अयोध्यामा नवनिर्मित मन्दिरमा रामको मूर्तिमा प्राणप्रतिष्ठा



काठमाडौं । भारतको उत्तर प्रदेश राज्यस्थित अयोध्यामा निर्माण गरिएको मन्दिरमा भगवान रामको प्राणप्रतिष्ठा गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी भएको प्राणप्रतिष्ठा सोमबार मध्याह्न १२ बजेर २९ मिनेटमा गरिएको थियो ।

प्रधानमन्त्री मोदीका अलावा यूपीका मुख्यमन्त्री योगी आदित्यनाथ, संघ प्रमुख मोहन भागवत, यूपीका राज्यपाल आनंदी बेन पटेलसमेत पूजामा सहभागी भएका थिए । प्राणप्रतिष्ठा कार्यक्रममा भारतसहित अन्य देशका हस्तिहरुलाई बोलाइएको थियो ।

अमिताभ बच्चन, रजनीकान्त, क्रिकेटर सचिन तेंदुलकर, अर्बपति व्यवसायी मुकेश अंबानी, नीता अंबानी लगायत कार्यक्रममा सहभागी भएका थिए ।

कार्यक्रममा सहभागी हुन नेपालबाट पनि कयौंको संख्यामा अयोध्या पुगेका छन् ।

सन् १९९२ मा हिन्दूहरूको भिडले भत्काइदिएको १६औँ शताब्दीको मस्जिदलाई नयाँ मन्दिरले विस्थापन गरेको छ । उक्त विध्वंसपश्चात् देशभरि दङ्गा फैलिँदा झन्डै २ हजार जनाको ज्यान गएको थियो ।

मन्दिर निर्माणले उक्त तनावग्रस्त नगरमा रामको मन्दिर बनाउने हिन्दू राष्ट्रवादीहरूको दशकौँ पुरानो वाचा पूरा भएको छ । हिन्दूहरू रामलाई भगवान् विष्णुको अवतार मान्छन् । उनलाई मर्यादा पुरुषोत्तम पनि भनिन्छ ।

रामको जन्मभूमि मानिने अयोध्या रहेको मन्दिर मुस्लिम अतिक्रमणकारीहरूले भत्काएर त्यहाँ बाबरी मस्जिद ठड्याएको हिन्दूहरूले विश्वास गर्छन् ।

भारतीय सर्वोच्च अदालतमा लामो समय चलेको मुद्दाको किनारा लाग्दै त्यहाँ पहिला गैर मुस्लिम संरचना रहेको ठहर गर्दै मस्जिद बनाउनका लागि जग्गाको व्यवस्था गर्न आदेश दिएको थियो । अदालतको आदेशपछि सरकारले त्यहाँ भव्य राम मन्दिर बनाएको हो ।

पिङ्क स्यान्डस्टोन तथा ब्ल्याक ग्रनाइटले बनेको उक्त संरचना ७.२ एकडमा फैलिएको छ । समग्र मन्दिर परिसर झन्डै ७० एकडमा फैलिएको छ।

प्रधानमन्त्री मोदीले अहिले केवल भुइँतलाको मात्र उद्घाटन गरेका हुन् । बाँकी भागको निर्माण कार्य यो वर्षको अन्त्यतिर सम्पन्न हुने ठानिएको छ ।

सम्पूर्ण रुपमा निर्माण नसकिँदै प्राणप्रतिष्ठा गरिएको भन्दै शंकराचार्यहरुले बिरोध गरेका थिए । हिन्दू सन्त नेता तथा विपक्षीहरूले मन्दिरको प्राणप्रतिष्ठालाई मोदीले राजनीतिक लाभको विषय बनाएको भन्दै उक्त कार्यक्रममा सहभागी भएनन् ।


क्लिकमान्डु