पाथीभराको डाँडामा गाडिएको मकुम्लुङ र यग्राइसिं तीन दिनभित्र हटाउन निर्देशन

6k
Shares

काठमाडौं । पाथीभराको डाँडामा चैत ६ गते राती गाडिएको मकुम्लुङ (ढुंगा) र यग्राइसिं ( फलामको नौ तले भर्याङ) तीन दिनभित्र हटाउन पाथिभरा विकास समितिले निर्देशन दिएको छ ।

समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले शुक्रबार एक सूचना जारी गरेर तोकिएको समयसीमा भित्र उक्त संरचना नहटाए विकास समितिको हटाइदिनेसमेत बताएका छन् । उनले भने ‘उक्त संरचना कसले राख्यो भन्ने विषयमा खोजी भइरहेको छ भने तत्काल हटाउनलाई पनि निर्देशन दिइसकिएको छ ।’

पाथिभरा क्षेत्रमा मानव निर्मित संरचना हटाउने निर्णय भइसकेको र उक्त निर्णय कार्यान्वयनको चरणमा रहेको रहेको बेला अन्य संरचना बनाउने काम भएकोल त्यसलाई रोक्न पनि समितिले अनुरोध गरेको हाङबाङले बताए ।

समितिले पाथिभरा क्षेत्रमा बनाइएको पाटी पौवा, टहरा सहित अन्य मानव निर्मित संरचना हटाउन पनि सूचना जारी गरेको छ ।
पाथीभरा क्षेत्रमा हुने कुनै पनि गतिविधि वा कार्य समितिको स्वीकृति बिना अमान्य हुने भएकाले कुनै पनि गतिविधि वा निर्माण कार्य बिना जानकारी नगर्नुहुन समितिले अनुरोध समेत गरेको छ । पाथीभरा क्षेत्र विकास समितिको निर्णय अनुसार पाथीभराको मुख्य प्रवेशद्वारभित्रको क्षेत्रमा मानव निर्मित संरचना निर्माण नगर्ने निर्णय गरेको छ ।

उक्त क्षेत्रमा वृक्षारोपण गरी पाथीभराको प्राकृतिक सुन्दरतालाई कायम राख्ने क्षेत्र विकासको योजना भएको र सोही बमोजिम काम भईरहेकोले उक्त क्षेत्र भित्र व्यक्ति, समूह, संघ, संस्था, सरकारी, गैरसरकारी क्षेत्रबाट निर्माण भएका संरचनाहरू पन्ध्र दिन भित्रमा हटाउन वा अन्यत्र व्यवस्थापनको लागि कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछु ।