मदुरोको हत्या प्रयास गरेको भन्दै ३ अमेरिकी नागरिकसहित ६ विदेशी भेनेजुएलामा पक्राउ



एजेन्सी । भेनेजुएलाका अधिकारीहरुले तीन अमेरिकी नागरिक, दुई स्पेनी र एक चेक रिपब्लिकनलाई देशलाई अस्थिर बनाउन षड्यन्त्र गरेको भन्दै पक्राउ गरेका छन् ।

भेनेजुएलाका गृहमन्त्री डिएस्डाडो क्याबेलोले सयौं हातहतियारहरु पनि कब्जामा लिएको बताएका छन् । साथै भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोसहित उच्च अधिकारीहरुको हत्या प्रयास गरेको उनीहरुमाथि आरोप लगाइएको छ ।

अमेरिकाले भेनेजुएलाका १६ जना अधिकारीहरुमाथि प्रतिबन्ध लगाएपछि भेनेजुएलाले यस्तो कदम चालेको हो । ती १६ अधिकारीहरु भने मादुरोको विवादित चुनावमा विजयसँग नजिकबाट जवडिएका अधिकारीहरु रहेको बताइएको छ ।

भेनेजुलामा पक्राउ परेका दुई स्पेनी नागरिकहरु म्याड्रिडको राष्ट्रिय अनुसन्धान केन्द्रका अधिकारीहरु भएको भेनेजुएलाको आरोप छ । जवकि स्पेन सरकारले उनीहरु अनुसन्धान अधिकारीहरु नरहेको जनाएको छ ।

भेनेजुएलाका गृहमन्त्री क्याबेलोले भनेका छन्, ‘यो कारबाहीको नेतृत्व सीआईएले गरिरहेको छ । र त्यो हाम्रा लागि आश्चर्यको कुरा हैन । तर स्पेनको जासुसी केन्द्रले सधैँ यो जान्दा जान्दै पनि लो प्रोफाइल कायम गरेर काम गरिराखेको छ ।’

ती स्पेनी नागरिकहरुले राष्ट्रपति निकोलस मादुरो, उपराष्ट्रपति डेल्सी रोड्रिग्वेज र गृहमन्त्री क्याबेलो साथै सत्तारुढ दलका उच्च नेताहरुलाई मार्ने उद्देश्यका साथ भेनेजुएलामा भाडाका सैनिकहरु ल्याउन खोजिरहेको बारे पनि खुलासा गरेको गृहमन्त्री क्याबेलोले बताएका छन् ।

यद्यपि अमेरिकाले यस्तो आरोप अस्विकार गर्दै खण्डन गरेको छ । यस्ता गतिविधिमा अमेरिकाको संलग्नता रहेको असत्य रहेको भन्दै अमेरिकाले खण्डन गरेको छ । अमेरिकी रक्षा मन्त्रालयले भेनेजुएलामा उत्पन्न राजनीतिक संकटलाई लोकतान्त्रिक प्रयासबाट समाधानका लागि अमेरिकाले सहयोग गरिरहेको उल्लेख गरेको छ ।

पछिल्लो समय अमेरिका र स्पेनसँग मदुरोको दुश्मनी बढिरहँदा भेनेजुएलाले ती देशका नागरिकहरुलाई पक्राउ गरेको हो । यसैबीच स्पेनले भने पक्राउ परेका आफ्ना नागरिकहरुको विषयमा थप सूचना पाउनका लागि उनीहरुसँग सम्पर्क गराउन भेनेजुएलालाई आग्रह गरेको छ ।

गत साता मात्रै निकोलस मदुरोको विमान अमेरिकाले कब्जा गरेको थियो । उक्त जहाज गैरकानुनी रुपमा किनिएको र तस्करी गरेको आरोपमा मदुरोको जहाज अमेरिकाले नियन्त्रणमा लिएको थियो ।

तर भेनेजुएलाका गृहमन्त्री क्याबोलेले जवाफ दिएका छन्, ‘उनीहरुले फ्रान्सेली भाडाका सैनिकहरुलाई सम्पर्क गरेका छन् । उनीहरुले पूर्वी युरोपबाट ल्याउने भाडाका सैनिकहरुसँग सम्पर्क गर्दै हाम्रो देशमा आक्रमण गर्ने प्रयास गरेका थिए ।’ यस क्रममा आफूहरुले ४ सय हातहतियार बरामद गरेको पनि बताएका छन् ।

गत जुलाइमा भेजेनुएलामा सम्पन्न राष्ट्रपति निर्वाचनबाट मादुरो निर्वाचित भएका थिए । तर उक्त निर्वाचन धाँधलीपूर्ण र अलोकतान्त्रिक भएको भन्दै विभिन्न पक्षबाट अस्विकृत हुँदै आएको थियो ।

यससँगै अमेरिका लगायत देशहरुबाट मादुरोको भूमिकामाथि प्रश्न उठिरहेको छ । प्रतिपक्षी दलका नेता एडमन्डो गोन्जालेजले मदुरोले धाँधली गरेको भन्दै विरोध जनाएपछि उनलाई पक्राउ गर्न अदालतले आदेश दिएको थियो । तर उनी देशबाट भागेर स्पेनको शरणमा पुगेका छन् ।


क्लिकमान्डु