नेपाल बाहेक यी देशमा पनि मनाइन्छ दसैं, इरानमा किन राख्छन् जमरा ?
काठमाडौं । यसवर्षको दसैं टीका आज । आज मान्यजनको हातबाट नवदुर्गाको टीका र प्रसाद ग्रहण गर्ने गरिन्छ । नवरात्रिभर देवीका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी गरिएको पूजाको प्रसाद आज ग्रहण गर्ने धार्मिक मा्नयता छ । महाकाली शक्तिको, महालक्ष्मी धनधान्य र ऐश्वर्यको एवम् महासरस्वती विद्या तथा बुद्धिको प्रतीकका रुपमा पूजाआजा एवं आराधना गर्ने परम्परा छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।
दसैंलाई शक्तिको उपासनासहित पारिवारिक भेटघाट, मनोरञ्जन, लामो बिदा र टाढा रहेका परिवारका सदस्यहरुसँग भेटघाट, मिठो खाने, नयाँ लुगा लगाउने, पीङ खेल्ने आदिको रुपमा लिइने गरिएको छ ।
यति मात्रै होइन दसैं लगायत चाडपर्वमा आर्थिक गतिविधि पनि धेरै हुनेगर्छ । दसैंमा आफूभन्दा ठूलाबाट लिने आर्शीवाद तथा शुभेच्छा लिने गरिन्छ ।
दसैं नेपाल भर र नेपाली रहेका स्थानमा मनाइने गरिए पनि ठाउँ अनुसार फरक रहेको पाइन्छ । हिन्दूधर्मावलम्बी बाहेकले पनि कतिपय स्थानमा दसैं मनाउने गरेका छन् ।
नेपाल भित्रै पनि पूर्वमा दशमीको दिनदेखि कोजाग्रत पूर्णीमासम्म नै टिका जमरा लगाउने चलन छ । तर पश्चिममा अधिकांशले दशमीको दिनमात्र टिका लगाउँछन् ।
समुदायअनुसार पूजा र खानपानमा पनि धेरै फरक छ । शक्ति उपासकहरुले नेपालबाहेक भारत, बङ्गलादेश, बर्मा, मलेसिया लगायत थुप्रै मुलुकमा पनि भिन्न स्वरुपमा दसैं मनाउँछन् ।
पछिल्लो समय विश्वका विभिन्न देशमा नेपालीको बसोबास वृद्धि भएसँगै दसैंले व्यापकता पाएको छ ।
कुन देशमा कसरी मनाइन्छ दसैं
भारत
काश्मीरः नौ दिनसम्म उपवास
नवरात्री पर्वको रूपमा भारतको काश्मीर क्षेत्रका रहेका हिन्दू धर्मावलम्बीहरूले द
शैं मनाउँछन् । परिवारका सबै सदस्यले नौ दिनसम्म पानी मात्र खाएर उपवास बस्ने गर्दछन् । हरेक दिन भवानी देवीको पूजा गरिन्छ ।
तामिलनाडुः लक्ष्मी, सरस्वती र दुर्गाको पूजा
भारतको तामिल नाडु, कर्नाटक, आन्ध्र प्रदेशमा दसैंलाई दशहराको रुपमा नौ दिनसम्म मनाइन्छ । उनीहरूले नौ दिन मध्ये तीन–तीन दिन छुट्टा–छुट्टै देवीको पूजा गर्छन् । सुरुको ३ दिन लक्ष्मी, त्यसपछी ३ दिन सरस्वती र बाँकी ३ दिन दुर्गाको पूजा गर्ने प्रचलन रहेको छ ।
गुजरातः नौ दिन गर्बा नाच
भारतको गुजरात क्षेत्रमा दसैं नवरात्रीको नामले परिचित छ । त्यहाँ नौ दिनसम्म हरेक रात गर्बा नाच्ने गरिन्छ । महिला पुरुष सँगै नाचिने यो नाँचमा अत्यन्तै आकर्षक पहिरनको प्रयोग हुन्छ । दुर्गाको मुर्ति, तस्वीर छेउमा राखी दिप प्रज्वलन गरी नाच्ने प्रचलन रहेको छ ।
उत्तर भारतः रामलिला
भारतको उत्तरप्रदेश, बिहार, उत्तराखण्ड र मध्य प्रदेशमा दसैं धुमधामसँग मनाउने गरिन्छ । त्यहाँ दसैंको समयमा दुर्गा मातालाई भन्दा भगवान रामको बढी चर्चा हुन्छ ।
