डीडीसीले किसानको ४५ करोड रकम भुक्तानी गरेन, विराटनगर आयोजनाबाटै रोकियो १० करोड



काठमाडौं । झापाको तुलसीबारीका काशी श्रेष्ठले संकलन गरेको दैनिक ३ सय लिटरभन्दा बढी दूध कनकाई नगरपालिकामा रहेको प्रशिक्षा दुध डेरीमा पुग्छ । उनले ८ वटा गाई पालेका छन् । आफ्नो ८० लिटरजति हुन्छ, किसानबाट दुई-अढाई सय लिटर संकलन गर्छन् ।

किसानबाट एक-दुई लिटरसम्म दुध संकलन गरेर प्रशिक्षा डेरीमा लैजाने गरेका उनले दुई महिनादेखि किसानलाई भुक्तानी गर्न सकेका छैनन् । कारण हो- प्रशिक्षाले उनलाई पैसा दिएको छैन ।

‘पैसा नपाउँदा धेरै नै समस्या भएको छ,’ श्रेष्ठ भन्छन्, ‘एक-दुई लिटर दुध बेचेर किसानले लघुवित्त र सहकारीको किस्ता तिरिरहेका हुन्छन्, नुन र तेल किनिरहेका हुन्छन्, दुई महिनादेखि पैसा रोकिँदा ठूलो दबाबमा छु, आफैं तिर्न सक्ने अवस्था छैन ।’ प्रशिक्षाबाट उनले करिब १० लाख पाउन बाँकी छ ।

कनकाई नगरपालिका सुरुंगाका लेखनाथ कोराइला दैनिक २ सय लिटर दुध संकलन गर्छन् । किसानबाट संकलन गरेको पैसा उनी १५-१५ दिनमा भुक्तानी गर्थे । तर, यसपटक दुई महिनादेखि दिन सकेका छैनन् ।

‘मैले दुध लगेर बुझाउने सुरुंगाको प्रशिक्षा डेरी र बिर्तामोडको सूर्योदय डेरीमा हो,’ कोइरालाले भने, ‘माथिबाट आएको छैन भनेर दुवै डेरीले पैसा दिएका छैनन् । धेरै समस्या भइसक्यो ।’ प्रशिक्षाबाट ९ लाख र सूर्योदयबाट ६ लाख रुपैयाँजति पाउन बाँकी रहेको उनले बताए ।

झापाकै विष्णु प्रसाईले दुईवटा गाई पालेकी छन् । उनी दैनिक ४-५ लिटर दुध बिक्री गर्छिन् । तर, दुई महिनादेखि उनले पनि पैसा पाएकी छैनन् । ‘आम्दानीको मुख्य माध्यम त्यही दुध हो,’ उनले भनिन्, ‘माथिबाट आएको छैन भन्नुहुन्छ, विगतमा कहिले पनि यस्तो भएको थिएन, अब के भन्ने ?’

झापाकै कोटीहोमस्थित विन्ध्यवासिनी गाई फार्मका सञ्चालक खगेन्द्र अधिकारी विराटनगर दुग्ध वितरण आयोजनालाई दैनिक ५ सय लिटरभन्दा बढी दूध बेच्छन् । ७० माउ गाई पालेका उनले पनि असार १५ देखि पैसा पाएका छैनन् । ‘काठमाडौंबाट पैसा आएको छैन भनेर दिएका छैनन्,’ उनले भने, ‘मेरो त डेढ महिनाको मात्र छ तर कतिपयले दुई महिनादेखि नै पाएको छैन पनि भन्नुहुन्छ, धेरै समस्या छ ।’

गाईवस्तुलाई खुवाउने दाना, पराल, भुसा सबै त्यही पैसाबाट किन्नुपर्ने भएकाले भुक्तानी रोकिँदा ठूलो समस्या परेको उनले बताए । १० वर्षदेखि गाईपालन गर्दै आएका उनी मासिक १२-१३ लाखको दुध बेच्छन् । ‘आयोजनाबाट मैले १५ लाखभन्दा बढी पाउन बाँकी छ,’ अधिकारीले क्लिकमान्डुसँग भने ।

