मितेरी सहकारी ठगीमा मुछिए कांग्रेस उपसभापति धनराज, करिब १५ करोड ठगेर श्रीमती ‘फरार’

श्रीमतीसँग सम्बन्ध बिच्छेद गरिसकेको धनराजको तर्क



काठमाडौं । सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसका उपसभापति तथा पूर्वकानूनमन्त्री धनराज गुरुङ मुछिएका छन् । धनराज र उनकी श्रीमती ज्योति गुरुङविरुद्ध सहकारी ठगीको आरोमा विभिन्न निकायमा उजुरी परेको छ ।

ललितपुरको महालक्ष्मीस्थानमा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाका तत्कालीन महाप्रबन्धक ज्योती गुरुङले सहकारीको करिब १५ करोड रुपैयाँ ठगी गरेको आरोप लागेको छ । संस्थाको महाप्रबन्धक रहेको समयमा १४ करोड ८१ लाख रुपैयाँ अपचलन गरेर ज्योती गुरुङ विगत चार वर्षदेखि सम्पर्कविहीन भएको संस्थाका अध्यक्ष कुम्भराज गुरुङले क्लिकमाण्डुसँग बताए ।

‘महाप्रबन्धक रहेको समयमा १४ करोड ८१ लाख रुपैयाँ अपचलन गरेर ज्योति गुरुङ सम्पर्कविहीन हुनुभयो,’ कुम्भराज गुरुङले भने, ‘उहाँको रकम अर्का एकजना ज्योति भण्डारी भन्ने हङकङमा व्यापार व्यवसाय गर्नेले दिन्छु भनेको थियो । उनी नेपालमा भएको जानकारी आएको छ । सम्पर्क भएको छैन।’

ज्योति गुरुङ उक्त रकम ठगेर फरार भएपछि संस्थाले अनुसन्धानका लागि भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा उजुरी दिन दौडधुप गरिरहेको छ ।

यता सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले संस्थाका अध्यक्ष कुम्भराज गुरुङसँग भदौ ६ गते छलफल गरेको थियो । अहिले सहकारी भने राम्रोसँग चलिरहेको उनको भनाइ छ ।

संस्थाको बचत अपचलन गरेर चार वर्षदेखि फरार रहेकी ज्योती गुरुङसँग कांग्रेसका उपसभापति तथा पूर्वकानूनमन्त्री धनराज गुरुङले सम्बन्धबिच्छेद गरेको दाबी गर्दै आएका छन् । गुरुङले श्रीमतीसँग सम्बन्ध बिच्छेद गरेको भने पनि अपचलन भएको समयमा दुबै सँगै रहेको र डिभोर्स भएको भनिएपछि पनि धनराजले केही पटक पैसा तिरेको सहकारी स्रोतको भनाइ छ ।

सहकारीको बचत अपचलन गरेको पाइएपछि ज्योति फरार हुनुपूर्व संस्थाले धनराज र ज्योतिलाई सँगै राखेर छलफल समेत गरेको थियो । छलफलका क्रममा उनीहरुले संस्थाको पैसा फिर्ता गर्ने मौखिक प्रतिवद्धता व्यक्त गरेका थिए । तर अहिले भने धनराजले सम्बन्ध बिच्छेद भइसकेको भन्दै अन्यको दायित्व आफूलाई नपर्ने भन्दै बाहना बनाइरहेका छन् । गुरुङ सुशासन र आदर्शका कुरा गर्ने नेता हुन् ।

ज्योति ११ वर्षअघि संस्थामा कोषाध्यक्ष तथा वरिष्ठ लेखा अधिकृत थिइन् । उनी पछि महाप्रबन्धक बनेकी हुन् । ज्योतीले केही रकम भने कर्जाको रुपमा लिएको सहकारी निकट स्रोतको भनाइ छ ।

स्रोतका अनुसार उनले सहकारीबाट लिएको कर्जा र अपचलन गरेको पैसा बैंककमा व्यापार व्यवसाय गर्ने ज्योति भण्डारी भन्ने व्यक्तिलाई पठाएको र पछि त्यो रकम भण्डारीले नै तिर्ने प्रतिबद्धता संस्थालाई दिलाएका थिए ।

त्यो पैसा अझै नउठेको अध्यक्ष कुम्भराज गुरुङको भनाइ छ ।

‘त्यो पैसा उठाउन लागिरहेका छौं, त्यसका लागि हामी न्यायपालिकामा पनि जाने छौं । हामीले संस्थालाई इमान्दारपूर्वक चलाइराखेका छौं । संस्थामा कुनै समस्या छैन र आगामी दिनमा पनि समस्या हुन दिने छैनौं,’ उनले क्लिकमान्डुसँग भने, ‘संस्थाका पूर्वमहाप्रबन्धककले पैसा अपचलन भएपछि ८२ वर्षको उमेरमा तनाब भएको छ ।’

बेलायती र भारतीय सेनामा सेवा गरेका नेपालीहरु मिलेर संस्था खोलिएको कुम्भराजले जानकारी दिए । ‘हामी कसैलाई पनि कुनै लोभ लालसा छैन । संस्था र सदस्यको हितलाई सर्वोपरी ठानेका छौं । तर कोही एक जनाले गर्दा सबैको बदनाम हुने कुरा हुँदैन ।’

धनराज र कुम्भराज एउटै जिल्ला(स्याङ्जा)का मात्रै होइन एउटै पार्टीमा पनि छन् । धनराज कांग्रेस उपसभापति हुन् भने कुम्भराज स्याङ्जाबाट महासमिति सदस्य हुन् ।

कुम्भराज अहिले आफ्नै पार्टीका उपसभापति र उनको परिवारबाट पीडामा छन् । आफूले नगरेको गल्तीमा बदनाम बनाउन खोजेको भन्दै उनले चिन्ता व्यक्त गरे ।

सहकारीमार्फत समाजमा सकारात्मक परिवर्तनका लागि भन्दै ६ वर्षसम्म संस्थाबाट एक पैसा पनि नलिइ काम गरिरहेको बताउने कुम्भराज केही समययता आफूले पार्टीमा पनि साथ दिएका व्यक्तिबाटै पीडित हुनु परेकोमा तनावमा छन् ।

समयमा नै प्रहरीमा उजुरी दर्ता गर्न पाएको खण्डमा पैसा उठाउन सहयोग हुने उनको बुझाइ छ ।

कुभ्मराजले सहकारीका बचतकर्तालाई आफ्नो बचतको कुनै पनि चिन्ता नलिन आग्रह गरेका छन् । जीवनभर कमाएको इज्जत, मान, सम्मानलाई डग्न नदिने, संस्थालाई जीवन्त राख्ने, बचतकर्ताको बचत पूर्ण रुपमा सुरक्षित राख्ने उनी बताउँछन् ।

‘संस्थाका पूर्वमहाप्रबन्धकले अपचलन गरेको पैसा उठाउने तयारीमा छौं’ उनले भने, ‘हामी संस्थालाई इमान्दारपूर्वक चलाइराखेका छौं, यसलाई निरन्तरता दिन्छौ । कोही पनि चिन्ता नलिनु ।’


क्लिकमान्डु