नौ दिनसम्म तुलसीदासले लेखेको राम चरित्रमानसमा आधारित भएर राम लिलाको प्रर्दशन गर्ने प्रचलन रहेको छ । बिहारको सितामाडीको जनावर, हस्तकलाका सामान र घरयासी सामानको किनमेल धेरै हुने गरेको छ । यसलाई मेलाको रुपमा लिने गरिन्छ ।
हिमाञ्चलः विशाल धार्मिक यात्रा, रघुनाथको पूजा
भारतको हिमाञ्चल प्रदेशमा दुर्गाको मात्रै नभएर स्थानी देवता रघुनाथको पनि पूजा गर्ने प्रचलन रहेको छ । त्यहाँ हजारौं सहभागी भएर झकिझकाउ पारेका देवताका मुर्ति बोकेर यात्रा गर्ने प्रचलन रहेको छ । यात्रामा नाँच गान गरेर रमाइलो गर्ने परम्परा रहेको छ ।
महाराष्ट्रः सरस्वती पूजा
महाराष्ट्र क्षेत्रमा दसैंको नौ दिन दुर्गाको पूजा गरिन्छ भने दशौं दिन सरस्वती पूजा गर्ने प्रचलन रहेको छ । यो दिन स्कुल पढ्ने विद्यार्थीले सरस्वतीको आर्शिवाद माग्दै पूजा गर्ने प्रचलन रहेको छ । नयाँ घर किन्न, घर प्रवेश गर्न र बिहा वारिधिका लागि पनि यो दिनलाई निकै उपयुक्त मान्ने प्रचलन रहेको छ ।
बंगलादेश र पश्चिम बंगालमा ५ दिन मात्र
बंगलादेशमा हिन्दूहरूले पाँच दिन दसैं मनाउँछ्न् । राजधानी ढाका लगायतका ठाउँमा देवी दुर्गाको विशाल मन्डप बनाइन्छ । अन्तिम मन्डप दिन नदीमा लगेर विसर्जन गर्ने चलन छ ।
दसहराको नाममा पश्चिम बंगालमा ५ दिन मात्र दसैं मनाइन्छ । ठाउँ–ठाउँमा दुर्गा भगवतीका भव्य र आकर्षक मुर्ति निर्माण गरिन्छ । मिठाई र मिठा–मिठा परिकार खाने प्रचलन रहेको छ ।
इरानमा पनि राखिन्छ जमरा !
नेपालमा दसैंका लागि घटस्थापनाको दिन जमरा राख्ने गरिन्छ । धान, जौं, गहुँ, मकै लगायतका बिज छरेर उम्रिएको जमरालाई दशमीको दिन मान्यजनले लगाइदिने विशेष पर्व दसैं हो । दसैंमा जमराको विशेष महत्व हुन्छ ।
नेपालमा मात्र होइन इरानमा पनि जमरा राखिन्छ । नौरोज भनिने नेपाली जमराजस्तै इरानी जमरालाई पनि नौ दिन राखेर तयार गरिन्छ र दशौं दिन त्यसलाई टेबलमा सजाएर राख्ने प्रचलन रहेको छ । नेपालमा जस्तो जमरा लगाउने भन्दा पनि त्यसलाई टेबलमा सजाएर राख्ने प्रचलन रहेको छ र त्यस दिन आफन्तका नाममा मैनवत्ती बाल्ने प्रचलन रहेको हुन्छ ।
घटस्थापना देखि कोजाग्रत पूर्णिमासम्म नेपालमा दसैं मानिन्छ भने नौरोज १३ दिनको हुन्छ । पूर्णिमामा जमरालाई नदीमा सेलाएको जस्तै इरानी जमरा पनि १३ दिनको दिन नजिकको नदीमा लगेर सेलाउने प्रचलन रहेको छ ।
तर इरानी जमरा राख्ने समय त्यहाँको नयाँ वर्षको अवसरमा हुने गरेको छ ।
नौरोजलाई संयुक्त राष्ट्रसङ्घको शिक्षा, विज्ञान तथा संस्कृति सङ्गठन युनेस्कोले विश्व सम्पदा सूचीमा राखेको छ । यो चाड इरानसहित युरेशियन र मध्य एशियाली देशहरूमा पनि मनाइन्छ । दक्षिण एशियाका अफगानिस्तान, पाकिस्तान, भारत र बंगलादेशका केही स्थानमा नौरोज मनाइने युनेस्कोको वेबसाइटमा उल्लेख गरिएको छ ।