चाडपर्वको मुखमा दुध किसानको रुवाबासी: डीडीसीले साढे ६२ करोड र निजीले ५ अर्ब ३७ करोड भुक्तानी गर्न बाँकी



काठमाडौं । चाडपर्वको मुखमा दुध किसानको रुवाबासी चलेको छ । सरकारको शतप्रतिशत लगानी रहेको दुग्ध विकास संस्थान (डीडीसी) सहित निजी क्षेत्रका डेरी उद्योगले पछिल्लो ४ महिनादेखि दुध खरिद गरेवापत किसानलाई रकम भुक्तानी नगरेका कारण चाडपर्व अगाडि उनीहरुको रुवाबासी भएको हो ।

डीडीसी र निजी डेरी उद्योगले पछिल्लो जेठदेखि किसानसँग उधारोमा दुध खरिद गर्दै आएका छन् । एकातिर किसानबाट खरिद गरेको दुधको भुक्तानी उपलब्ध गराएका छैनन् भने अर्कोतिर अघोषित मिल्क होलिडे लागू गरेर किसनलाई चाडपर्वको मुखमा सडकमा आउन बाध्य बनाएका छन् ।

दुध बिक्री गरेको रकम भुक्तानी नहुँदा किसानको घर व्यवहार बिग्रनुका साथै बालबालिकाको पढाइसमेत प्रभावित भएको छ । गाईभैंसीका लागि दाना, चोकर, पीना, औषधी खरिद गर्न र बैंकबाट लिइएको ऋणको व्याजसमेत तिर्न उनीहरुले पाएका छैनन्।

‘दुध बिक्री गरेका किसानले ४ महिनादेखि भुक्तानी नपाएपछि कसरी घर व्यवहार चलाएका होलान् र गाईभैसी पालेका होलान्,’ केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडका महासचिव राम आचार्यले क्लिकमान्डुलाई भने, ‘दुध वापतको रकम भुक्तानी नहुँदा ६४ जिल्लाका किसानको अहिले रुवाबासी चलेको छ ।’

उनकाअनुसार भुक्तानी उपलब्ध गराइदिनका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालय, दुग्ध विकास संस्थान (डीडीसी), राष्ट्रिय दुग्ध विकास बोर्ड र निजी डेरीमा दर्जनौं पटक धाए पनि किसानको समस्या समाधान गर्न कसैले चासो दिएका छैनन् ।

‘सरोकारवाला निकायमा धाउँदा धाउँदै हामी थाकिसक्यौं, तर भुक्तानीको सवालमा मन्त्रालयदेखि खरिद गर्ने निकायसम्मले कुनै चासो दिएनन्,’ आचार्यले भने, ‘अबको एक साताभित्र भुक्तानी भएन भने चाडपर्वको मुखमा हामी पीडित किसानसहित राजधानी केन्द्रित आन्दोलन गर्नुको विकल्प छैन ।’

सरकारी स्वामित्वको डीडीसीसमेतले किसानलाई ठगेर अहिलेसम्म उधारोमा दुध खरिद गर्दैआएको संघले जनाएको छ । आचार्यका अनुसार सरकारी स्वामित्वको डीडीसी र निजी डेरीले असोज १५ गतेसम्ममा करिब ६ अर्बको हाराहारीमा दुध खरिद गरेवापत किसानलाई भुक्तानी गर्न बाँकी छ ।

यसमध्ये डीडीसीले मात्रै गत जेठदेखि असोज १५ गतेसम्मको अवधीमा खरिद गरेको दुध वापतको ६२ करोड २४ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको आचार्यले जानकारी दिए । करिब ५ अर्ब ३७ करोड ७६ लाख रुपैयाँ साना ठूला डेरी उद्योगले भुक्तानी गर्न बाँकी छ, उनले भने ।

स्रोतका अनुसार डीडीसीले सहकारीमार्फत दैनिक १ लाख लिटर दुध खरिद गर्र्दै आएको छ । यो वापत किसानलाई दुधको मात्रै दैनिक ७२ लाख रुपैयाँ भुक्तानी गर्नुपर्छ ।

