अडानी ग्रूपमाथि हिन्डनबर्गको आरोप: ४१ अर्ब ३९ करोड स्विस बैंकमा फ्रिज



एजेन्सी । भारतीय उद्यमी गौतम अडानीको अडानी ग्रुपमाथि अमेरिकी सर्ट सेलर हिन्डनबर्ग रिसर्चले फेरि अर्को गम्भीर आरोप लगाएको छ ।

हिन्डनबर्गले सोसल मिडिया प्लेटफर्म एक्समा पोस्ट गर्दै मनी लन्ड्रिङको आरोपमा स्विस बैंकले अडानी समूहको जम्मा भएको २१ करोड डलर फ्रिज गरिदिएको आरोप लगाएको छ ।

हिन्डनबर्गले उल्लेख गरेको छ, ‘मनी लन्ड्रिङको आरोपमा स्विस बैंकले अडानी समूहको जम्मा भएको ३१ करोड डलर (४१ अर्ब ३९ करोड ७० लाख ९० हजार रुपैयाँ) फ्रिज गरिदिएको छ ।’ हिन्डनबर्गले मिडिया कर्पोरेटको रिपोर्टलाई स्रोत उल्लेख गर्दै यस्तो दाबी गरेको हो । तर अडानी समूहले यस्तो आरोप खण्डन गर्दै यो गलत भएको बताएको छ ।

हिन्डनबर्ग रिसर्चले स्विजरल्यान्डको मिडियामा हालै जारी भएको स्विस क्रिमिनल रेकर्डको हवाला दिँदै भनेको छ, ‘२०२१ को सुरुवातमा अडानी समूहमाथि मनी लन्ड्रिङ र सेक्युरिटी फर्जीको जाँच भएको थियो । यस विषयमा केही स्विस बैंक बैंकका खातामा जम्मा ३१ करोड डलरभन्दा धेरै रकम फ्रिज गरिएको छ।’

अडानी समूहले भने एक विज्ञप्ति जारी गर्दै यस्तो आरोपको खण्डन गरेको छ । यसलाई आधारहिन आरोपको संज्ञा दिँदै आफू स्विस अदालतको कारबाहीमा सामेल नभएको अडानी समूहको जिकिर छ ।

‘हामीलाई लगाइएको आरोप प्रष्ट रुपमा अस्विकार र खण्डन गर्छौं । कुनै पनि स्विस अदालती कारबाहीमा अडानी समूह सामेल भएको छैन । न त हाम्रो कम्पनीको कुनै पनि खातालाई कुनै पनि प्रशासनले रोकेको नै छ ,’ अडानी समूहले विज्ञप्तिमा उल्लेख गरेको छ ।

अडानी समूहले आफ्नो विदेशी लगानीको ढाँचा पारदर्शी भएको र पूर्ण रुपमा स्पष्ट भएको पनि दाबी गरेको छ । साथै सबै विदेशी लगानी कानुन सम्मत नै रहेको उसको जिकिर छ । बरु हिन्डनबर्गको आरोपलाई समूहले तर्कहीन आरोप भन्दै आरोप अस्विकार गरेको छ । साथै यसलाई अडानी समूहले आफूमाथि नोक्सान पुर्‍याउने र प्रतिष्ठा धमिलो बनाउने सुनियोजित प्रयास भन्दै खण्डन गरेको छ ।

हिन्डनबर्ग रिसर्चले यसअघि पनि अडानी समूहमाथि गम्भीर आरोप लगाएको थियो । जस अनुसार अडानी समूहले विदेशमा अवैध लगानी गरेको र शक्तिको दुरुपयोग गर्दै आर्थिक अनियमितता गरेको हिन्डनबर्गले खुलासा गरेको थियो । अडानी समूहमाथि हिन्डनबर्गले उजुरीसमेत दिएको थियो ।

हिन्डनबर्गको उजुरीपछि नै अडानी समूहका मालिक गौतम अडानी केही घन्टाको अवधिमै विश्वका सर्वाधिक २० जना धनी व्यक्तिको सूचीबाट बाहिरिन पुगेका थिए । अर्थात् अडानी समूहलाई ठूलो नोक्सान पुगेको थियो ।

त्यससँगै हिन्डनबर्गले भारतीय धितोपत्र तथा विनिमय बोर्ड (सेबी)का अध्यक्ष माधवी पुरी बुचमाथि पनि अवैध लगानको गम्भीर आरोप लगाएको छ थियो । हिन्डनबर्गले रिपोर्ट सार्वजनिक गर्दै सेबीकी अध्यक्ष माधवी पुरी र उनका पति धवल बुचको अफसोरहरुमा सेयर लगानी रहेको खुलासा गरेको थियो ।


क्लिकमान्डु