नयाँ आर्थिक वर्षको सुरुमै बैंकिङ प्रणालीबाट ४२२ अर्ब रूपैयाँ तरलता खिचियो
काठमाडौं । नयाँ आर्थिक वर्षको सुरुमै ४ खर्ब २२ अर्ब रूपैयाँ अधिक तरलता नेपाल राष्ट्र बैंकसामु पुगेको छ । बैंकहरूले आर्थिक वर्ष २०८१/८२ को पहिलो दिन स्थायी निक्षेप सुविधा उपयोग गर्दै ३ खर्ब ७२ अर्ब रूपैयाँ राष्ट्र बैंकमा राखेकामा केन्द्रिय बैंकले बुधबार थप ५० अर्ब रूपैयाँ तानेको हो ।
बैंकिङ प्रणालीमा अत्यधिक बढी तरलता भएपछि राष्ट्र बैंकले बुधबारै ५० अर्ब रुपैयाँ खिच्दैछ । केन्द्रीय बैंकले बोलकबोलमार्फत् निक्षेप संकलन गरी आधा खर्ब रुपैयाँ तरलता प्रशोचन गर्दैछ ।
बैंकहरुले आज ३ बजेसम्म आफूलाई बढी भएको तरलता निक्षेपमा राख्न अनलाइनमार्फत् बोलकबोल गर्नुपर्नेछ । उनीहरुले घटिमा १० करोड र ५ करोडले निःशेष भाग जाने कुल आह्वान रकम बराबरको रकम राख्ने कबोल गर्नुपर्नेछ । यसरी राखिने निक्षेपको ब्याजदर बोलकबोलबाटै तय हुनेछ ।
केन्द्रीय बैंकले २१ दिन अवधिका लागि तरलता खिच्न लागेको हो । सो रकम परपक्व भएपछि ब्याजसमेत फिर्ता हुनेछ ।
केन्द्रीय बैंकले असार ६ र ७ गते कुल ९० अर्ब रुपैयाँ बराबरको १४ दिने निक्षेप संकलन गरेको थियो । सो निक्षेप परिपक्व हुँदै गर्दा तरलता बढ्ने भएपछि अर्को उपकरण प्रयोग गरेको थियो । असार १९ गते ५० अर्बको निक्षेप तान्न खोजेकामा ९५ करोडमा खिचेको थियो ।
गत आर्थिक वर्षभर केन्द्रिय बैंकले १८ खर्ब ४४ अर्ब ५ करोड रूपैयाँ बराबरको निक्षेप संकलन गरेको छ ।
यता स्थायी निक्षेप सुविधा उपयोग गर्दै बैंकहरूले मंगलबार ३ खर्ब ७२ अर्ब २० करोड रूपैयाँ निक्षेप राखेका थिए । ३ प्रतिशत ब्याजदरमा यस्तो रकम ३५ बैंक तथा वित्तीयले राखेका हुन् ।
२०८० फागुन २ गतेदेखि कार्यान्वयन गरिएको स्थायी निक्षेप सुविधा उपयोग गर्दै ७ सय ७१ कारोबारमार्फत् ३५ खर्ब २२ अर्ब ३५ करोड रूपैयाँ राष्ट्र बैंकमा राखिएको छ । असार १० गते स्थायी निक्षेप सुविधा दिने कार्यविधि परिमार्जन भएसँगै बैंकहरूले खर्ब बढीको स्थायी निक्षेप सुविधा लिन थालेका छन् ।
राष्ट्र बैंकका अनुसार बैंकिङ प्रणालीमा असार ३१ गतेसम्म १ खर्ब ३७ अर्ब रूपैयाँ अधिक तरलता रहेकामा साउन १ गते १ खर्ब अधिक तरलता कायम छ । तरलता बढेर अन्तर बैंक ब्याजदर ३ प्रतिशतभन्दा तल झरेको छ ।
अन्तर बैंक ब्याजदरलाई करिडोरको ३ प्रतिशतको तल्लो सीमाभित्र राख्न स्थायी निक्षेप सुविधा दिन थालिएको हो ।
स्थायी तरलता सुविधा लिएर पनि बढी भएको तरलता बैंकहरुले बोलकबोलवाला निक्षेपमा राख्छन् । बैंकहरुले यसअघि यस्तो निक्षेपमा ३.१ प्रतिशत देखि न्यूनतम २.९९ प्रतिशत ब्याजदर कबोल गरेका थिए ।
अहिले बैंकिङ प्रणालीमा लगानीयोग्य रकम अधिक रहेपनि बैंकहरूको लगानी गर्ने क्षमता भने निकै कम छ ।