विमानस्थलको हवाई इन्धन डिपो सार्न आपूर्ति मन्त्रीले आईओसीसँग मागे सहयोग



काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले त्रिभुवन विमानस्थलस्थित हवाई इन्धनको डिपो सार्न आवश्यक पर्ने आर्थिक तथा प्राविधिक सहयोग इण्डियन आयल कर्पोरेशन(आईओसी) सँग माग गरेका छन् ।

गत विहीबार मन्त्री भण्डारीले नयाँ दिल्लीमा आईओसीका उच्च अधिकारीसँग छलफल गर्दै विमानस्थलको हवाई इन्धन डिपो अन्य स्थानमा सार्न आवश्यक पर्ने आर्थिक तथा प्राविधिक सहयोग माग गरेका हुन् । मन्त्री भण्डारीले आईओसीको एभिएसन फ्युल स्टेशन तथा इथानोल व्लेण्डिङ्ग स्टेशनको समेत अवलोकन गरेका थिए।

‘विमानस्थलको हवाई इन्धन डिपो सार्ने बिषयमा मन्त्रीज्यु र आईओसी उच्च अधिकारीबीच छलफल भएको थियो,’ मन्त्रालयका एक अधिकारीले भने,‘उक्त हवाई इन्धन डिपो विशिष्टीकृत निकायको आर्थिक र प्राविधिक सहयोगमा मात्रै सार्न सकिन्छ । यस्तो विशिष्टीकृत बिशेषता आईओसीसँग मात्रै रहेको ठहर गर्दै आर्थिक तथा प्राविधिक सहयोगका लागि छलफलको क्रममा मन्त्रीज्युले आईओसीका उच्च अधिकारीसमक्ष आग्रह गरेका हुन् ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई यातायात क्षमता अभिवृद्धि आयोजना निर्देशनालयले विमानस्थलको मास्टर प्लानअनुसार विमानस्थलको उत्तरतर्फ नेपाली सेनाको गल्फ कोर्स भवननजिकै डिपो सार्न करिब ५० रोपनी जग्गा पनि छुट्टयाइएको छ । डिपो सार्न विगत ३–४ बर्षदेखि आयोजनाले निगमलाई पत्राचार गर्दैआएको छ ।

निगमका एक पूर्वअधिकारीका अनुसार डिपो सार्ने योजना माफियाहरुको ठूलो सेटिङका कारण अघि बढ्न नसकेको हो । एक वर्षअघि सार्ने योजना अघि बढाए पनि विभिन्न स्वार्थ केन्द्रको अर्बौं रुपैयाँको चलखेल र सेटिङका कारण उक्त योजना अघि बढ्न सकेको छैन ।


क्लिकमान्डु