पहिलो पटक मोबाइल एपमार्फत सेयर कारोबार



काठमाडौं । नेपालमा पहिलो पटक मोबाइल एप मार्फत सेयर कारोबार भएको छ । आज पहिलो पटक सेक्योर्ड सेक्युरिटिज (३६नम्बर ब्रोकर)बाट मोबाइल एपमार्फत कारोबार भएको हो ।

सेक्योर्ड सेक्युरिटिजका अध्यक्ष सन्तोष मैनालीका अनुसार ‘एट्र्याड डीजी ट्रेड नेपाल’ नामक एपबाट पहिलो कारोबार भएको हो । यो एप एन्ड्रोइड तथा आईओएस दुवैमा भर्जनमा रहेको उनको भनाइ छ ।

आज ३६ नम्बर ब्रोकरबाट भएको कारोबारमा ६१ प्रतिशत कारोबार मोबाइल एपबाट भएको मैनालीले बनाए । ३६ नम्बर ब्रोकरका सदस्यमध्ये आइतबार ४८ प्रतिशतले मोबाइलबाट लगइन गरेको मैनालीको भनाइ छ ।

मोबाइल एपमार्फत कारोबार गर्दा सजिलो भएका कारण लगानीकर्तामा उत्साह देखिएको मैनालीको भनाइ छ ।

एपमा सबै लगानीकर्तालाई अभ्यस्त हुन केही समय लाग्ने र त्यसपछि सबैका प्राथमिकतामा एप नै पर्ने उनको विश्वास छ ।

सेक्योर्ड सेक्युरिटिजले आजैबाट नयाँ ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) डिजी ट्रेड सञ्चालनमा ल्याएको छ । यसअघिको टीएमएस बन्द गरेर नयाँ सुरु गरेको उनले बताए । डीजी ट्रेड डेक्सटप, वेब भर्जन र मोबाइल एपबाट चलाउन सक्ने उनको भनाइ छ ।

सेयर बिक्री गरेको रकम तत् समयमा नै प्रणाली आफैले खरिदका लागि ट्रेडिङ लिमिटको रुपमा उपलब्ध गराउने जनाइएको छ । एउटा नामबाट लगइन गरी आफुसंग सम्बन्धित धेरै जनाको नामबाट कारोबार गर्न मिल्ने जनाएको छ । ब्रोकरसँगको लिनु दिनु पर्ने रकमको जानकारी टीएमएसबाट नै रियल टाइममा प्राप्त हुने जनाइएको छ ।


क्लिकमान्डु