भेनेजुएलाका राष्ट्रपति मदुरोको विमान अमेरिकी कब्जामा



एजेन्सी । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको विमान अमेरिकाले कब्जा गरेको जनाएको छ । उक्त जहाज गैरकानुनी रुपमा किनिएको र तस्करी गरेको आरोपमा मदुरोको जहाज नियन्त्रणमा लिएको अमेरिकाले जनाएको छ ।

अमेरिकी न्याय विभागले फालकोन ९०० ईएक्स जहाज डोमिनिकन रिपब्लिकमा नियन्त्रणमा लिइएको र अमेरिकी राज्य फ्लोरिडा अन्तर्गत रुपान्तरण गरिएको जनाएको छ ।

तर उक्त जहाज कहिले र कसरी नियन्त्रणमा लिइएको भन्ने विषयमा स्पष्ट जानकारी दिइएको छैन । यद्यपि उक्त जहाज राजधानी सान्टो डोमिंगो नजिकै ला इसाबेल विमानस्थलबाट सोमबार फ्लोरिडाको फोर्ट लाउडरडेल विमानस्थलमा पुगेको प्रमाण भेटिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

भेनेजुएलाले भने अमेरिकाले कब्जा गरेको विषयलाई निन्दा गर्दै यसलाई डकैती भन्दै आपत्ति जनाएको छ । भेनेजुएलाको विदेश मन्त्रालयले अमेरिका आफैंले आफ्नो एकतर्फी र गैरकानूनी रुपमा जबर्जस्त कदमहरुको पुष्टि गरेको जनाएको छ । संसारभर अमेरिकाले जबर्जस्ती गतिविधि लादेको भेनेजुएलाले जनाएको छ ।

यसका लागि भेनेजुएलाले कानुनी उपायको खोजी गर्ने पनि विज्ञप्ति मार्फत् जनाएको छ । अमेरिकी अधिकारीहरुले भने उक्त विमानले अमेरिकी निर्यात नियन्त्रण र प्रतिबन्ध सम्बन्धी कानुन उल्लंघन गरेको आरोपमा नियन्त्रणमा लिइएको बताउँदै आएका छन् ।

मादुरोसँग सम्बद्ध व्यक्तिहरु २०२२ को अन्त्यदेखि २०२३ को सुरुसम्मको अवधिमा फ्लोरिडाको एक कम्पनीबाट विमानको अवैध खरिदमा संलग्न रहेको पनि अमेरिकी आरोप छ ।

साथै उक्त गतिविधि लुकाउन उनीहरुले सेल कम्पनीको प्रयोग गरेको पनि अमेरिकाले आरोप लगाएका छन् । उक्त विमान २०२३ मा अमेरिकाबाट अवैध रुपमा क्यारेबियन देश हुँदै भेनेजुएला निर्यात गरिएको अमेरिकाको दाबी छ । ल्याटिन अमेरिकी राष्ट्र भेनेजुएला र अमेरिकाबीच वर्षौंदेखि तिक्ततापूर्ण सम्बन्ध रहँदै आएको छ । मदुरो भने अमेरिकाको कट्टर विरोधी नेताको रुपमा चिनिन्छन् ।


क्लिकमान्डु