अर्बपति गौतम अडानीको व्यापारिक साम्राज्य हल्लाउने हिन्डनबर्गको कथा



एजेन्सी । २४ जनवरी २०२३ । यो त्यो दिन थियो, जब भारतीय अर्बपति गौतम अडानीको लागि कैयौं कुराहरु परिवर्तन भए ।

यहि दिन अमेरिकी फोरेन्सिक फाइनेन्सियल कम्पनी हिन्डनबर्गले अडानीमाथि गरेको अनुसन्धानात्मक रिपोर्ट सार्वजनिक भएको थियो ।

यो रिपोर्टमा अडानी समूहमाथि भ्रष्टाचारको गम्भीर आरोपहरु लगाइएको थियो । सँगै रिपोर्टमा अडानी समूहको सामुन्ने ८८ वटा प्रश्न राखिएको थियो ।

अडानी समूहले भने रिपोर्टमा आफूमाथि लगाइएको अरोप र यो रिपोर्टलाई नै खण्डन गरेको थियो ।

तर, रिपोर्ट सार्वजनिक भएपछि गौतम अडानीको बजार पुँजीमा ह्रास आयो । शेयर बजारमा अडानी समूहका कम्पनीहरुको मूल्यमा गिरावट भएको थियो । यी तीनै गौतम अडानी थिए, जो केही दिनअघि मात्रै संसारकै तेस्रो धनि व्यक्ति थिए ।

तर, हिन्डनबर्ग रिपोर्ट सार्वजनिक भएपछि अडानी शिर्ष २० को सूचिबाट समेत बाहिरिन पुगे । यो बाहेक गौतम अडानीले आफ्नो कम्पनीको २० हजार करोड भारतीय रुपैयाँको एफपीओलाई पनि रद्द गरेका थिए भने उनका कम्पनीहरुले ठूलो नोक्सान भोग्नु परेको थियो ।

यस्तोमा प्रश्न आउँछ, यो रिपोर्ट छाप्ने हिडनबर्ग रिसर्च कम्पनीको कथा के हो? हिडनबर्ग रिसर्चको पछाडिको व्यक्ति को हुन्?

एयरशीपको नाम लिएर खुलेको ‘हिन्डनबर्ग’

वर्ष थियो १९३७ । जर्मनीमा हिटलरको राज थियो । यस्तोमा एउटा एयरशिपमाथि संसारकै ध्यान थियो, जसको नाम थियो हिडनबर्ग एयरशिप ।

यो एयरशिपको पछिल्लो भागमा नाजी समयको संकेत गर्ने स्वस्तिक बनेको थियो । अमेरिकाको न्यूजर्सीमा यो एयरशिपलाई मानिसहरुले नियालिरहेका थिए । तर, एयरशिपमा केही असामान्य थियो ।

अचानक एउटा ठूलो विस्फोटको आवाज आयो । आकाशमा हेर्दा हिडनबर्ग एयरशिपमा आगो लागेको देखियो । मानिसहरु चिच्याएको आवाज सुनियो । एयरशिप अचानक जमिनमा झर्‍यो ।

३० सेकेन्डभन्दा पनि कम समयमा एयरशिप पूर्ण रुपमा जल्न थालेको थियो ।

त्यहाँ उपस्थित मानिसहरुले एयरशिपभित्र रहेका यात्रुहरुलाई बचाउनका लागि अघि बढे । केही मानिसलाई बचाउन सफल पनि भए । तर, केहीलाई बचाउनका लागि भने धेरै ढिलो भएको थियो ।

जलिरहेको एयरशिपको धुँवाका कारण आकाश कालो भएको थियो । अब जमिनमा एयरशिपका अवशेषहरु मात्रै थिए ।
यो एयरशिपमा १६ वटा हाइड्रोजन ग्यासका सिलिण्डरहरु थिए । एयरशिपमा करिब १ सय मानिसहरु थिए । र यो दुर्घटनामा ३५ जनाले ज्यान गुमाए ।

भनिन्छ, हाइड्रोजनको प्रयोग हुने ठाउँमा यस्तो घटना विगतमा पनि भएका थिए । यस्तोमा ती घटनाहरुबाट पाठ सिक्दै हिडनबर्गको दुर्घटनालाई बचाउन सकिन्थ्यो । तर, त्यस्तो भएन ।

यो दुर्घटनामा धेरैको ज्यान गयो । अन्ततः हिडनबर्ग एयरशिपको सञ्चालन नै बन्द भयो ।

गौतम अडानीमाथि रिपोर्ट प्रकाशित गर्ने रिसर्च कम्पनीको नाम पनि यहि घटनासँग जोडेर राखिएको हो । कम्पनीले भनेको छ, ‘हिडनबर्ग घटनाको जस्तै हामी सेयर बजारमा कुनै दुर्घटना नहोस् भनेर यसभित्रका गडबडिहरुलाई निगरानीमा राख्छौं । कम्पनीहरुको पोल खोल्नु र सत्य सामुन्ने ल्याउनु हाम्रो उद्देश्य हो ।’

