सिंहदरबारले देख्दैन माइतीघर मण्डलाका सहकारीपीडित, बढ्दै निराशा, थपिँदै आक्रोश
काठमाडौं । मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार प्रवेश गर्ने मूल ढोकाबाट करिब ५ सय मिटरको दूरीमा छ ‘माइतीघर मण्डला’ । सिंहदरबारको दैलो अगाडिबाट मण्डलालाई फन्को लगाउँदै दैनिक प्रधानमन्त्री, मन्त्रीहरु र उच्चपदस्थ सरकारी कर्मचारी हिँड्ने गर्छन् ।
त्यही मण्डलाको दक्षिणतर्फको सडक-कुनामा सहकारीपीडित ३६ दिनदेखि धर्नामा छन् । सहकारीमा राखेको बचत फिर्ताको मागसहित धर्ना बसेका उनीहरु खानपिन त्यही सडकमा गर्छन्, त्यहीँ पाल टाँगेर सुत्छन् तर कुनै मन्त्री, प्रधानमन्त्री, विभागीय मन्त्री या सरोकारवाला निकायले आजसम्म त्यो धर्ना देखेको छैन ।
नेपालको संविधानले तीन खम्बे अर्थनीतिको अवधारणामा सहकारीलाई एक खम्बाको रुपमा चित्रण गरेको छ । तर, अहिले एउटा खम्बा ढल्न लागेको छ । खम्बाका केही चोइटा उछिट्टिइसकेका छन् । चोइटाले लागेर घाइते भएकाहरु सिंहदरबारको दैलोमै धर्नामा बसेका छन् । तर, ३६ दिनसम्म उनीहरुको पीडा कसैले देखेको छैन, सुनेको छैन ।
मण्डलामा २०-२५ हजार ठगिएकादेखि लाखौं, करोडौं ठगिएकाहरु धर्ना बसेका छन् । पीडित महिलाहरु दुधे बालक च्यापेर सडकमा निस्किएका छन् । वृद्धवृद्धाहरु लौरो टेकेर उभिएका भेटिन्छन् । सबैको माग एउटै छ- जीवनभर दु:खजिलो गरेर कमाएको पैसा सहकारी ठग्यो, उठाइदे न सरकार !’ अनुहारमा निराशा थपिँदै गएको छ तर सरकारलाई त्यसले छोएको छैन ।
सहकारीले ठगेका हजारौं पीडितमध्येकी एक हुन् थानकोटकी देवी श्रेष्ठ । उनी बसुन्धरामा रहेको उत्तम सहकारीबाट ठगिएकी हुन् । सहकारीले उनको करिब २२ लाख रुपैयाँ गठेको छ ।
उनका श्रीमान नेपाल आर्मीमा छन् । आर्मीमा हुँदा कमाएको पैसा, शान्ति सेनाबाट ल्याएको सबै पैसा सहकारीमा राखेको ६ महिनापछि संस्था भागेको श्रेष्ठले बताइन् ।
‘६ महिनाका लागि बचत गरेका थियौं,’ उनले भनिन्, ‘बचतको समय पूरा भयो, अब पैसा निकालौं र सानो घर बनाऔं भन्ने योजनाले सहकारीमा गएको संस्थाका सञ्चालक भाग्ने तर्खरमा रहेछन् । हामीले थाहा पाएनौँ । पटक-पटक पैसा लिन गयौँ । भोलि, पर्सि भन्दै टारे । पछि भागेछन् ।’
त्यसपछि पैसा उठाउन हारगुहार गर्दै दुधे बालक बोकेर उनी माइतीघर आइपुगिन् । पैसा फिर्ता गराइदिन माग गर्दै उनले बसुन्धरा प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । बचतको साँवा ब्याजसहित फिर्ता हुनुपर्ने उनको माग छ ।
उनी जस्तै सहकारीबाट ठगिएकी अर्की पात्र हुन्, रुपा बोहोरा । ज्ञानेश्वरमा किराना पसल चलाउँदै आएकी बोहोराले गेट वे सहकारी संस्थामा पैसा राख्ने गरेकी थिइन् । पुरानो बानेश्वरमा रहेको सहकारीका सञ्चालक भागेको १० महिना बित्दा पनि पाउने निश्चित नभएपछि उनी माइतीघरको धर्नामा आइपुगेकी हुन् ।
