नेपाल-भारत विद्युत व्यापारका लागि १५८० मेगावाटको क्रस बोर्डरलाइन तयार, ६ वर्षमा १२ हजार थपिने



काठमाडौं । नेपाल भारत विद्युत व्यापारका लागि १५८० मेगावाटका क्रस बोर्डर प्रसारणलाइन तयार भएको छ ।

अहिले सञ्चालनमा रहेका प्रसारण प्रणालीबाट १५८० मेगावाट बिजुली आयात/निर्यात गर्न सकिन्छ । नेपाल विद्युत प्राधिकरणका मध्यम भोल्टेज ग्रीड भोल्टेज डिपार्टमेन्टका निर्देशक केदारराज सिलवालले भारतले अनुमति दिए अहिले १५०० मेगावाट निर्यात गर्न सकिने बताए । उनका अनुसार सन् २०३० सम्म १२७०० मेगावाटको थप क्रस बोर्डरलाइन निर्माण हुँदैछन् ।

अहिलेसम्म नेपाल र भारतबीच ढल्केबर-मुजफ्फरपुर ४०० केभीको एउटा मात्रै प्रसारणलाइन सञ्चालनमा छ । जसबाट ८०० मेगावाट आदान प्रदान गर्न सकिन्छ । यो प्रसारणलाइनको अधिकतम बहन क्षमता २००० मेगावाट हो । एन माइनस वा क्राइटेरियाका कारण १००० मेगावाट आदान प्रदान गर्न मिल्छ । तर नेपाल र भारतबीच यो प्रसारणलाइनबाट ८०० मेगावाट आदान गर्ने समझदारी छ ।

कटैया-कुशाहा १३२ केभी प्रसारणलाइनबाट १२० मेगावाट, कटैया-कुशाहा-दोस्रो १३२ केभी लाइनबाट १६० मेगावाट, रक्सौल-परवानीपुर १३२ केभी प्रसारणलाइनबाट १६० मेगावाट, रामनगर-गण्डक १३२ केभी प्रसारणलाइनबाट ६५ मेगावाट,मैनियाँ-सम्पत्तिया १३२ केभी  प्रसारणलाइनबाट १६० मेगावाट, टनकपुर-महेन्द्रनगर १३२ केभी प्रसारणलाइन ७० मेगावाट ,३३ केभी तथा ११ केभी अन्य प्रसारणलाइनबाट ४ मेगावाट गरी कुल १५८० मेगावाट आयात/निर्यात गर्न सक्छ ।

क्रसइन्टर कनेक्स प्वाइन्ट भोल्टेज लेभल (केभी)लाइन क्षमता (मेगावाट)
ढल्केबर-मुजफ्फरपुर४००८००
कटैया-कुशाहा१३२१२०
कटैया-कुशाहा-दोस्रो१३२१६०
रक्सौल-परवानीपुर१३२१६०  
रामनगर-गण्डक१३२  ६५
मैनहिया-सम्पत्तिया१३२१६०
टनकपुर-महेन्द्रनगर१३२७०
३३ केभी र ११ केभीका अन्य लाइन३३  र ११४५
  जम्मा१५८०

नेपाल र भारतबीच विद्युत व्यापारका लागि प्रसारणलाइन ‍तयार भए पनि भारतले अहिलेसम्म ६९० मेगावाट बिजुली निर्यातको अनुमति दिएको छ । रियल मार्केट र डे-अहेड मार्केटमा नेपालले बिजुली बेच्न पाउँछ । अहिले नेपालले १२०० मेगावाटको बिजुली निर्यातको अनुमति मागेको छ ।

नेपालका अधिकांश जलविद्युत् आयोजना नदी प्रवाह (आरओआर) मा आधारित छन् । जसको उत्पादन हिउँदमा ३० प्रतिशतमा खुम्चिन्छ । सोही कारण जडित क्षमता ३१०० मेगावाट कटेको भएपनि हिउँदको माग पूरा गर्न ६०० मेगावाटसम्म आयात गर्नुपर्छ । वर्खामा भारतले नकिन्दा गत वर्ष ५०० मेगावाट बिजुली खेर गएको थियो । यो वर्खामा पनि १००० मेगावाट बिजुली खेर जाने चिन्तामा ऊर्जा  प्रवर्द्धकहरु छन् ।

नेपाल र भारतबीच अहिले सन् २०३० सम्म तयार हुने गरी ६ वटा प्रसारणलाइन निर्माण भइरहेका छन् । जसको कुल क्षमता १२७०० मेगावाट छ ।

ढल्केबर-सीतामढी ४०० केभीको लाइन अन्तिम चरणमा छ । अरुण तेस्रो जलविद्युत् आयोजनाको बिजुली लैजान निर्माण गरिरहेको यो डेडिकेटेडलाइन  हो । सतलज जलविद्युत् निगमले अरुण तेस्रो जलविद्युत् आयोजनासँगै प्रसारणलाइन पनि निर्माण गरिरहेको छ । यो प्रसारणलाइन अन्तिम चरणमा छ । जसले २५०० मेगावाट विद्युत प्रसारण गर्न सक्छ  । २०२४/०२५ भित्र सक्ने लक्ष्य छ ।

नेपालगञ्ज-नानपारा १३२ केभी प्रसारणलाइन २०२५/०२६ भित्र सक्ने लक्ष्यका साथ निर्माण भइरहेको छ । यो प्रसारणलाइनले २०० मेगावाट विद्युत वहन गर्न सक्छ  ।

न्यु बुटवल-गोरखपुर ४०० केभी प्रसारणलाइन २०२५/०२६ मा सक्ने  गरी निर्माण भइरहेको छ । यो प्रसारणलाइनको क्षमता २५०० मेगावाट हो । इनरुवा-पुर्निया ४०० केभी प्रसारणलाइन २०२६/०२७ मा सक्ने लक्ष्य छ । यो प्रसारणलाइनले २५०० मेगावाट बिजुली प्रसारण गर्न सक्छ । लम्की-बरेली ४०० केभी प्रसारणलाइन २०२७/०२८ मा सक्ने लक्ष्य छ ।

यो २५०० मेगावाट क्षमताको प्रसारणलाइन हो । २०२९/३० मा सक्ने गरी कोहलपुर-लखनउ ४०० केभी प्रसारणलाइन निर्माण गर्ने योजना छ । यो पनि २५०० मेगावाट क्षमताको हो ।


क्लिकमान्डु