नियमअनुसार १ गतेदेखि १५ गतेसम्मको भुक्तानी २५ गतेभित्र र १६ गतेदेखि ३० गतेसम्मको भुक्तानी अर्को महिनाको १० गतेभित्र दिनुपर्छ । नेपाल डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले दुधको बजार घटेकाले भुक्तानी गर्न समस्या भएको बताए । बजार घटेपनि दुध संकलन गर्न भने नछाडेको उनले दाबी गरे ।

‘किसानलाई भुक्तानी दिनका लागि हामीले सुलभ मूल्यमा ऋण उपलब्ध गराइदिन सरकारसँग माग गरेपनि हालसम्म सुनुवाई भएको छैन’ उनले भने ।

नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले भने एसोसिएसनमा आवद्ध निजी क्षेत्रका डेरीहरुले किसानको भुक्तानी बाँकी नराखेको दाबी गरे ।

डीडीसीका सूचना अधिकारी राजेन्द्र अधिकारीले दुध खरिद गरेवापत पछिल्लो ३ महिनाको किसानको ४० करोडभन्दा बढी रकम भुक्तानी गर्न बाँकी रहेको स्वीकारे ।

‘उत्पादन भएको विभिन्न उत्पादनहरुको बिक्री अवस्था निक्कै खस्किएर किसानलाई भुक्तानी गर्न नसकिएको हो,’ अधिकारीले क्लिकमान्डुलाई भने, ‘कुनै न कुनै वैकल्पिक व्यवस्था गरेर भुक्तानी उपलब्ध गराउने गृहकार्य गरिरहेका छौं ।’

किसानलाई भुक्तानी उपलब्ध गराउन बैंकबाट ऋण लिने, मन्त्रालयसँग अनुदान माग्ने र उत्पादन भएको तर बिक्री नभएर भण्डारण भएर बसेको मख्खन तथा घीउ बिक्रीलगायतका विषयमा आवश्यक छलफल भइरहेको उनले बताए ।

आर्थिक वर्ष२०७३/७४ देखि चरम घाटामा रहेको डीडीसीले पछिल्लो समयमा किसानको दुध वापतको भुक्तानी, भौतिक पूर्वाधार मर्मत सम्भार र कर्मचारीलाई उपदान उपलब्ध गराउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई १ अर्ब रुपैयाँ उपलब्ध गराइदिन प्रस्ताव गरेको छ । यसअघि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले २०७७ र २०७८ मा दुई पटकमा गरी डीडीसीलाई ३५ करोड रुपैयाँ अनुदानमा उपलब्ध गराएको थियो ।

डीडीसीको घाटा दर चुलिदैं गएर अहिलेसम्म १ अर्ब २५ करोडभन्दा बढि रुपैयाँ पुगिसकेको स्रोतले जनाएको छ ।

बोर्डले देशभर माग्यो भुक्तानी नपाएको तथ्यांक

राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद यादबले दुध बिक्री गरेवापत किसानले लामो समयदेखि भुक्तानी नपाएको स्वीकार गरे ।

‘चाडपर्व नजिक आइसक्दा पनि डीडीसीसहित निजी क्षेत्रका डेरी उद्योगले किसानलाई भुक्तानी गर्न ठूलो रकम बाँकी छ,’ यादबले भने, ‘किसानको समस्या समाधानका लागि गत शुक्रबार नै भुक्तानी पाउन नसकेका किसानको सम्पूर्ण तथ्याँक संकलन गरी उपलब्ध गराउन केन्द्रिय दुग्ध सहकारी संघ लिमिटेडलाई पत्राचार गरेका छौं ।’

बोर्डले निजी डेरी उद्योगहरुको दुई छाता सङ्गठन नेपाल डेरी उद्योग, नेपाल डेरी एसोसिएसन र डीडीसीलाई पत्राचार गरी किसानको बक्यौता रकम समयमा उपलब्ध गराइदिन आग्रह गरेको छ ।

संकलित विवरण प्राप्त भएको आधारमा सबै सरोकारवाला निकायसँग छलफल गरी आवश्यक प्रक्रिया अघि बढाउने तयारी भएको यादबले जानकारी दिए ।