सहकारीका सञ्चालक हुन् निर्जन राई । राईले ३५० जनालाई ठगेर भागेका छन् । चार वर्षअघि खुलेको सहकारीमा बोहोराले किराना पसलमा भएको व्यापारअनुसार दैनिक बचत गर्दै आएकी थिइन् । बचत रकम २ लाखभन्दा बढी भएको थियो ।
सहकारीका सञ्चालक नै भागेपछि पसल बन्द गरेर उनी धर्नास्थलमा आइपुगेकी हुन् । ‘पैसा फिर्ता नपाएसम्म मण्डला छाड्दिन,’ उनले भनिन् । पैसा फिर्ता पाऊँ भनेर उनले सहकारी विभागमा पनि उजुरी दिएकी छन् ।
श्रेष्ठ, बोहोरा जस्तै सहकारीपीडित हुन्- बौद्ध आरुबारीका ७६ वर्षीय प्रेम छिरी शेर्पा । शेर्पालाई खरिबोटमा रहेको सुमो बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकले ठगेर भागेका रहेछन् । सहकारीबाट शेर्पा २४ लाखभन्दा बढी ठगिएका छन् ।
उनले आफ्नो मात्र नभएर अरुको पैसा पनि सहकारीमा राखिदिएका थिए । त्यसको बेग्लै चिन्ता थपिएको छ । ‘आफन्तले विश्वासमा राख्न दिएको पैसाले झन् पोल्दो रहेछ,’ उनले भने ।
सहकारीमा उनले पैसा राख्न थालेको ४ वर्ष भयो । शेर्पाले आफ्नो र श्रीमतीको नाममा पैसा राखेका थिए । ‘छोरीको होटल छ, होटलमा कमाएको पैसा पनि दैनिक राख्ने गरेका थियौं,’ लामो सुस्केरा तान्दै उनले भने, ‘भान्जा नुर्वु शेर्पा कतारमा थिए । उनले पठाएको पैसा पनि सहकारीमा राखेको थियो, सञ्चालक पैसा खाएर भागे । अब म के भनौँ भन्ने भएको छ ।’
सरकारले अनुमति दिएर सहकारी खुलेको र सरकारले नै बलियो नियमन नगर्दा सहकारी भागेकाले जनताको पैसा सरकारले उपलब्ध गराउनुपर्ने उनको माग छ । ‘म ७६ वर्ष पुगेँ, सबै पैसा सहकारीका मान्छेले खाएर भागे, अब मैले भान्जाको पैसा कसरी तिर्नु ?’ उनले पीडा सुनाए । ११ महिनादेखि भागेका सहकारीका सञ्चालकले बौद्धमा कम्प्लेक्स खोलेको र सञ्चालक आएर भाडा उठाएर जाने गरेको उनले बताए ।
‘सहकारीका सञ्चालक ज्ञानबहादुर लामाका २ वटी श्रीमती छन्,’ उनले भने, ‘लामाले सहकारीको पैसाले दुवै श्रीमतीका नाममा जग्गा किनेको रहेछ । अन्य बाहिरका व्यक्तिको नाममा पनि मधेसमा जग्गामा लगानी गरेको रहेछ ।’
सहकारीका सञ्चालक भागेपछि हारगुहार गर्दै उनी नगरपालिका पुगे । केही लागेन । बौद्ध प्रहरी कार्यालयमा पुगे । त्यहाँ जानु पनि बेकार भयो । त्यसपछि सहकारी विभागमा पुगे । विभागले पनि सहकारी बागमती प्रदेशअन्तर्गत पर्ने भएकाले हेटौंडा गएर उजुरी दिन सुझायो ।
