प्रिमियम मूल्यमा सेयर निष्कासन गरेका कम्पनीको वित्तीय अवस्था कमजोर, सेयर मूल्य भने उच्च



काठमाडौं । धितोपत्र बोर्डले प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ) निष्कासन गर्दा ४ वटा सिमेन्ट कम्पनीको चर्चा निकै रहेका थिए । नेपाली सेयर बजारमा उत्पादनमूलक कम्पनीलाई प्रवेश गराउन भन्दै सरकारले नै बजेटमार्फत करिब आधा दशकदेखि गरेको प्रयास स्वरुप ४ उत्पादनमुलक कम्पनी पब्लिक कम्पनी बने । ती कम्पनीको उत्पादन, कम्पनीका तीन आर्थिक वर्षपछि सम्मको प्रक्षेपण हेरेर धितोपत्र बोर्डले प्रिमियम मूल्यमा सेयर निष्कासन गर्न अनुमति दियो ।

प्रिमियम मूल्यमा धेरैले सेयर पनि किने । चार वटै कम्पनीले धेरै नाफा कमाउँछन्, राम्रो लाभांश दिन्छन् भनेर पनि धेरै लगानीकर्ता लोभिएका थिए । तर गत आर्थिक वर्षको वित्तीय विवरणका अनुसार कम्पनीको वित्तीय अवस्था त्यस्तो देखिएको छैन । यी कम्पनीहरुले प्रकाशन गरेको गत आर्थिक वर्षको असार मसान्तसम्मको वित्तीय अवस्था निकै निराशाजनक छ ।

दोस्रो बजारमा सूचीकृत घोराही सिमेन्ट इन्डष्ट्रिज, शिवम सिमेन्ट, सर्वोत्तम सिमेन्ट र सोनापुर मिनरल्स आयल कम्पनीमध्ये २ वटा नोक्सानमा छन् भने २ वटाको नाफा घटेको छ । कम्पनीको वित्तीय विवरणअनुसार घोराही सिमेन्ट इन्डष्ट्रिज र सोनापुर मिनरल्स आयल नोक्सानमा छन् भने सर्वोत्तम र शिवमले नाफा कमाएको भएपनि अघिल्लो आवको सोही अवधिको तुलनामा घटेको छ ।

यी कम्पनीहरुको वित्तीय अवस्था कमजोर देखिएको भए पनि सेयर मूल्य भने उच्च रहेको छ । हाल यी कम्पनीका सेयर मूल्य करिब साढे ५ सय देखि १ हजार रुपैयाँको हाराहारीमा रहेका छन् ।

नोक्सानमा घोराही सिमेन्ट, प्रतिसेयर आम्दानी ऋणात्मक

गत आर्थिक वर्षको असार मसान्तसम्म घोराही सिमेन्ट १ अर्ब २१ करोड ८८ लाख ८४ हजार रुपैयाँ नोक्सानीमा छ । कम्पनीले अघिल्लो आवको सोही अवधिमा ६ करोड ३१ लाख ५३ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । घोराहीको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ६८ पैसा ऋणात्मक छ ।

प्रतिसेयर नेटवर्थ २०७ रुपैयाँ ९३ पैसा छ । बिहीबार घोराहीको १६१६१० कित्ता सेयर कारोबार भएको थियो । बिहीबार बजारबन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५९७ रुपैयाँ छ । कम्पनीले प्रिमियम जोडेर प्रतिकित्ता ४३५ रुपैयाँमा सेयर निष्कासन गरेको थियो ।

शिवम् सिमेन्टको नाफा घट्यो, प्रतिसेयर आम्दानी ४.९८ रुपैयाँ

गत आर्थिक वर्षको असार मसान्तसम्ममा शिवम् सिमेन्ट इन्डष्ट्रिजको नाफा अघिल्लो आवको दाँजोमा ५७.९३ प्रतिशतले घटेर २५ करोड २ लाख २२ हजार रुपैयाँ छ । शिवमले अघिल्लो आवको सोही अवधिमा ५९ करोड ४७ लाख ८३ हजार रुपैयाँ नाफा गरेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ९८ पैसा छ । कम्पनीको नेटवर्थ १८९ रुपैयाँ ०२ पैसा छ । तर, बिहीबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७२९ रुपैयाँमा कारोबार भएको छ । कम्पनीले प्रिमियम जोडेर ३०० रुपैयाँमा सेयर निष्कासन गरेको थियो ।

सर्वोत्तम सिमेन्टको नाफा घट्यो, प्रतिसेयर आम्दानी न्यून

गत आर्थिक वर्षको असार मसान्तसम्म सर्वोत्तम सिमेन्टले १७ करोड ४२ लाख ८६ हजार रुपैयाँ नाफा आर्जन गरको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १८.५० प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिमा २१ करोड ३८ लाख ६७ हजार रुपैयाँ रहेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ७५ पैसा छ ।

सर्वोत्तमको प्रतिसेयर नेटवर्थ १९८ रुपैयाँ ८३ पैसा छ । बिहीबार बजार बन्द हुँदा कम्पनीको सेयर प्रतिकित्ता ९७० रुपैयाँमा कारोबार भएको छ । कम्पनीले प्रिमियम जोडेर प्रतिकित्ता ३६१ रुपैयाँ ९१ पैसामा सेयर निष्कासन गरेको थियो ।

सोनापुर मिनरल्स एण्ड आयल नोक्सानमा, प्रतिसेयर आम्दानी ऋणात्मक

गत आर्थिक वर्षको असार मसान्तसम्म सोनापुर मिनरल्स एण्ड आयल ४६ करोड ९२ लाख ८६ हजार रुपैयाँ नोक्सानमा रहेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २ करोड ६२ लाख ४६ हजार रुपैयाँ नाफा गरेको थियो । सोनापुरको प्रतिसेयर आम्दानी १५ रुपैयाँ २६ पैसा ऋणात्मक छ ।

कम्पनीको प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ २४ पैसा छ र विहीबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५७५ रुपैयाँमा कारोबार भएको छ । कम्पनीले प्रिमियम जोडेर प्रतिकित्ता २२५ रुपैयाँमा सेयर निष्कासन गरेको थियो ।


क्लिकमान्डु