जसरी हिडनबर्ग एयरशिपको दुर्घटनाका कारण मानिसहरुको ज्यान गएको थियो, त्यसरी नै यो रिसर्च कम्पनी मानिसहरुलाई सेयर बजारमा हुन सक्ने वित्तीय जोखिमबाट बचाउनका लागि काम गरिरहेको दाबी गर्छ ।

त्यसो भए हिडनबर्ग रिचर्स कम्पनीले कसरी कुनै पनि वित्तीय संस्थाको अनुसन्धान गर्छ त ? कसरी यसले अडानी समूहमाथि रिपोर्ट तयार पारेको थियो ।

यसको जानकारी कम्पनीको वेबसाइटमा राखिएको छ । हिडनबर्ग रिचर्सले जुन आधारहरुलाई लिएर रिर्पोट तयार गर्छ, त्यसो गर्न निकै मिहेनत आवश्यक पर्छ ।

यो प्रक्रियाबारे कम्पनीले भनेको छ, लगानीबारे जानकारी लिन विश्लेषणात्मक आधार बनाउने, खोजमुलक अनुसन्धान गर्ने र स्रोतहरुबाट प्राप्त जानकारीहरुमाथि अनुसन्धान गर्ने । यी आधारहरुलाई मूख्य मानेर नै कम्पनीले वित्तिय संस्थामाथि रिपोर्ट तयार गर्ने गरेको त्यसको वेबसाइटमा उल्लेख गरिएको छ ।

कम्पनीले के भन्छ आफ्नो बारेमा ?

हिडनबर्गले बताएअनुसार लगानीको विषयमा कम्पनीसँग दशकौं पुरानो अनुभव छ । कम्पनीले आफ्नो वेबसाइटमा दाबीका साथ हिडनबर्ग रिचर्स कम्पनीले आफ्नो रिपोर्ट र अनुसन्धानको आधारमा पहिले नै विभिन्न कम्पनीको सेयरमा गिरावट ल्याइसकेको बताएको छ ।

अडानी समूहसँग नाम जोडिनुअघि हिडनबर्गको नाम जोडिएको अर्को ठूलो कम्पनी निकोला थियो । ट्रक बनाउने यो कम्पनीबारे हिडनबर्गले रिपोर्ट निकालेपछि थुप्रै उतारचढाव भए । यो विषय अदालतसम्म पुगेको थियो, जहाँ कम्पनीका संस्थापक नै दोषी साबित भएका थिए ।

ब्लूमबर्गको एक रिपोर्टकाअनुसार हिडनबर्गले २०२० पछि ३० कम्पनीहरुमाथि अनुसन्धान गरेर रिपोर्ट सार्वजनिक गरेको छ । र, यसरी रिपोर्ट सार्वजनिक भएसँगै भोली पल्ट नै यी कम्पनीको सेयरमा औसतमा १५ प्रतिशतसम्म गिरावट देखिएको छ । ६ महिनाको अन्तरालमा यी कम्पनीको सेयरमा औसतमा २६ प्रतिशतभन्दा धेरैको गिरावट देखिएको छ ।

हिडेनबर्गले यी रिपोर्टहरु कम्पनीको लेखापरिक्षणमा भएका अनियमितता, महत्वपूर्ण पदमा अयोग्य व्यक्ति हुने, अघोषित लेनदेन र कुनै पनि किसिमको गैर कानुनी वा अनैतिक व्यापार वा वित्तीय रिपोर्टिङको अभ्यासजस्ता विषयलाई आधार मानेर तयार गर्ने गर्छ ।

हिडेनबर्ग कम्पनीको प्रमुख को हो ?

यो कम्पनीका प्रमुख नेथन अर्थात नेट एण्डरसन हुन् ।

एण्डरसनले २०१७ मा यो कम्पनीको स्थापना गरेका थिए । उनले अमेरिकाको कनेक्टिकट विश्वविद्यालयबाट पढाई गरेका थिए । अन्तराष्ट्रिय व्यापारबारे अध्ययन गरेका उनले करिअरको सुरुवातमा सत्यतथ्यबारे अनुसन्धान गर्ने फ्याक्ट सेट रिचर्स सिस्टम नामक एक डाटा कम्पनीबाट सुरु गरेका थिए । यहि कम्पनीमा एण्डरसनले लगानी व्यवस्थापन गर्ने कम्पनीहरुसँग काम गरेका थिए ।

सन् २०२० मा वाल स्ट्रिट जर्नललाई दिएको अन्तर्वार्तामा उनले भनेका छन्, ‘मैले मानिसले साधारण विश्लेषण गरेको महसुस गरे।’ त्यसपछि नै आफूले हिडनबर्गको सुरुवात गरेको उनले बताएका छन् ।


क्लिकमान्डु