बोर्डले दुधको भुक्तानी १५/१५ दिनमा गर्नुपर्नेमा हाल केही निजी दुग्ध उद्योग र दुग्ध विकास संस्थानले विगत ३ महिनाभन्दा बढी समयको भुक्तानी नगरेको बिषय जानकारी किसान र सहकारीबाट प्राप्त भएकाले उक्त बिषयमा यकिन विवरण उपलब्ध गराइदिन केन्द्रिय दुग्ध सहकारी संघलाई पत्र पठाएको हो ।

बोर्डले संघलाई किसानको लगत संकलनका लागि एउटा भुक्तानी विवरणसम्बन्धी फर्म तयार गरी पठाउन आग्रह गरेको छ । यो फर्ममा भुक्तानी पाउनुपर्ने सहकारी संघ-संस्थाको नाम, जिल्ला, सम्पर्क नम्बर, यो बर्षको दुधको संकलन विवरण (वैशाखदेखि भदौंसम्म), भुक्तानी पाउनु पर्ने किस्ता, भुक्तानी पाउनु पर्ने रकम र भुक्तानी दिनुपर्ने उद्योगको नाम ठेगानालगायतका विवरण भरेर उपलब्ध गराउन बोर्डले पत्राचार गरेको छ ।

यहि परिपत्रको आधारमा केन्द्रिय दुग्ध सहकारी संघले दुध संकलन हुने ६४ जिल्लामा पत्र पठाएर आवश्यक सम्पूर्ण विवरण संकलन गरी केन्द्रीय संघमा पठाइदिन आफ्ना आवद्ध सहकारीहरुलाई पनि आग्रह गरेको छ ।

दुध परिमाण कटौती गरी अघोषित ‘मिल्क होलिडे’

डीडीसीसहित निजी क्षेत्रले एकातिर किसानको ठूलो रकम बक्यौता राखेर किसानको रुवाबासी गराएका छन् भने अर्कोतर्फ बढि दुध उत्पादन हुने सिजनमै कम परिमाण खरिद गरि अघोषित ‘मिल्क होलिडे’ समेत गरेका छन् ।

‘चार महिनादेखि भुक्तानी नपाएका किसानको दुध पनि अहिले नउठाएर अर्को दुःख दिइएको छ,’ संघका अध्यक्ष अमरबहादुर कुँवरले क्लिकमान्डुलाई भने, ‘बढी दुध उत्पादन हुने सिजन असोजदेखि माघसम्म हो । यहि समयमा डीडीसी र निजी डेरी उद्योगले दुधको ठूलो परिमाण कटौती गरि खरिद गर्न थालेको छ । उनीहरुले अघोषित रुपमा मिल्क होलिडे गरेका छन् । यसले गर्दा अबको दिनमा अर्को समस्या निम्तन सक्छ ।’

अध्यक्ष कुँवरका अनुसार डीडीसी र निजी क्षेत्रका डेरी उद्योगहरुले दैनिक खरिद गर्ने कूल परिमाण मध्ये ३०/३० प्रतिशत कटौती गरेका छन् । यसबाहेक डीडीसीले मंगलबार नै दुध चिस्याउने केन्द्रहरुलाई (चिलिङ सेन्टर) पत्राचार गरी थप ५० प्रतिशत कम परिमाणमा दुध खरिद गर्न निर्देशन दिएको छ ।

दुध कम परिमाणमा खरिद गर्न लागेपछि दैनिक उत्पादन हुने ठूलो परिमाणको दुध खेर जाने सम्भावना बढेको छ । ‘यस्तै अवस्था रहिरह्यो भने आउँदो सातादेखि किसानले दुध फाल्नु पर्ने अवस्था आउन सक्छ,’ कुँवरले भने, ‘पहिलेको भुक्तानी पनि नदिने अनि खरिद गर्दै आएको दुधको परिमाणसमेत कटौती गरेपछि किसान सडकमा आउनुको विकल्प छैन । हेर्दै जाउ, यस्तै अवस्था कायम रहिरहे आगामी सातादेखि किसान सडकमा दुध पोख्न बाध्य हुन्छन् ।’


राजेश बर्मा