सेल्स बेरीले सुरु गर्यो अनलाइन सपिङ साइट
काठमाडौं । रिटेल सुपरमार्केट चेन सेल्स बेरीले आफ्नो अनलाइन सपिङ साइट सुरु गरेको छ । कम्पनीले ‘सेल्स बेरी ईकमर्श’ नामको वेबसाइट लञ्च गर्दै ई–कमर्श क्षेत्रमा पाइला राखेको हो ।
सोमबार सातदोबाटोस्थित सेल्सबेरीकै कार्यालयबाट वेबसाइटलाई लञ्च गरिएको छ । कम्पनीका सीईओ सुनिल प्रधानाङ्गले वेबसाइटलाई लञ्च गरेका थिए ।
वेबसाइटमार्फत ग्राहकले सेल्सबेरीको भौतिक स्टोरमा पाउने जस्तै विविध किसिमका प्रोडक्ट्सहरु पाउनेछन् । ४ हजारभनदा धेरै सामग्री देशभरका ४ ठाउँहरुबाट डेलिभरि गरिने कम्पनीले जनाएको छ । काठमाडौंभित्र सातदोबाटो, सितापाइला र महाराजगञ्ज तथा पोखरास्थित चिप्लेढुंगाबाट सेल्सबेरीले आफ्ना सामग्रीहरु अनलाइनबाट अर्डर भएअनुसार डेलिभरि गर्नेछ ।
वेबसाइट लञ्च कार्यक्रममा बोल्दै कम्पनीका सिईओ सुनिल प्रधानाङ्गले भौतिक रुपमा गरेको कामलाई अब डिजिटल रुपमा गर्न लागेको बताए । उनले भने, ‘भौतिक रुपमा गरेका थियौं । कोभिडपछि ईकमर्शको ग्रोथ भयो । ईकमर्शमा पनि कम्पिटिसन छ । विगत १ वर्षदेखि हामीले पनि ईकमर्शमा काम गरिररहेका थियौं । आज यो दिनमा आइपुग्दा खुसी लागेको छ ।’
उनले भौतिक स्टोरबाट ग्राहकले किन्ने सामानहरु जस्तै गरि अनलाइनमाध्यमबाट सामान किन्दा पनि विभिन्न अफरहरु पाउने बताए । अनलाइनमार्फत सामान किन्दा थप बृहत स्किमहरु कम्पनीले ल्याएको उनले बताए ।
सँगै कम्पनीले आगामी दिनमा थप २ वटा ठूला स्टोरहरु खोल्न लागेको पनि सोमबारको कार्यक्रममा उनले जानकारी दिए । महाराजगञ्जमा हाल रहेको सेल्सबेरीको स्टोरलाई बढाएर रेस्टुरेन्ट, जकुजी, बालबालिकाका लागि खेल्ने ठाउँसहितको स्टोर ल्याउने र पोखराको चिप्लेढुंगामा रहेको आफ्नो स्टोरको क्षेत्रफललाई पनि बढाउने योजना रहेको उनले बताए । उनले भने, ‘काठमाडौंमा पनि अरु दुई चार ठाउँमा स्टोरहरु खुल्नेछन् ।’
ई–कमर्शमा प्रवेश गरेको उपलक्ष्यमा कम्पनीले ५ हजारभन्दा माथिको सामग्री वेबसाइटबाट किन्दा सित्तैमा डेलिभरिको व्यवस्था गरेको छ । ग्राहकले अर्डर गर्दा अनलाइनमार्फत नै फोनपे तथा डिजिटल वालेजको प्रयोग गरेर रकम तिर्न सक्ने तथा क्यास अन डेलिभरिको पनि सुविधा रहेको सेल्सबेरीले जनाएको छ ।