नक्कली शरणार्थी प्रकरणमा प्रधानमन्त्रीको मुटु चेक गर्न चाहन्छु, कुन अस्पतालमा चेक गर्ने भन्नुस्: रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका सांसद रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहालको मुटु चेक गर्न चाहेको बताएका छन् ।
बुधबार प्रतिनिधि सभा बैठकमा लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुटु नकमाई अनुसन्धान हुने बताएका प्रधानमन्त्रीको मुटु कामेकोजस्तो लागेको बताउँदै लामिछानेले मुटु जाँच गर्नु पर्ने बताए ।
‘प्रधानमन्त्रीजी, तपाईंले मुटु कमाउँदिनँ भन्नुभएको छ । अब म तपाईंको मुटु चेक गर्न चाहन्छु, कुन अस्पतालमा चेक गर्ने भन्नुस्,’ लामिछानेले भने, ‘काम्दैन भनेको तपाईंको मुटु काम्यो कि भन्ने मलाई शंका लागेको छ।’
भुटानी शरणार्थी प्रकरणमा नाम आएकाहरुको बयान नलिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । उनले कांग्रेस, एमाले र माओवादीका नेताहरु बसेर खासखु गरेको भन्दै त्यसलाई रोक्न आग्रह गरे ।
‘एकपटक बयानका लागि पनि नबोलाउने भनेको अविश्वासको वातावरण सिर्जना भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा बेइज्जत भएको यो विषयलाई सामसुम थामथुम नगर्नुहोला । तीन पार्टी (कांग्रेस, एमाले र माओवादी) बसेर तपाईंहरूले खासखुस गर्नुभयो । त्यसको गन्ध संसदसम्म ठासठुस आयो। देशभरि त्यसको गन्ध गयो। रोक्नुस्।’