जेलमा अर्बपति व्यवसायी इच्छाराजका तीन वर्ष: बचतकर्ताले कहिले फिर्ता पाउलान् पैसा ?



फाइल तस्बिर

काठमाडौं । अर्बपति व्यवासायी इच्छाराज तामाङ सहकारीबाट बचतकर्तालाई ठगी गरेका कारण पक्राउ परेको तीन वर्ष पूरा भएको छ । तर, बचतकर्ता भने अझै सडकमा छन् ।

सिभिल सेभिङ एण्ड क्रेडिट को-अपरेटिभका संस्थापक अध्यक्ष इच्छाराज तामाङले करिब १ हजार ५०२ जना बचतकर्ताको ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३९७ रुपैयाँ ८२ पैसा ठगेर विदेश भाग्ने अन्तिम तयारीमा रहेको बेला नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २०७८ असोज १८ गते साँझ पक्राउ गर्‍यो । उनी पक्राउ परेर जेल पुगेको तीन वर्ष पूरा भएको छ।

असोज १८ गते पक्राउ परेका तामाङ विरुद्ध २०७८ मंसिर १७ गते सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गर्‍यो ।

बचतकर्ता ठगेको भन्दै सरकारी वकिलको कार्यालयले ७ वर्ष कैद र ७० हजार रुपैयाँ जरिवाना तथा बालबालिका, होस ठेगाना नरहने व्यक्ति, असहाय, निरक्षर वा ७५ वर्षभन्दा माथिका व्यक्तिलाई ठगी गरेमा हुने थप एक वर्षसम्म कैद सजाय गरी ८ वर्ष कैद सजायको माग गरेको थियो ।

उक्त समयमा विभिन्न १ हजार ५०२ जना व्यक्तिबाट प्राप्त उजुरीका आधारमा ५ अर्ब ६७ करोड रुपैयाँभन्दा बढी क्षतिपूर्ती समेत माग गरिएको थियो । तर, तामाङले करिब १६ सय भन्दा बढी बचतकर्ताको ८ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ बढी बचत अपचलन गरेको आरोप छ ।

सीआईबीले अनुसन्धानको क्रममा तामाङसँग करिब १२ अर्बभन्दा बढीको चल अचल सम्पत्ति रहेको फेला पारेको छ । तत्कालीन समयमा सीआईबीले अनुसन्धान गर्दा तामाङले नियत खराब नराख्नेको भए र बचतकर्ताको रकम फिर्ता गर्न चाहेको हो भने पुग्ने सम्पत्ति रहेको देखाएको थियो ।

तत्कालीन समयमा सीआईबीले अनुसन्धान गर्दा तामाङसँग सिभिल बैंकमा संस्थापक सेयर, अन्य कम्पनीमा पनि सेयर, विभिन्न कम्पनी, सिभिल सहकारीको टेकुको भवन, सीटीसी मल, धापाखेल र गोदावरीमा हाउजिङ, कीर्तिपुरको ट्याङलाफाँटमा १२ रोपनी जग्गामा घर लगायत सम्पत्ति देखिएको थियो ।

साथै उनको श्रीमती सिर्जना शाक्यको नाममा ४५ रोपनी जग्गा समेत देखिएको थियो । उक्त जग्गामा तामाङका साथै अन्य व्यक्तिको पनि लगानी रहेको हुनसक्ने अनुमान पनि थियो । तर तामाङ श्रीमती शाक्यसँग मानो छुट्याएर बसेका थिए ।
बचतकर्ता ठगेर अकुत कमाएका तामाङले पक्राउ परेपछि सरकारी वकिलको कार्यालयमा बयान दिँदै बचतकर्तालाई बचत फिर्ता गर्नु आफ्नो दायित्व नभएको बताएका थिए ।

आफू स्थापनाकालदेखि २०६७ सम्म सञ्चालक समितको अध्यक्ष भएको र त्यसपछि २०७३ सालसम्म संस्थापक सल्लाहकारका रुपमा काम गरेको तथा २०६७ सालदेखि सञ्चालक समितिको अध्यक्ष केशवलाल श्रेष्ठ भएकाले आफूले बचतकर्ताको पैसा तिर्न नपर्ने तर्क उनको थियो ।

उनको पहिलो वर्षको दसैं जेलमा नै बित्यो । दोस्रो वर्षको दसैंअघि उनले जेलबाट बाहिर बसेर मुद्दा लड्नका लागि न्यायाधीशलाई घुस दिन खोजेको अडियो सार्वजनिक भयो । उनले न्यायाधीशलाई २ करोड घुस दिन अन्य व्यक्तिलाई प्रयोग गरेकोबारेको अडियो सार्वजनिक भएको थियो ।