‘हेटौंडामा रहेको प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयमा उजुरी दिएको छु,’ उनले भने, ‘१५ दिनमा पैसा पाइन्छ, सञ्चालकलाई पक्राउ गरेर भए पनि पैसा फिर्ता गराउँछौं भनेको थियो । अहिले फोन गर्दा कहिले मन्त्री छैनन्, कहिले नयाँ मन्त्री आएका छन् काम हुँदैछ भन्छन्, पैसा पाउने कहिले हो, कहिले हो ।’
उनका अनुसार सुमो बचत तथा ऋण सहकारी संस्थाले म्यानमारबाट आएका रोहिंगाहरुकाे समेत करिब ७० लाख ठगेकाे छ । रोहिंगाहरुले पनि सञ्चालकलाई खाेजिरहेको उनको भनाइ छ ।
कालिकोटबाट आएर काठमाडौंको डल्लु बस्ने रमेश रावल दिनभर गलैंचा बोकेर बिक्री गर्न हिँड्थे । व्यापारबाट कमाएको केही पैसा बचत गरौं, कमाउन नसकेको दिन काम लाग्छ भन्ने लाग्यो । सहकारीमा बचत पनि गर्न थाले । सहकारी थियो– न्युरोडको खुसी बचत तथा ऋण सहकारी संस्था ।
तर, खुसी सहकारी राखेको पैसाले उनलाई झन् ठूलो दु:खको सागरमा हालिदियो । घामपानी नभनी काँधमा गलैंचा बोकेर मान्छेका घरदैलामा पुगेको कमाएको पैसा खाएर सहकारीका सञ्चालक भागे ।
कालिमाटी, गोंगबु र चाबहिलमा शाखा रहेको सहकारीमा उनले पैसा राखेको डेढ वर्षदेखि हो । यो अवधिमा उनले ४ लाख ४५ हजार जम्मा गरेका थिए । ‘मैले घर-घरमा गलैंचा बेचेर र श्रीमतीले गल्ली-गल्लीमा डोकामा साग बेचेर कमाएको सबै पैसा सहकारीले कुम्ल्याएर भाग्यो,’ उनले भने । सहकारी भागेपछि राज्यले सुन्छ कि, पैसा फिर्ता पाइन्छ कि भन्ने आशामा उनी पनि धर्ना स्थलमा आएका हुन् ।
खुसी सहकारी भाग्दा जुम्ला र कालिकोटका मात्रै ३५ जनाजति ठगिएको उनले बताए । ‘पहिला सहकारीमा काम गर्ने नानीहरु कोठा-कोठामा आएर दाजु ग्राहक बनिदिनुपर्यो । हामी काठमाडौंमा पढ्न बसेका हौं, हजुरहरुले बचत गरिदिनुभयो भने हामीलाई पनि यहाँ बाँच्न सजिलो हुन्छ । हाम्रो सहकारीमा राखेको पैसा कतै पनि जाँदैन, ४ वटा शाखा छन् । दिनमा सय रुपैयाँ राखे पनि महिनामा ३ हजार हुन्छ । अनावश्यक खर्च कम हुन्छ । पछि केटाकेटीलाई पनि राम्रो हुन्छ भनेर फकाए,’ उनले भने, ‘होला त नि भनेर बचत गरेको । अहिले संस्था नै भाग्यो ।’
मण्डलामा धर्नामा बस्नेहरुको संख्या सुरुवाती चरणमा धेरै थियो । अहिले खिइँदै गएको देखिन्छ । तर, संख्या घट्नुको कारण निराशा र अनुपस्थिति होइन । घामपानी, हावा, जमिनको चिसो, सडकको तातो अनि खाना र निद्रा नमिल्दा धर्नामा बसेका धेरै बिरामी भएपछि संख्या घटेको हो ।
बिरामी भएकाहरु ठिक भएपछि फेरि फर्किने गरेका छन् । केहीमा निराश भएर आउन छाडे पनि होला तर जति आइरहेका छन्, ती पैसा नपाई घर फर्किने मनस्थितिमा छैनन् । प्रधानमन्त्री, मन्त्री र अन्य सरोकारवालाप्रति आक्रोश बढ्दै गएको छ । कतिपय विरक्तिँदै गएका छन् । भन्छन्, ‘गाँस काटेर सय रुपैयाँका दरले जम्मा गरेको पैसा नपाएसम्म घर फर्किंदैनौं, बरु ज्यान गए जाओस् ।’