भेनेजुएलाका विपक्षी नेता गोन्जालेले देश छाडे, स्पेनमा राजनीतिक शरण



एजेन्सी । भेनेजुएलाका विपक्षी नेता एडमन्डो गोन्जालेजले देश छोडेका छन् । गोन्जालेजले आइतबार भेनेजुएला छाडेर स्पेनमा राजनीतिक शरण लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भेनेजुएला छोड्नुअघि गोन्जालेज धेरै हप्तासम्म कराकसको स्पेनी दूतावासमा लुकेका थिए । जुलाई २८ मा भएको राष्ट्रपति चुनावको नतिजा आएपछि भेनेजुएलामा राजनीतिक उथलपुथल भएको छ । यस चुनावी नतिजामा निकोलस मदुरो विजयी भएका थिए ।

चुनावमा धाँधली भएको भन्दै नतिजा अस्वीकार गरेका गोन्जालेजलाई पक्राउ गर्न समेत अदालतले आदेश दिएको थियो । स्पेन पुगेपछि गोन्जालेजले अडियो सन्देश जारी गर्दै लोकतन्त्र र जनताको स्वतन्त्रताको लागि लडाइँ जारी राख्ने बताएका छन् ।

गोन्जालेज स्पेन जानुअघि उनको गिरफ्तारीको वारेन्ट पनि जारी गरिएको थियो । उनीमाथि सरकारविरुद्ध षड्यन्त्र र अन्य गम्भीर आरोप लगाइएको थियो।

भेनेजुएलाका विपक्षी नेता मारिया कोरिनाले सामाजिक सञ्जालमा आफ्नो ज्यान खतरामा परेकाले गोन्जालेजले देश छाड्नुपरेको लेखेकी छन् ।


क्लिकमान्डु