प्रशिक्षा दुध डेरीका प्रोप्राइटर लक्ष्मी अधिकारीले डेरी सञ्चालन गरेको ८ वर्ष भयो । तर, यसपटक मात्र आयोजनाले पैसा यति ढिला गरेको हो । ‘मसँग ५ सयभन्दा बढी किसान आश्रित छन्,’ उनी भन्छन्, ‘पैसा रोकिँदा त्यति धेरै किसानको दबाब थेग्न निकै समस्या भइसक्यो ।’

उनीकहाँ दैनिक ३ हजार लिटर दूध संकलन हुन्छ । संकलित दूध केही मात्र स्थानीय स्तरमा खपत हुन्छ । ‘अधिकांश दुध आयोजनाले नै लैजान हो,’ उनले भने, ‘मेरो डेढ करोडभन्दा बढी पैसा रोकिँदा कसैलाई दिन सकेको छैन । किसानबाट दुध संकलन गरेर ल्याउनेहरुले पनि दैनिक दबाब दिने गरेका छन् ।’ ठूलो पैसा रोकिएकाले समस्या भएको उनले बताए ।

विराटनगर दुग्ध वितरण आयोजनाले किसानबाट दैनिक २५ हजार लिटर दुध संकलन गर्दै आएको छ । त्यसमध्ये ५-६ हजार लिटर दुध, दही, मोही, घिउ र पनिरका रुपमा खपत हुन्छ भने बाँकी धुलो दुध बनाएर बेच्ने गरेको आयोजनाले जनाएको छ ।

‘तर यसपटक किसानबाट यो समयमा पनि बढी नै दुध संकलन भएकाले भुक्तानी गर्न समस्या भएको छ,’ आयोजना प्रमुख परमेश्वर चौधरी भन्छन्, ‘यो सुक्खायाम हो, विगतमा यो समयमा ४-५ हजार लिटर मात्र संकलन हुन्थ्यो, अहिले २५ हजार लिटर भइरहेको छ, विगतकै धुलो दुध पनि मौज्दात छ, दुग्धजन्य पदार्थ बिक्री हुन नसक्दा भुक्तानीमा समस्या भएको हो । हामीले करिब १० करोड भुक्तानी गर्न बाँकी छ ।’

आयोजनाले ७ जिल्ला इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र सप्तरीबाट दुध संकलन गर्दै आएको छ ।

विराटनगर मात्र होइन, काठमाडौं, हेटौंडा, लुम्बिनी, जनकपुर, नेपालगन्ज र धनगढी दुध वितरण आयोजनाले पनि किसानको पैसा भुक्तानी गर्न सकेका छैनन् ।

दुग्ध विकास संस्थान (डीडीसी)का महाप्रबन्धक सञ्जीव झाका अनुसार किसानलाई करिब ४५ करोड भुक्तानी गर्न बाँकी छ । ‘कोभिड-१९ पश्चात खपत घटेकाले क्यास साइकल हुन पाएन र त्यसको असर अहिले देखिएको छ,’ उनले भने, ‘व्यापारमा ९ प्रतिशत गिरावट आएको छ, माग नै कम छ, व्यापार प्रभावित भएकाले भुक्तानी प्रभावित भएको हो ।’

संस्थानले दैनिक १ लाख ४० हजार लिटर दुध संकलन गर्दै आएको छ । त्यसमध्ये १ लाखदेखि १ लाख १० हजार लिटर दुध खपत हुन्छ भने बाँकी दुधको पाउडर बनाउने गरिएको छ । ‘अहिले पनि हामीसँग ५० करोडको त पाउडर नै मौज्दात छ,’ झाले भने, ‘माग सुस्त भएका कारण बजार चक्र खल्बलिँदा भुक्तानी गर्न नसकेका हौं ।’

डीडीसीले विगतमा पनि नियमित भुक्तानी गरिरहेको र अब पनि नियमित गर्ने उनले जानकारी गराए । तर, यति दिनभित्र भुक्तानी हुन्छ भनेनन् । ‘किसानलाई डीडीसीप्रति धेरै विश्वास छ, त्यही विश्वासका कारण उहाँहरुले धेरै दुध डीडीसीमा बेच्नुहुन्छ,’ उनले भने, ‘नियमित प्रक्रियाअनुसार नै दुधको पैसा भुक्तानी हुन्छ ।’


क्लिकमान्डु