एकैपटक ६ हाइड्रो सम्भाव्यता अध्ययन गर्दै विद्युत विकास विभाग,साढे ३ वर्षमा सकिने



काठमाडौं । विद्युत विकास विभागले एकैपटक ६ वटा जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन गर्ने भएको छ ।

विभागले शुक्रबार ६ परियोजनाको सम्भाव्यता र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार पार्ने ठेक्का आह्‍वान गरेको हो । घाटगंगा, सुपर लोती, अप्पर कर्णाली बी,सुर्नयगाड,चेरा-१ र भेरी -२ को अध्ययन गर्न  लागेको  हो ।

घाटगंगा अर्ध-जलाशययुक्त जलविद्युत् आयोजना हो । यो ३४.५ मेगावाटको हुनेछ । आयोजनाको बझाङमा निर्माण हुनेछ । अप्पर लोती कर्णाली जलविद्युत् आयोजना हुम्लामा पहिचान भएको छ । यो ७३.८ मेगावाटको हुनेछ।

अप्पर कर्णाली बी अर्ध जलाशय प्रकृतिको जलविद्युत आयोजना हो । यो अछाम र दैलेखमा निर्माण हुनेछ । जसको ११३ मेगावाट जडित क्षमता छ । सुर्नयगाड जलाशय प्रकृतिको हुनेछ । यो बैतडीमा निर्माण हुने ११४.५ मेगावाट क्षमताको परियोजना हो ।

चेरा-१ जलाशय प्रकृतिको परियोजना हो । जाजरकोटमा पहिचान भएको यो परियोजना १७६ मेगावाट क्षमताको हो ।भेरी-२ अर्ध-जलाशय प्रकृतिको परियोजना हो । यो जाजरकोटमा पहिचान भएको २५६ पहिचान भएको परियोजना हो । यी ६ वटा परियोजनाको कुल क्षमता ७७६.८ मेगावाट हो । इच्छुक नेपाली कम्पनीले अक्टोबर  ७ तारिखसम्म आवेदन दिन सक्नेछन् ।

विद्युत विकास विभागका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) गोपी प्रसाद शाहले ६ महिनामा परामर्शदाता कम्पनी छानेर अध्ययन थाल्ने बताए । ‘छिटो भयो भने ४ महिना होइन् भने ६ महिना परामर्शदाता छनोट हुन्छ,’ उनले भने, ‘साढे ३ वर्ष जतिमा अध्यन सकिन्छ । केहिको ३ वर्षमा नै सकिन्छ ।’

शाहका अनुसार ९ वटा परियोजनाको एकै साथ अध्ययन अघि बढाउने तयारी थियो । पूर्व तयारी नसकिएको भन्दै ४३ वटा परियोजना भने तत्कालका लागि होल्ड गरिएको छ । ६ वटा परियोजनाका भने सुरु तयारीको काम भएको छ । परियोजना पहिचा र सामान्य सर्भे भएको विभागले जनाएको छ ।


क्लिकमान्डु