान, पुष्पविष्टी र सिलिङ फ्लाइटको प्रतिबन्ध हटाएको छ ।

मौसम पूर्वानुमान महाशाखाले १२ अक्टोबरदेखि नेपालबाट मनसुन बाहिरिएको घोषाणा गरेसँगै प्राधिकरणले पनि वर्षातको समयमा हुनसक्ने जोखिम न्यूनीकरण गर्न लगाएको हेलिकप्टर उडानको प्रतिबन्ध हटाएको उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।

यो वर्ष जुन १० बाट सुरु भएको मनसुन १२ अक्टोबरबाट हटेको पनि मौसम पूर्वानुमान माहाशाखाले बताएको छ । उनले भने, मनसुनकाे समयमा जतिबेला पनि माैसम परिवर्तन हुनसक्ने र हेलिकप्टर उडानमा जोखिम हुने भएकाेले उड्डडयन प्राधिकरणले हेलिकप्टरकाे उडानमा प्रतिबन्ध लगाएकाे थियाे ।

उनका अनुसार १३ जुलाई २०२३ मा मनाङ एयरको हेलिकप्टर उडानको दुर्घटनापछि हेलिकप्टर उडानले लिनुपर्ने सबै उडानको अनुमति केन्द्रीकृति गरेर प्रधान कार्यालयबाटै दिने व्यवस्था गरेको थियो । मनसुन हटेसँगै नर्मल कार्गो तथा प्यासेन्जर उडान र उपत्यका भित्र हुने उडानको अनुमति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै दिने व्यवस्था गरिएको उनले बताए ।

अब पाइलटको चेक, नन कमर्सियल, सिलिङ र अन्य विमानस्थलबाट सुरु हुने उडान मात्रै अनुमतिको लागि नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रधान कार्यालय जानुपर्ने व्यवस्था गरेको पनि भुलले बताए ।


क्लिकमान्डु