भारतीय रिजर्भ बैंकका गभर्नर दासले भने: प्रविधिमा आएको परिवर्तनले केन्द्रीय बैंकको भूमिका फेरियो



काठमाडौं । रिजर्भ बैंक अफ इण्डियाका गभर्नर शक्तिकान्त दासले केन्द्रीय बैंकको भूमिका फेरिन थालेको बताएका छन् । पछिल्लो समय घटेका बिभिन्न घटनाक्रमले हाल केन्द्रीय बैंक आर्थिक तथा वित्तीय प्रणाली जोगाउन काम गर्ने अवस्थामा पुगेको दास बताउँछन् ।

२१ औं शताब्दीमा भोगिएका भूराजनीतिक तनाब, विश्वव्यापी वित्तीय संकट, विश्वव्यापी महामारी, विश्वव्यापी मूल्य वृद्धि जस्ता कारणले केन्द्रीय बैंकको भूमिका फेरिएको भारतिय रिजर्भ बैंकका गभर्नर दासको भनाइ छ ।

विगतमा केन्द्रीय बैंकले वित्तीय स्थायीत्व कायम राख्ने तथा मूल्य नियन्त्रण गर्ने काम गर्ने गरेका थिए । हाल केन्द्रीय बैंकलाई समष्टिगत आर्थिक स्थिरता कायम गर्न काम गर्नु पर्ने जिम्मेवारी छ । जसमा मूल्य स्थिरता, दीगो विकास र वित्तीय स्थायीत्व पर्ने दास बताउँछन् ।

‘केही विकशित देशमा कसिलो मौद्रिक नीति ल्याउँदै मूल्य स्थिरता कायम राख्न खोज्दा वित्तीय स्थायीत्वमा समस्यामा परेको पाइएका छन्,’दासले भने, ‘जसले गर्दा केन्द्रीय बैंकले बिभिन्न मौद्रिक उपकरण प्रयोग गर्नु पर्ने अवस्था छ ।’

केन्द्रीय बैंकले सिस्टमिक स्थिरता कायम राख्न सक्रियताका साथ म्याक्रो प्रुडेन्सियल मेजर कार्यान्वयनमा ल्याउनु पर्ने दासले जोड दिए । २१ औं शताब्दीमा केन्द्रीय बैंकले सानाभन्दा साना विषय समेत जानकारी गराउनु पर्नेमा जोड लिएको छ ।

निरन्तर संवाद गर्नु पर्ने मौद्रिक नीतिको टुलकिट भएको दासको कथन छ । समाजिक सञ्जाल र अन्य माध्यमबाट आम मानिससँग संवाद गर्ने वातावरण बनाउनु पर्नेमा दासले जोड दिए ।

प्रभावकारी आर्थिक परिणाम ल्याउन वित्त नीति तथा मौद्रिक नीतिबीच तालमेल मिल्नु पर्ने दासको जोड छ ।
पछिल्लो समय जलवायु परिवर्तन ठूलो जोखिम भएको रिजर्भ बैंकका गभर्नर दास बताउँछन् ।

‘भूराजनीतिक तनाबले केन्द्रीय बैंकको जिम्मेवारी चुनौतिपूर्ण भएको छ । प्रविधिमा आएको परिवर्तनले समग्र वित्तीय प्रणाली फरक अवस्थामा पुगेको छ,’ दासले भने, ‘फिनटेकमा भएको इनोभेसन, कृतिम बौद्धिकता र मेसिन लर्निङ समेत चुनौति हुन सक्छन् । जलवायु परिवर्तन र भूराजनीतिक तनाबले सबैभन्दा ठूलो समस्या पार्न सक्छ ।’


क्लिकमान्डु