१८ अर्बमा बनेको राम मन्दिरमा आज प्राणप्रतिष्ठा, नेपाली पूजारी



काठमाडौं । भारतको अयोध्यामा निर्माण भएको भव्य राम मन्दिरमा भगवान रामको प्राणप्रतिष्ठा हुँदैछ । यो कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी हुनेछन् ।

राम जन्मभूमि ट्रष्टकाअनुसार कार्यक्रममा सहभागी हुनका लागि अतिथीहरु अयोध्या पुगेका छन् । जसमा विभिन्न स्थान र देशका सन्त, नेता, फिल्म अभिनेता र खेलाडीहरु रहेका छन् ।

प्राणप्रतिष्ठा कार्यक्रमका लागि अयोध्यामा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

त्यसका लागि १० हजार सीसीटीभी क्यामेरा, एआई युक्त ड्रोनले गतिविधिमाथि निगरानी गर्ने छ भने ठाउँ ठाउँमा सादा पोशाककका सुरक्षाकर्मीहरु परिचालन गरिएको छ ।

रामको मूर्तिमा प्राणप्रतिष्ठा आज दिउँसो साढे १२ बजेबाट सुरु हुनेछ ।

रामको मूर्तिलाई विभिन्न ११४ घडाको औषधियुक्त तथा अलग अलग तीर्थको जलले नुहाइने छ ।

नेपाली पूजारी

प्राणप्रतिष्ठामा नेपाली नागरिक पूजामा सहभागी हुँदैछन् ।

झापाका दुर्गाप्रसाद गौतम प्राणप्रतिष्ठाको पूजामा सहभागी हुने भएका हुन् । उनी सन् २०२० देखि राम जन्मभूमी तीर्थ क्षेत्रका मुख्य आचार्यका रुपमा कार्यरत छन् ।

यसअघि उनी राममन्दिर निर्माणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भूमिपूजन तथा शिलान्यास गर्दाका मुख्य पुजारी थिए ।

बीबीसी नेपालीसँगको कुराकानीमा उनले भनका छन्, ‘म मुख्य आचार्य हुँ । मुख्य पुजारी होइन । मुख्य पुजारी त सतेन्द्र दासजी हुनुहुन्छ ।’

मुख्य पुजारीको काम मन्दिरको नियमित पूजाअर्चना गर्ने हुने र आचार्यको काम कुनै ठूलो यज्ञ वा अनुष्ठान गर्दा व्यवस्थापन गर्ने र विशेष पूजा गर्दा पुरोहितहरको नेतृत्व गर्ने हुने उनले बताए ।

प्राणप्रतिष्ठाका क्रममा कुल १२१ पुरोहितहरूले धार्मिक विधिहरू पूरा गर्ने र ती सबैको व्यवस्थापनमा आफू जुटेको उनले बताए।

गौतमले दिएको जानकारी अनुसार प्राणप्रतिष्ठाका क्रममा विधिहरू पूरा गरेर जम्मा पाँच जनालाई मात्र मन्दिरको गर्भगृहमा राख्नेगरी व्यवस्थापन मिलाइएको छ । ‘गर्भगृहमा पाँच जना मात्र रहनुहुन्छ हामीले समेत बाहिरबाट मन्त्रोच्चारण गर्ने हो र विधि पूरा गर्ने हो,’ उनले भने।

गर्भगृहमा भारतीय प्रधानमन्त्री मोदी, मुख्यमन्त्री योगी (योगी आदित्यनाथ), सरसङ्घचालक मोहन भागवत (राष्ट्रिय स्वयमसेवक सङ्घ), आनन्दीवेन पटेल (उत्तरप्रदेशकी गभर्नर) र नृत्यगोपाल दास (श्री राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका अध्यक्ष) रहने उनले बताए ।

कति खर्च ?

रामजन्म भूमि तीर्थ क्षेत्र ट्रस्टका कोषाध्यक्ष गोविन्द देव गिरीकाअनुसार मन्दिर निर्माणका लागि अहिलेसम्म १ हजार १ सय (१७ अर्ब ६० करोड नेपाली रुपैयाँ) करोडभन्दा धेरै रकम खर्च भइसकेको छ र काम पूरा गर्नका लागि अझै ३ सय कोरोडभन्दा धेरै आवश्यक पर्नेछ । कही रिपोर्टहरुले भने राममन्दिर पूर्ण गर्न ५ हजार ५ सय करोडभन्दा धेरै खर्च हुने दाबी गरेका छन् ।

राम मन्दिर निर्माणको घोषणा भएसँगै मानिसहरुले दान दिन थालेको र अहिलेसम्म ठूलो धनराशी जम्मा भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

ट्रस्टको स्थापना भएपछि अहिलेसम्म ३ हजार ५ सय करोड भारतीय रुपैयाँ भन्दा धेरै रकम दानमा प्राप्त भएको भारतीय अनलाइन फाइनान्सयल एक्सप्रेसले ट्रस्टका सचिव चम्पत रायलाई उदृत गर्दै जनाएको छ ।

प्राचीन नागर शैलीमा बनाइएको मुख्य मन्दिर ५७ हजार ४ सय वर्गफिट क्षेत्रमा फैलिएको जनाइएको छ । यसको लम्बाइ ३ सय ८० फिट र चौडाइ २ सय ५० फिट छ । मन्दिरको शिखर १ सय ६१ फिट उचाइँको छ । मन्दिरमा ३ सय ९२ वटा पिलर र ४४ वटा ढोकाहरू रहेका छन् ।

नेपालमा पनि उत्सव

अयोध्यामा राम मन्दिरमा प्राणप्रतिष्ठा कार्यक्रममा सहभागी हुन नेपालका सन्तहरुलाई पनि निमन्त्रणा आएको छ भने नेपालका कतिपय स्थानीय तहहरुले बिदा नै दिएका छन् । प्राणप्रतिष्ठाको समयमा नेपालका मन्दिरहरुमा शंखनाद गर्ने कार्यक्रमसमेत हिन्दूवादी संघसंस्थाले राखेका छन् ।


क्लिकमान्डु