नेपालमा आईफोन १५ सिरिजका मोबाइल शुक्रबारदेखि उपलब्ध, कसको कति मूल्य?



काठमाडौं । नेपाली बजारमा आईफोन १५ सिरिज भित्रिएको छ । सेप्टेम्बर २२ बाट अन्तर्राष्ट्रय बजारमा सार्वजनिक रुपमा बिक्री सुरु भएको आईफोन १५ सिरिजको विभिन्न मोडल शुक्रबारदेखि नेपाली बजारमा पनि उपलब्ध भएको हो ।

जेनेरेसन नेक्स्ट कम्युनिकेसन प्रालिले आईफोनको उत्पादन भित्र्याएको हो । नेपालमा आईफोन १५ को विभिन्न १३ मोडल खरिद गर्न सकिनेछ ।

एप्पलले विभिन्न स्टोरेज क्षमतामा आईफोन १५ को आईफोन १५, आईफोन १५ प्लस, आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्स सार्वजनिक गरेको थियो ।

नेपाली बजारमा १२८ जीबीको आईफोन १५ को मूल्य एक लाख ५७ हजार पाँच सय रूपैयाँ तोकिएको छ । २५६ जीबीको आईफोन १५ को मूल्य एक लाख ७६ हजार पाँच सय रूपैयाँ र ५१२ जीबीको दुई लाख १४ हजार पाँच सय रूपैयाँ तोकिएको छ।

आईफोन १५ प्लसको १२८ जीबीको एक लाख ७६ हजार पाँच सय रूपैयाँ, २५६ जीबीसहितको आईफोन १५ प्लसको एक लाख ९५ हजार पाँच सय रूपैयाँ र ५१२ जीबीको आईफोन १५ प्लसको मूल्य दुई लाख ३३ हजार पाँच सय रूपैयाँ तोकिएको छ।

आईफोन १५ प्रो अन्तर्गत १२८ जीबीको मूल्य एक लाख ९५ हजार पाँच सय रूपैयाँ, २५६ जीबीको मूल्य दुई लाख १४ हजार पाँच सय रूपैयाँ, ५१२ जीबीको दुई लाख ५३ हजार र एक टीबी क्षमताको आईफोन १५ प्रोको मूल्य दुई लाख ९० हजार पाँच सय रूपैयाँ तोकिएको छ ।

आईफोन १५ प्रो म्याक्स पनि तीनवटा स्टोरेज क्षमतामा उपलब्ध छ । २५६ जीबी क्षमता भएको आईफोन १५ प्रो म्याक्सको मूल्य दुई लाख ३३ हजार पाँच सय रूपैयाँ तोकिएको छ ।

५१२ जीबीको आईफोन १५ प्रो म्याक्सको बजार मूल्य दुई लाख ७१ हजार पाँच सय रूपैयाँ र एक टीबी क्षमता भएको आईफोन १५ प्रो म्याक्सको मूल्य तीन लाख ९ हजार पाँच सय रूपैयाँसम्म तोकिएको छ।

आईफोन १५ को विभिन्न मोडलमध्ये सबैभन्दा सस्तो १२८ जीबी क्षमताको आईफोन १५ हो । जसको मूल्य एक लाख ५७ हजार पाँच सय रूपैयाँ तोकिएको छ । सबैभन्दा महँगो भने एक टीबी क्षमताको आईफोन १५ प्रो म्याक्स हो । जसको मूल्य तीन लाख ९ हजार पाँच सय रूपैयाँ तोकिएको छ ।

आईफोन १५ को कुनै पनि मोडल ग्लोबल आईएमई बैंक, इनभेस्टमेन्ट मेगा बैंक र हिमालयन बैंकबाट शून्य डाउनपेमेन्टमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ । ब्याजदर भने बैंकले तोकेअनुसार हुनेछ ।


क्लिकमान्डु