नेप्सलाई १००:२८ स्वापमा प्राप्ति पश्चात यस्तो बन्यो क्लियरिङ हाउस, सञ्चालक समितिमा भएन हेरफेर

588
Shares

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडले सोमबार एक औपचारिक कार्यक्रम आयोजना गरी नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स् लिमिटेड (नेप्स)लाई प्राप्ति गरी एकिकृत कारोबार सुरुवात गरेको छ । नेपालमा यसरी दुई भुक्तानी प्रणाली सञ्चालकहरु बीच गाभ्ने/गाभिने वा प्राप्ति भएको यो नै पहिलो हो ।

एकीकृत कारोबार घोषणाको कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आथित्यता रहेको थियो भने नेपाल राष्ट्र बैंक तथा सरकारकी निकायका उच्च पदस्थ अधिकारीहरु, बैंक वित्तीय संस्थाहरु, भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायक संस्थाहरु लगायतका प्रतिनिधि र कर्मचारीको उपस्थिति थियो ।

वैशाख १३ गते दुवै संस्थाले आ–आफ्नो विशेष साधारण सभाबाट स्वीकृती प्राप्त गरी आवश्यक सम्पूर्ण कानुनी र प्रकृयागत कार्य सम्पन्न गरी नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयबाट समेत आवश्यक अन्तिम स्वीकृती पश्चात उक्त प्राप्ति सम्बन्धिको कार्य सफलतापूर्वक भएको हो । भुक्तानी तथा फछ्र्यौट विनियममा रहेको प्रावधान अनुसार डीडीए अडिटरले मूल्यांकन लगायत विभिन्न पक्षको समिक्षा सहितको प्रकृया पूरा गरी १००ः२८ स्वाप अनुपातमा एनसीएचएलले नेप्सलाई प्राप्ति गरेको हो । दुवै संस्था बैंक वित्तीय संस्थाबाट प्रवद्र्धित भएकाले प्राप्तिपछि पनि कम्पनीको सञ्चालक समितिमा कुनै फेर बदल भएको छैन ।

दुवै संस्थाले नेपालमा डिजिटल भुक्तानीको विकास तथा विस्तार गर्ने उद्देश्य सहित आ–आफ्नो क्षेत्रमा कार्य गर्दै आएका हुन् । नेप्सले विगत ११ वर्ष देखि कार्डमा आधारित सेवा प्रदान गर्दै आएको छ भने एनसीएचएलले विगत १५ वर्ष देखि कार्ड बाहेकका विभिन्न राष्ट्रिय स्तरका विद्युतीय भुक्तानी प्रणाली, पूर्वाधार तथा प्ल्याटफर्म सञ्चालन गर्दै आएको छ ।

प्राप्ति प्रक्रियाको माध्यमबाट दुवै संस्थाका प्रणाली, पूर्वाधार र कारोबारलाई एकीकृत गरी नेशनल पेमेन्ट स्वीचको कार्यान्वयन तथा अन्तरआबद्धतालाई थप टेवा पुग्ने विश्वास गरिएको विज्ञप्तिमा उल्लेख छ । प्राप्ति पश्चात नेप्सले कार्डको पूर्वाधार अन्तर्गत दिने गरेको कार्ड जारी, एक्वाइरिङ, पर्ससनलाइजेसन तथा यस सम्बन्धी सम्पूर्ण सेवाहरुलाई ईएफटी कार्ड सेवाको रुपमा निरन्तरता दिनेछ भने सो पूर्वाधारलाई थप सुदृढ गरी नेपाल पेको डोमेस्टिक स्किमको सेवा प्रदान गर्ने गरी व्यवस्था मिलाइने कम्पनीले जनाएको छ ।

प्राप्ति पछि एकीकृत चुक्ता पुँजी १ अर्ब ७ करोड तथा कुल कोष १ अर्ब ४४ करोड रुपैयाँ कायम भएको छ । यसले पूर्वाधार विस्तार गर्न, जोखिमहरु न्यूनिकरण गर्न तथा सुरक्षा नियन्त्रणका प्रणालीहरुलाई सुदृढ गर्न, नविनतम अनुसन्धनका कार्यहरुमा लगानी गर्न तथा सेवाको गुणस्तर वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

२०८० चैत्र मसान्तसम्म दुवै कम्पनीको संयुक्त कारोबार रकम ११३ खर्ब रुपैयाँ भन्दा बढी रहेको छ भने संयुक्त कारोबार संख्या १३ करोड भन्दा बढी छ । १३२ भन्दा बढि कर्मचारीहरुको अनुभव तथा दक्षताले एनसीएचएललाई नेपाल तथा अन्तर्राष्ट्रिय भुक्तानीको क्षेत्रमा आफ्नो उपस्थीतिलाई थप सशक्त बनाउँन मद्दत पुग्ने बताइएको छ ।

Skip This