रास्वपामा रविको पाप, अपराधको भारी कसले बढी बोक्ने भन्ने प्रतिस्पर्धा चलिरहेको छ: गगन



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगीमा कांग्रेसले भनेकै कुरा संसदीय छानबिन समितिले पुष्टि गरेको बताएका छन् ।

बुधबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले आफूहरूले सोचेभन्दा बढी सहकारीबाट रकम अपचलन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सक्रिय रहेको सहकारी छानबिन विशेष समितिको प्रतिवेदन पश्चात् थाहा भएको बताए।

महामन्त्री थापाले सहकारी सदस्य नभए पनि लामिछानेले ठूलो रकम हिनामिना गरेको बताए । ‘समितिले एक रुपैयाँ लाने कुरा पनि कानुनी बाटोबाट होइन गैरकानुनी बाटोबाट लगिएको हो भनेर लेख्यो‚’ महामन्त्री थापाले भने ।

रास्वपाका नेता कार्यकर्ताले संसदीय समितिले दोषी किटान नगरेको प्रचार गरिरहेकोमा उनले आश्चर्य व्यक्त गरे ।

संसदीय समितिमा रहेका रास्वपा सांसदले कारबाही सिफारिस गर्ने निर्णयमा हस्ताक्षर गरेर बाहिर आएर आफ्नो सभापतिलाई दोष लागेन भनेर भ्रम छरेको थापाले बताए ।

अहिले रास्वपामा सभापति लामिछानेको पाप, अपराधको भारी बोक्ने प्रतिस्पर्धा चलिरहेको थापाले टिप्पणी गरे ।

‘त्यहाँ त अध्यक्षको पापको भारी, अपराधको भारी कसले बढी बोक्ने भन्ने प्रतिस्पर्धा छ, यसले पनि ताली बजाएको छ, उसले पनि ताली बजाएको छ, नाम पार्टीको स्वतन्त्र छ, मान्छे कोही पनि स्वतन्त्र छैन’, गगनले भने, ‘कसले ताली बढी बजाउने भन्ने प्रतिस्पर्धा छ ।’

थापाले समितिले प्रतिवेदनमा नाम किटेरै रवि लामिछानेलाई कारबाही गर भनेर निर्देशन दिएको भन्दै प्रतिवेदन पश्चात् रविमाथि तीन कानुन आकर्षित हुने बताए ।

‘पहिलो सहकारी कानुनको दफा १२२ अनुसार सहकारी ठग्नेलाई कारबाही हुने । दोस्रो संगठीत अपराध सम्बन्धी कानुन हो । यसभित्र मुलुकी अपराध संहिताको दफा ३० अनुसार कारबाही हुने रहेछ‚’ उनले भने‚‘ठगी पनि छ‚ किर्ते पनि छ‚ सहकारी पनि छ‚ फौजदारी पनि छ यति धेरै भएकाले प्रचलित कानुन अनुसार कारबाही गर्नु भनेर लेखिएको रहेछ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेमाथि ठगी‚ किर्ते‚ सहकारी‚ फौजदारी सम्बन्धी कानुन आकर्षित हुने बताएका छन् ।

उनले आफूहरूले सोचेभन्दा बढी सहकारीबाट रकम अपचलन गर्न रवि लामिछाने सक्रिय रहेको सहकारी छानबिन विशेष समितिको प्रतिवेदन पश्चात् थाहा भएको बताए ।


क्लिकमान्डु