विपदमा राहत दिन वायुसेवाहरुले महँगो टिकट नबेच्ने, ल्यान्डिङ पार्किङमा छुट दिए अझै सस्तो हुने



काठमाडौं । वायुसेवा सञ्चालक संघले आगामी ३ दिनलाई महँगोमा हवाई टिकट नबेच्ने निर्णय गरेसँगै सहुलियतको मागसमेत गरेका छन् । देश बाढी, पहिरोको चपेटामा रहेको बेलामा नागरिकलाई राहत प्रदान गर्न यस्तो निर्णय गरेको संघले जनाएको छ।

वायुसेवा सञ्चालक संघको आइतबारको बैठकले सोमबारदेखि बुधबारसम्म (तीन दिन) सरकारले तोकेको भाडादरमा माथिल्लो सीमाको दरको टिकट नबेच्ने र सस्तो दरका मात्रै दिएर यात्रु सेवा प्रदान गर्ने निर्णय गरेका छन् ।

वायुसेवा सञ्चालक संघले हवाई इन्धन परल मूल्यमै उपलब्ध गराएको अवस्थामा हवाई टिकट अझै सस्तो हुने बताएको छ ।

यसका लागि नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा अधिक नाफा नलिने र परल मूल्यमा नै उपलब्ध गराएको अस्थामा फ्युल चार्ज घट्ने र हवाई यात्रुलाई टिकेटको मूल्य सस्तो पर्ने भन्दै इन्धनको मूल्य घटाइदिन संघले आग्रह गरेको छ ।

साथै वायुसेवा सञ्चालक संघले ल्याण्डिङ, पार्किङ, नेभिगेसन, यात्रुसेवा शुल्कलगातका अन्य शुल्कमा छुट दिएको अवस्थामा हवाई यात्रुलाई थप राहत हुने उल्लेख गरेको छ ।

संघल हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणसमक्ष एरोनटिकल र नन एरोनटिकल चार्ज छुट गरेर बाढी विपद पीडितलाई राहत दिन पनि आग्रह गरेको छ ।

बाढी पहिरोपछि सडक सञ्जाल क्षतविक्षेत भएपछि हवाई मार्गमा यात्रुको अत्यधिक चाप बढेको छ । नजिकिँदो दशैं र स्थलमार्ग अवरुद्ध हुँदा हवाई सेवा सञ्चालकले भाडा बढाएको भन्दै बिरोध भइरहेको थियो ।


क्लिकमान्डु