नागढुंगा सुरुङमार्गमा ‘नागढुंगा टनेल फन रन एण्ड वाक’ आयोजना

126
Shares

काठमाडौं । सञ्चालनको तयारीमा रहेको नागढुंगा सुरुङमार्गमा आज विशेष उत्साहका साथ ‘नागढुंगा टनेल फन रन एण्ड वाक’ कार्यक्रम सम्पन्न भएको छ।

काठमाडौंको बलम्बु र धादिङको सिस्नेखोलालाई जोड्ने यो बहुप्रतिक्षित सुरुङमार्ग निर्माण सम्पन्न भएको झन्डै एक वर्षपछि आगामी साउन ११ गतेदेखि परीक्षणका रूपमा खुल्ला गरिँदैछ।

सोही अवसरलाई लक्षित गर्दै आज बिहान सुरुङभित्र दौड तथा पैदल यात्राको आयोजना गरिएको हो।

विभिन्न प्राविधिक जटिलता र व्यवस्थापकीय तयारीका कारण यसअघि सञ्चालनमा केही ढिलाइ भए तापनि अब भने यसलाई चरणबद्ध रूपमा सञ्चालनमा ल्याउन सडक विभाग र जाइकाले आवश्यक तयारी पूरा गरेका छन्।

आजको उद्घाटन कार्यक्रममा नेपालका लागि जाइका (जापान अन्तर्राष्ट्रिय सहयोग नियोग) का प्रतिनिधिहरूको समेत उत्साहजनक सहभागिता रहेको थियो। यस कार्यक्रमले सुरुङमार्ग अब सञ्चालनका लागि पूर्ण रूपमा तयार रहेको सन्देश दिएको छ।

सुरुवाती चरणमा यो सुरुङमार्गलाई परीक्षणका रूपमा मात्र प्रयोग गरिनेछ भने पूर्ण रूपमा व्यावसायिक रूपमा सञ्चालन हुन अझै दुईदेखि तीन महिनाको समय लाग्ने देखिएको छ।

परीक्षण अवधिभर सुरुङ प्रयोग गर्ने सवारी साधनहरूले कुनै पनि शुल्क तिर्नुपर्ने छैन, तर व्यावसायिक रूपमा सञ्चालन सुरु भएपछि भने सरकारले तोकेको निश्चित दस्तुर लागू हुने व्यवस्था गरिएको छ।

यो सुरुङमार्ग सञ्चालनमा आएसँगै नागढुंगा क्षेत्रमा हुने घण्टौँ लामो सवारी जामबाट यात्रुहरूले मुक्ति पाउने अपेक्षा गरिएको छ।

हाल बलम्बुदेखि सिस्नेखोलासम्मको ७.५ किलोमिटर लामो घुमाउरो सडक दूरी अब सुरुङमार्गको प्रयोगपछि करिब ५ किलोमिटरमा सीमित हुनेछ। यसबाट यात्राको समय झन्डै आधाले घट्ने र इन्धनको समेत बचत हुने विश्वास लिइएको छ।

सुरुङभित्रको यात्रालाई सुरक्षित र व्यवस्थित बनाउन अक्सिजन आपूर्ति, अग्नि नियन्त्रण प्रणाली, चौबीसै घण्टा सुरक्षा निगरानी, सञ्चार सुविधा र आधुनिक विद्युतीय प्रणालीको व्यवस्थापन भइसकेको छ।

नेपालकै पहिलो सडक सुरुङमार्ग भएकाले यसको सञ्चालनका लागि आवश्यक कानुनी कार्यविधि र प्राविधिक तयारी मिलाउन केही बढी समय लागेको सडक विभागले स्पष्ट पारेको छ।