नेपालको इतिहासमा यति लामो समय व्यवसायीले जेल जीवन भुक्तान गरेको तथ्य छैन । यो अवधिमा उनी जेल मात्रै पुगेनन् । उनी जेल नपुग्दै लिएको कर्जाको साँवा ब्याज भुक्तानी गर्न नसक्दा उनको धितो समेत लिलामी हुने अवस्थामा पुग्यो ।
कर्मचारी सञ्चय कोषले तामाङलाई सीटीसी मल धितो राखेर दिएको ऋणको साँवा ब्याज भुक्तानी नगरेपछि धितो लिलामी गर्ने स्थितीमा पुगेको थियो ।

तामाङले तत्कालीन समयमा सिभिल स्टेट्स प्रालिको नाममा कोषबाट ऋण लिएका थिए ।

कोषले २०७९ वैशाख तेस्रो साता सुन्धारास्थित सीटीसी मलको १३२ वटा पसल कवलहरु लिलाम गर्नका लागि सिलबन्दी बोलपत्र आह्वान गरिसकेको थियो ।

त्यति मात्रै होइन तामाङसहित सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठको प्रभु बैंकबाट लिएको कर्जा नतिरेको भन्दै बैंकले २०८० असार तेस्रो साता धितो लिलामी गर्यो ।

इच्छाराज तामाङ र केशवलाल श्रेष्ठ सञ्चालक रहेको सिभिल फर्निचर एन्ड ट्रेडिङ कम्पनी प्रालिको नाममा बैंकमा धितोमा रहेको हुन्डाइको गाडी तथा महिन्द्रा एन्ड महिन्द्राको गाडी पनि लिलाम गर्यो ।

यस्तै, तामाङले तत्कालीन समयमा सेञ्चुरी बैंकबाट लिएको कर्जा नतिरेको भन्दै प्रभु बैंकले २०८० जेठ पहिलो साता तामाङको हाउजिङ लिलामीमा राख्यो । तामाङले बैंकबाट लिएको कर्जाको किस्ता (साँवा, व्याज) भुक्तानी नगरेको भन्दै बैंकले कोट्से भैरव हाउजिङ एण्ड डेभलपर्स प्रालिका घरहरु पनि लिलामीमा राख्यो ।

कोट्सेको सेयरधनी तथा संस्थागत जमानकर्तामा सिभिल होम्स प्रालि पनि रहेको छ । बैंकले काठमाडौंको डाँडापौवा (रामकोट) मा बनेको १९ वटा घर लिलामीको प्रक्रिया अगाडि बढाएको थियो । उक्त घरहरु २ आनादेखि ९ आनासम्म बनेका छन् ।
कम्पनीले बैंकबाट ऋण लिई सवारी साधन खरिद गरेको थियो । खरिद गरेको सवारी साधन तत्कालीन सिभिल बैंकको नाममा ल्याएर इच्छाराजकै कम्पनी सदस्यहरुले चलाइरहेका थिए । सोही सवारी साधन पनि बैंकले बुझाउन लगायो ।

बैंकको नाममा रहेको टाटा नेक्सन योद्धा, ब्याकहो लोडर, हुन्डाइ १२० एक्टिभ, र महिन्द्रा एण्ड महिन्द्राको गाडी फिर्ता बुझाउन प्रभु बैंकले भनेको थियो । सो सवारी साधनहरु विभिन्न कम्पनीको नाममा खरिद गरिएका थिए । टाटा नेक्सन र जेसीबी ब्याकहो लोडर कोट्से हाउजिङको नाममा खरिद भएको थियो भने हुन्डाइ १२० एक्टिभ महिन्द्राको गाडी सिभिल फर्निचर एण्ड ट्रेडिङ्ग कम्पनीको नाममा खरिद गरिएको थियो ।

यता तामाङ बचतकर्ताको बचत ठगेर जेल जीवन बिताइराखेका छन् तर, बचतकर्ताहरु अझै पनि बचत फिर्ता नपाएर तड्पिइरहेका छन् । उनीहरु बेला बेलामा बचत फिर्ता गरिपाउँ भन्दै आन्दोलनमा उत्रन्छन् ।

केही समय अघि पनि बचतकर्ताहरुले करिब डेढ महिना आन्दोलन गरे । तर उनीहरुले तामाङबाट कहिले बचत फिर्ता पाउने हो भन्ने अन्यौलता भने कायमै छ।


क्लिकमान्डु