किसानलाई दुधको भुक्तानी तत्कालै देऊः सांसद सिंह
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपककुमार सिंहले दुग्ध विकास संस्थान (डीडीसी) र निजी क्षेत्रले किसानलाई दुधबापतको बक्यौता रकम उपलब्ध नगराएको बताएका छन् ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद सिंहले डीडीसी र निजी क्षेत्रका डेरी उद्योगले दसैंको मुखमा किसानबाट दुध खरिद गरी हालसम्म रकम भुक्तानी नगरेको बताए । रकम भुक्तानी नहुँदा किसानको रुवाबासी भएको भन्दै सांसद सिंहले दुध खरिद गरेबापत गर्नुपर्ने भुक्तानीका लागि तत्काल आवश्यक कदम चाल्न सरकारसँग माग गरे ।
‘डीडीसीले ५५ करोडभन्दा बढी र निजी क्षेत्रले २ अर्ब ५० करोडभन्दा बढी रकम दुध खरिद गरेबापत किसानलाई भुक्तानी दिएको छैन,’ उनले भने, ‘चाडपर्वको मुखमा किसानको बिचल्ली हुन नदिन चाँडोभन्दा चाँडो भुक्तानी उपलब्ध गराउन सरकारसँग माग गर्छु ।’
डीडीसी र निजी डेरी उद्योगले जेठदेखि किसानसँग उधारोमा दुध खरिद गर्दै आएका छन् । एकातिर किसानबाट खरिद गरेको दुधको भुक्तानी उपलब्ध गराएका छैनन् भने अर्कोतिर अघोषित मिल्क होलिडे लागू गरेर किसानलाई चाडपर्वको मुखमा सडकमा आउन बाध्य बनाएका छन् ।
सरकारी स्वामित्वको डीडीसी र निजी डेरीले असोज १५ सम्ममा दुध किसानलाई करिब ६ अर्बको हाराहारी भुक्तानी गर्न बाँकी छ ।
यसमध्ये डीडीसीले मात्रै जेठदेखि असोज १५ सम्मको अवधिमा खरिद गरेको दूधबापतको ६२ करोड २४ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ भने करिब ५ अर्ब ३७ करोड ७६ लाख रुपैयाँ साना-ठूला निजी डेरी उद्योगले भुक्तानी गर्न बाँकी छ ।
क्लिकमान्डुले बुधबार ‘चाडपर्वको मुखमा दुध किसानको रुवाबासी: डीडीसीले साढे ६२ करोड र निजीले ५ अर्ब ३७ करोड भुक्तानी गर्न बाँकी’ शीर्षकमा समाचार सम्प्रेषण गरेको थियो ।