उद्घाटनको दुई वर्षपछि सुरु भयो कोलकाता–विराटनगर कार्गो रेलसेवा


विराटनगर । उदघाट्न भएको दुई वर्षपछि रेल मार्गमार्फत भारतसहित तेश्रो मुलुकबाट आयात हुने बल्क कार्गो बिराटनगरस्थित एकीकृत जाँचविन्दु(आईसीपी) सम्म आउन सुरु भएको छ ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीले २०८० जेठमा भारतको नयाँ दिल्लीवाट यो रेलमार्गको सयुक्त रुपमा उद्घाटन गरेका थिए ।

उद्घाटनको क्रममा फलाम उद्योगको कच्चा पदार्थ बोकेको कार्गो रेल विराटनगरको आइसिपीमा आएको थियो । त्यसपछि यो रेलमार्ग सुनसरी मोरङ औधोगिक क्षेत्रका उद्योगी व्यवसायिका लागि बेकामे बनेको थियो ।

उद्घाटनको क्रममा तत्कालीन वाणिज्य मन्त्री रमेश रिजालले भारतका समकक्षी पीयूष गोयलसितको सहमतिमा नयाँ पारवहन सन्धि गरेका थिए । त्यो सन्धिमा तेस्रो मुलुकबाट विराटनगर आईसीपीको रेल वे यार्ड (नेपाल कस्टम यार्ड अर्थात् एनसीवाई) सम्म तेस्रो मुलुकबाट सिमेन्ट, क्लिंकर, रासायनिक मल र कोइला गरी चार वस्तु मात्र ल्याउन सकिने उल्लेख गरिदा यो रेलमार्ग प्रयोगविहिन बनेको थियो ।

सुशिला कार्की नेतृत्ववको अन्तरिम सरकारका तत्कालीन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हा गत कात्तिकमा भारत भ्रमणमा गएका बेला पारवहन सन्धिको प्रोटोकलमा संशोधन गर्नेगरी लेटर अफ एक्स्चेन्ज (एलओई) भएपछि मन्त्रालयले विज्ञप्ति प्रकाशित गर्दैै अब विराटनगरको आइसिपीसम्म तेस्रो मुलुकबाट सबै प्रकारका रेलकार्गो ढुवानी गर्न सकिने जनाएको थियो ।

सोहिअनुसार शुक्रवारदेखि भारतको कोलकाता बन्दरगाहबाट विराटनगरसम्म पहिलोपटक औपचारिक रूपमा कार्गो रेल सेवा सञ्चालनमा आएको छ ।

नेपाल–भारत पारवहन सम्झौता अन्तर्गत तेस्रो मुलुकबाट आयात हुने मालसामान अब भारतीय रेलमार्फत सिधै विराटनगर भन्सारसम्म ल्याउन सकिने व्यवस्था कार्यान्वयनमा आएसँगै कार्गो रेल सेवा सुरु भएको हो ।

कोलकाता बन्दरगाहबाट पहिलो रेल ¥याकमार्फत स्वस्तिक आयल इन्डस्ट्रिजको कच्चा पदार्थ बोकेको कार्गो रेल विराटनगरको आइसिपी आउन लागेको हो ।

कोलकातास्थित नेपाली महावाणिज्यदूत झक्कप्रसाद आचार्य, कोलकाता भन्सार, कोलकाता पोर्ट तथा भारतीय कन्टेनर निगम लिमिटेड (कोनकोर) का अधिकारीहरूले संयुक्त रूपमा हरियो झण्डा देखाएर कार्गो रेल ढुवानीको सुरुआत गरेका थिए ।

रेलमा तेस्रो मुलुकबाट आयात गरिएको कच्चा पदार्थ बोकेका ४० वटा ४० फिट क्षमताका कन्टेनर रहेको बताइएको छ । सबै कन्टेनरमा इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम (ईसीटीएस) जडान गरिएको छ, जसले ढुवानीको सुरक्षा र पारदर्शिता सुनिश्चित गर्नेछ ।

कार्गो रेल सेवा सुचारु भएको जनाउदै विराटनगर भन्सार कार्यालयले कोलकोत्ताबाट विराटनगर आइसिपीकालागि औधोगिक कच्चा पदार्थ बोकेर हिँडेको कार्गो रेल आइतवारसम्ममा विराटनगर आइपुग्ने वताएको छ ।

२०८० जेठ तेस्रोसाता तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीले भारतको बथनाहाबाट विराटनगर कस्टम यार्डसम्मको कार्गो रेल सेवाको उद्घाटन गरेको दिन एउटा कार्गो रेल यहाँ आएको थियो ।

यो सेवा नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत भारत सरकारले गरेको नीतिगत संशोधनको कार्यान्वयन हो । भारत सरकारको केन्द्रीय अप्रत्यक्ष कर तथा भन्सार बोर्ड (सीबीआईसी)ले ४ नोभेम्बर २०२५ मा ईसीटीएस नियमावली संशोधन गर्दै कोलकाता, हल्दिया र विशाखापट्टनम बन्दरगाहबाट रेलमार्फत विराटनगरसम्म कार्गो ढुवानी गर्न अनुमति दिएको थियो ।

कोलकाता भन्सारले २६ फेब्रुअरी २०२६ मा कोलकाता र हल्दियाबाट जोगबनीस्थित भारतीय भन्सार यार्ड हुँदै विराटनगर भन्सारसम्म रेलमार्फत मालसामान ढुवानी गर्ने प्रक्रियागत व्यवस्था मिलाएपछि शुक्रवारदेखि यो कार्गो रेल सेवा औपचारिक रूपमा सञ्चालनमा आएको हो ।

पूर्ण रूपमा सञ्चालनमा आएपछि एकैपटक ४५ वटासम्म ४० फिट क्षमताका कन्टेनर रेलमार्फत सिधै विराटनगर ल्याउन सकिनेछ ।

यसअघि यस्तो सुविधा वीरगञ्जसम्म मात्र सीमित थियो। कोलकातास्थित नेपाली महावाणिज्यदूतावासका अनुसार रेलमार्फत ढुवानी गर्दा सडक मार्गको तुलनामा लागत कम, सुरक्षा बढी र ढुवानी अवधि करिब २४ घण्टामै सीमित हुने भएकाले आयात प्रक्रिया थप सहज हुनेछ ।

कार्गो रेल सेवा सञ्चालन भएपछि बन्दरगाहमा कन्टेनर रोकिँदा लाग्ने डिटेन्सन शुल्क, बिलम्ब शुल्क तथा सडक ढुवानीको अतिरिक्त खर्च घट्ने अपेक्षा गरिएको छ ।

साथै, समग्र व्यापार पारवहन लागत कम भई नेपाली उद्योगहरूको प्रतिस्पर्धात्मक क्षमता वृद्धि हुनुका साथै पूर्वी नेपालको औद्योगिक तथा व्यापारिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीको विश्वास छ ।

कार्गो रेलमार्फत कोलकाता वन्दरगाहदेखि विराटनगर नाकासम्म लाग्ने ढुवानीखर्च जोगिनेछ । उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले भने कार्गो रेल मार्फत कोलकाताबाट एक कन्टेनर औधोगिक कच्चा पदार्थ विराटनगर ल्याउँदा झण्डै ३५ प्रतिशत ढुवानी खर्च बचत हुन्छ ।