कामना सेवाको नाफा ६७ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा ७ गुणा बढी



काठमाडौं । कामना सेवा विकास बैंक आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण तयार पार्ने पहिलो बैंक बनेको छ । सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्थामध्ये कामना सेवाले नाफा र वितरणयोग्य नाफामा उल्लेख्य सुधार भएको वित्तीय विवरण प्रकाशन गरेको हो ।

बैंकले आव २०७९/८० को तुलनामा अधिकांश वित्तीय सूचकांकमा सुधार गरेको देखिएको छ । जसअनुसार बैंकको खुद नाफा ६६.९२ प्रतिशतले बढेको छ । यस्तै वितरणयोग्य नाफा ७ गुणाले बढेको छ ।

बैंकको प्रमुख कार्यकारी अधिकृतमा दिनेश थकाली २०८० जेठमा नियुक्त भएयता बैंकको पर्फमेन्स सुधारिएको छ ।

आव २०७९/८० मा ३६ करोड १३ लाख रुपैयाँ खुद नाफा गरेको बैंकले गत आवमा २४ करोड बढी अर्थात् ६० करोड ३२ लाख रुपैयाँ कमाएको छ । जसअनुसार बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ११.०१ रुपैयाँबाट १८.३८ रुपैयाँ पुगेको छ ।

आम्दानी बढाएर खर्च घटाउँदा बैंको वित्तीय विवरण निकै उत्कृष्ट देखिन्छ । सीईओमा थकाली नियुक्त भएपछि वित्तीय अनुशासनमा बैंक अब्बल देखिएको हो ।

गत आवमा बैंकले २ अर्ब १२ करोड ५२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको हो जुन अघिल्लो आवभन्दा ६ करोड बढी हो । यस अवधिमा बैंकको खुद फि तथा कमिसन आम्दानी साढे २ करोडले बढेर २६ करोड ९२ लाख रुपैयाँ कायम भएको छ ।

बैंकले आव २०७९/८० मा १ करोड २६ लाख रुपैयाँको अन्य सञ्चालन आम्दानी गरेकामा गत आव ९ करोड १५ लाख यस्तो आम्दानी गरेको छ ।

रिकभरीमा लाग्दा अघिल्लो आर्थिक वर्ष बराबर नोक्सानी व्यवस्था थप गर्नु नपरेकाले बैंकको नाफामा उल्लेख्य सुधार आएको देख्न सकिन्छ । बैंकले अघिल्लो आवमा ५२ करोड २६ लाख रुपैयाँ प्रोभिजन थपेको थियो तर गत आवमा ३० करोड ४० लाख रुपैयाँमात्र प्रोभिजन थप गरेको छ ।

फलस्वरुप बैंकको खुद सञ्चालन आम्दानी १ अर्ब ८० करोडबाट बढेर २ अर्ब १८ करोड कायम भएको छ ।

बैंकले एक वर्षको अवधिमा ५ अर्ब ६० करोड रुपैयाँ निक्षेप थपेर कुल निक्षेप ५९ अर्ब ६ करोड पुर्‍याउँदा २ अर्ब १४ करोड बराबरको मात्र कर्जा थप गरेको छ । २०८१ असार मसान्तसम्म बैंकको कुल कर्जा प्रवाह ४६ अर्ब रुपैयाँ पुगेको बैंकले गत आव रिकभरीमा जोड दिएको देखिएको हो ।

नाफामा उल्लेख्य सुधार गर्दा कम्पनीको कुल पुँजीमा प्रतिफलमा राम्रो बढोत्तरी भएको । अघिल्लो आवको रिटर्न अन इक्विटी ७.६३ प्रतिशतमात्र रहेकामा गत आवमा यस्तो प्रतिफल ११.१८ प्रतिशत पुगेको छ ।

१ वर्षको अवधिमा कुल निष्क्रिय कर्जाको अनुपात ३.०९ प्रतिशतबाट सामान्य बढेर ३.२१ प्रतिशतमा पुगेपनि खुद निष्क्रिय कर्जाको अनुपात उल्लेख्य मात्रामा घटेको छ । सजगता अपनाउँदै नोक्सानी व्यवस्था (प्रोभिजन) बढाउँदा नेट एनपीएल १.०५ प्रतिशतबाट घटेर ०.८६ प्रतिशत कायम भएको छ ।

यस अवधिमा कुल प्रोभिजन र निष्क्रिय कर्जाको अनुपात १२६.०५ प्रतिशत छ जुन अघिल्लो आव अन्त्यमा रहेको ११९.६९ प्रतिशतभन्दा बढी हो ।

रिकभरीमा लागेको र बैंकले अपनाएको संयमताको प्रमाण वक्यौता ब्याजले पनि दिन्छ । एक वर्षको अवधिमा बैंकको ब्याज वक्यौता साढे ४ करोडले मात्र बढेको छ । जबकि गत आव यस्तो वक्यौता १७ करोडले बढेको थियो ।

आव २०८०/८१ को अन्त्यमा बैंकको वितरणयोग्य नाफा १०.९१ प्रतिशत रहेको छ । गत वर्ष बैंकले प्रतिफल वितरण गरेको थिएन । यस अवधिमा बैंकको कुल वितरणयोग्य मुनाफा ३५ करोड ७८ लाख ८० हजार रुपैयाँ छ ।

बैंकको वितरणयोग्य नाफा अघिल्लो आवको ५ करोड २७ लाख ५६ हजारभन्दा ७ गुणा बढी हो ।

वित्तीय पर्फमेन्स सुधारिँदा बैंकको प्रतिसेयर नेटवर्थ १६४.४८ रुपयाँ कायम भएको छ । यसैगरी असार मसान्तको दोस्रो बजारको सेयर मूल्य अनुसार कम्पनीको पीई रेसियो २२.६३ रहेको छ । असार मसान्तको तथ्यांकअनुसार बैंकको चुक्ता पुँजी ३ अर्ब २८ करोड रुपैयाँ हुँदा रिटेन्ड अर्निङसहित जगेडा कोषमा २ अर्ब ११ करोड रुपैयाँ रहेको छ ।


क्लिकमान्डु