फूलपातीमा काठमाडौंबाट भैरहवा उड्ने न्यारोबडीको सबै टिकट बिक्री, फर्कंदा ३ हजार ८ सय भाडा



काठमाडौं । दशैंका लागि फूलपातीका दिन काठमाडौंबाट भैरहवा उड्ने नेपाल वायु सेवा निगमको न्यारोबडी जहाजको सबै टिकट बिक्री भएको छ ।

१५८ वटा यात्रुसिट क्षमता भएको जहाज प्याक भएको निगमले जनाएको छ । फूलपातीका दिन विहान ११ बजे विमानले उडान भर्ने छ ।

यसअघि सोमबार राति निगमले काठमाडौं भैरहवा उडानको टिकेट खोलेको १ घण्टाभित्रै ७० वटा सकिएको थियो ।

निगमले यात्रुको चाप मूल्यांकन गर्न १ घण्टाका लागि टिकेट खोलेको थियो ।

टिकेट खोल्नासाथ एकैछिनमा १५८ सिट क्षमताका करिब आधा प्याक भएको थियो । बाँकी आधा क्षमताको लागि मंगलबार विहान टिकट खुला गरिएको थियो ।

निगमले फूलपातीको दिन बिहान ७ हजार रुपैयाँमा काठमाडौंबाट भैरहवा लैजाने ३ हजारमै भैरहवाबाट काठमाडौं यात्रु ल्याउने गरि भाडादर सार्वजनिक गरेको थियो । निजी वायुसेवाको तुलनामा निगमको न्यारोबडी जहाजले उडान गर्दा सस्तो परेको र टिकट नपाएर हैरानी भएका यात्रुलाई निगमले उद्धार उडानमार्फत भैरहवा लाने भएको हो ।

निगमले अन्तर्राष्ट्रिय उडानको तालिका प्रभावित नहुने गरी भैरहवा उडान राखेको नेपाल वायुसेवा निगमका प्रवक्ता मनोजकुमार साहले बताए । यात्रुको चाप बढी भएकोले अर्को पनि उडान थप गर्नेबारे छलफल भइरहेको उनले बताए ।


क्लिकमान्डु