धनराज गुरुङमाथि सहकारी ठगीमा तत्काल छानबिन गर्न संसदमा माग



काठमाडौं । नेपाली कांग्रेसका उपसभापति तथा पूर्वकानुन मन्त्री धनराज गुरुङमाथि सहकारी ठगीमा संलग्न भएको भन्दै तत्काल छानबिन गर्न संसदमा माग भएको छ ।

गुरुङ ललितपुरमा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाबाट करिब १५ करोड रुपैयाँ ठगीमा मुछिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले कांग्रेस उपसभापति गुरुङउपर सहकारी ठगी गरेको भन्दै उजुरी परेकाले छानबिन गर्ने कि नगर्ने ? भनेर प्रश्न गरे ।

सोमबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद पराजुलीले मितेरी बचत तथा ऋण सहकारी संस्थाको करिब १५ करोड रुपैयाँ हिनामिनामा धनराज र उनको श्रीमतीको नाम जोडिएकोले छानबिन गर्नु पर्ने बताए ।

सहकारीका अध्यक्ष कुम्भराज गुरुङले ठगी गरेको दाबिसहित उजुरी समेत दिएको भन्दै छानबिन गर्ने कि नगर्ने भनि कांग्रेस सांसदहरुमाथि प्रश्न गरे ।

‘मितेरी वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुम्भराज गुरुङले आफ्नो संस्थाको करिब १५ करोड रकम हिनामिना गरेकोमा माननीय धनराज गुरुङ र ज्योति गुरुङको विरुद्ध ठगी गरेको दाबीसहित उजुरी दर्ता गराउनुभएको रहेछ । अब म माननीय गुरुङको बारेमा छानविन हुन्छ कि हुँदैन ? भनेर यस सम्मानित सदनमार्फत नेपाली काँग्रेसका माननीयज्यु हरुलाई सोध्न चाहन्छु,’ उनले भने ।

गुरुङमाथि छानबिनको माग गर्दै संसदको वेल घेराउ गर्ने कि नगर्ने भनेर पनि उनले प्रश्न गरे । यसअघि रास्वपा सभापति रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लाग्दा कांग्रेस सांसदहरुले बेल घेराउ गरेकोतर्फ उनले लक्षित गर्दै गुरुङकोमा बेल घेराउ गर्ने कि नगर्ने भन्दै प्रश्न गरे ।

‘सहकारीको बचत अपचलन छानविनका लागि संसदीय समिति बनाउनुपर्छ भनेर यहीँ संसदमा चर्को नारावाजी गर्ने मध्येमा एक माननीयज्युविरुद्ध सहकारीमा ठगी अनुसन्धान गर्नका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोमा उजुरी परेको आज मिडियाहरुमा छ्यापछ्याप्ती देख्न पाइएको छ,’ उनले भने, ‘उजुरी नै अन्तिम सत्य त होइन । तर उजुरी नपर्दा, प्रमाण नहुँदापनि रास्वपाका सभापति रवि लामिछानेज्यूलाई सदनमा के–के सम्म गरियो ? संसारले प्रष्टसँग देखेको छ ।’

गुरुङले सहकारी ठगी लुकाउन श्रीमतीसँगको सम्बन्ध बिच्छेद गरेको कुरा बाहिर आएको उनले बताए ।

‘सहकारीको ठगि लुकाउन उहाँले सम्बन्ध विच्छेदसम्म गरेको कुरा पनि बाहिर आएको छ,’ संसदमा उनले भने, ‘सहकारी ठगीको छानविनका लागि माग गर्दै कांग्रेसका माननीयज्युहरुले यो संसदको वेल घेराउ गर्नुहुन्छ कि गर्नुहुन्न ? कि दोहोरो मापदण्ड अपनाउने हो ? म सदनमार्फत जवाफको माग गर्दछु ।’


क्लिकमान्डु