रास्वपा लक्षित ओलीको टिप्पणी: गन्तव्य नभएकाहरु प्रणालीविरुद्ध लागे



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धेरैको बलिदानीले स्थापना भएको प्रणालीविरुद्ध गन्तव्य नभएकाहरु लागेको टिप्पणी गरेका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै बलिदान दिएर छानेको प्रणालीविरुद्ध गन्तव्य केहो भन्ने स्पष्ट नगरी केही प्रवृत्तिहरु लागेको आरोप लगाए ।

‘प्रणालीभन्दा बाहिरका प्रवृत्तिहरु सामाजिक मर्यादा, शिष्टता, सामाजिक वन्धन इमान र नैतिकताको वन्धनलाई वास्ता नगरि अघिबढ्ने केही प्रवृत्ति देखा परेका छन्,’ ओलीले भने, ‘यस्तो प्रवृत्तिबाट देशलाई कसरी जोगाउने भन्ने चिन्ता छ ।’

यो प्रणाली र दलहरुमा केही कमी कमजोरी भएर केही उपलब्धि हासिल नभएका भए पनि ति विषयलाई अतिरञ्जनाका साथ प्रणालीविरुद्ध प्रयोग गरिएको उनको भनाइ छ ।

सरकार यस मामलामा सझग रहेको ओलीले बताए ।

पुराना राजनीति दलले लोकतन्त्रका लागि लडेका र बलिदान दिएको भन्दै उनले भने, ‘संघर्ष, त्याग ख्यालख्याल कुरा होइन । कठिन बाटोबाट हामीले यो प्रणाली स्थापना गरेका छौं । मानिसले रगत बगाएका छन् । मानिसका आयुका आयु गएका छन् । कोही नेता निर्वासनमै बस्नु र मर्नुपर्ने अवस्था बन्यो । शवसमेत आफ्नो देशभित्र ल्याउन दिइन त्यो दिन हामीले भोगेका छौं । निर्वाचित प्रधानमन्त्रीलाई जेल राखिएको दिनहरु हामीले देखेका छौं ।’


क्लिकमान्डु