अर्थमन्त्री पौडेलले आचार्यलाई बनाए आन्तरिक राजस्व विभागको महानिर्देशक, पुडासैनी बने भन्सारको हाकिम



काठमाडौं । आन्तरिक राजस्व विभागको महानिर्देशकमा रामप्रसाद आचार्य नियुक्त भएका छन् । अर्थमन्त्री विष्णु पौडेलले सहसचिवहरुको जिम्मेवारी हेरफेर गर्दै आचार्यलाई राजस्वको महानिर्देक बनाएका हुन् ।

यसैगरी हरिशरण पुडासैनी भन्सार विभागको महानिर्देशक बनेका छन् । मन्त्रिपरिषद्को निर्णय अनुसार सरुवा भइ अर्थ मन्त्रालय आएका सहसचिवहरुको जिम्मेवरी मन्त्री पौडेलले तोकेका हुन् भने केही सहसचिवको जिम्मेवारी हेरफेर गरेका हुन् ।

यमुना प्रधान र जनकराज शर्मालाई भन्सार विभागको उपमहानिर्देशक बनाउँदा डिल्लीराम पन्थीलाई महालेखा नियन्त्रक कार्यालयको सहमहालेखा नियन्त्रकको जिम्मेवारी तोकिएको हो ।

यसैगरी कविता रेग्मी र गोपीकृष्ण कोइरालालाई आन्तरिक राजस्व विभाग उपमहानिर्देशक बनाइएको छ । मन्त्री पौडेलले रमेश अर्याललाई ठूला करदाता कार्यालयको प्रमुख कर प्रशासक तथा पार्वती शर्मालाई मध्यमस्तरीय करदाता कार्यालयको प्रमुख कर प्रशासकको जिम्मेवारी तोकेका छन् ।

पौडेलले मन्त्रालयका महत्त्वपूर्ण महाशामा आफूनिकट कर्मचारीहरुलाई खटाएका छन् । उत्तरकुमार खत्रीलाई अर्थ मन्त्रालय राजस्व व्यवस्थापन महाशाखाको जिम्मेवारी सुम्पँदा मदन दाहाललाई अर्थमन्त्रालय प्रशासन महाशाखा, थानप्रसाद पंगेनीलाई वित्तीय संघीयता समन्वय महाशाखा, महेश भट्टराईलाई योजना अनुगमन तथा मूल्यांकन महाशाखा र अमृत लम्साललाई अर्थ मन्त्रालय अन्तर्गतको जिम्मेवारी तोकिएको छ । दीपक लामिछानेलाई विरगञ्ज भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासक बनाइएको छ ।

यसअघि अन्तर्राष्ट्रिय सहायता समन्वय महाशाखा प्रमुखको जिम्मेवारी धनीराम शर्मा र बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको जिम्मेवारी श्रीकृष्ण नेपाललाई तोकिएको थियो ।


क्लिकमान्डु