आईएमएफले बढायो आर्थिक वृद्धिको लक्ष्य, तीन महिनामा सुध्रियो अवस्था



काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन् २०२३ को आर्थिक वृद्धीको लक्ष्य बढाएको छ ।

गत अक्टुबरमा सार्वजनिक बर्ल्ड इकोनमिक आउटलुकमा सन् २०२३ मा विश्वको आर्थिक वृद्धि २.७ प्रतिशत हुने अनुमान गरेको आईएमएफले सोमबार सार्वजनिक गरेको आउटलुकमा सन् २०२३ मा विश्वको आर्थिक वृद्धि २.९ प्रतिशत हुने अनुमान गरेको हो ।

अमेरिका, युरोपेली युनियन र भारत, चीन, ब्राजिल, इण्डोनेशिया लगायतका उदयमान अर्थतन्त्र भएका देशमा अपेक्षागरे भन्दा उपभोग र लगानी वृद्धि हुँदा अन्तिम त्रैमाशमा अर्थतन्त्र अपेक्षाभन्दा सुधार भएको आईएमएफले जनाएको छ ।

यस्तै, आपूर्ति प्रणालीमा लागत कम हुँदा लजिस्टिक खर्च घटेपछि गाडी मोटरको मूल्य सस्तियो र रसिया युक्रेन युद्धका बाबजुत इन्धनको मूल्यमा अपेक्षाभन्दा बढी गिरावट आउँदा अर्थतन्त्र केही चलायमान भएको कोषले जनाएको छ ।

सन् २०२३ मा आर्थिक वृद्धीको लक्ष्य सुधार भए पनि यो वर्ष सन् २०२२ बराबर आर्थिक गतिविधि नहुने आईएमएफको अनुमान छ ।

आईएमएफले प्रकाशित गरेको पछिल्लो प्रतिवेदन अनुसार सन् २०२२ मा पूर्व अनुमानभन्दा आर्थिक वृद्धिमा सुधार देखिएको ।
गत अक्टोबरमा आईएमएफले सन् २०२२ मा ३.२ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेको थियो । सोमबार सार्वजनिक प्रतिवेदनमा गत वर्ष ३.४ प्रतिशत आर्थिक वृद्धि भएको आईएमएफले जनाएको छ ।

महँगी नियन्त्रण गर्न विभिन्न देशका केन्द्रीय बैंकले गरेको ब्याजदर वृद्धि, रसिया युक्रेन र चिनियाँ अर्थतन्त्रमा आएको सुस्तताले सन् २०२३ मा सन् २०२२ को तुलनामा आर्थिक गतिविधि कम हुने आईएमएफको अनुमान छ ।

सोमबार सार्वजनिक प्रतिवेदनमा सन् २०२४ को आर्थिक वृद्धि ३.१ प्रतिशत हुने अनुमान गरिएको छ ।

सन् २००० देखि २०१९ सम्मको औषत आर्थिक वृद्धि ३.८ प्रतिशत भएकोमा कोरोना महामारीपछि आर्थिक गतिविधि घट्दै गएका छन् ।

चिनियाँ अर्थतन्त्र सुधार हुँदै जानुको साथैं कयौंदेशमा माग बढ्ने सम्भावना पनि देखिएकाले सन् २०२४ पछि अर्थतन्त्र सुधार हुन सक्ने आईएमएफको अनुमान छ ।

रसिया र युक्रेन युद्धले खाद्यपदार्थको मूल्य वृद्धि गर्दा कयौं देशमा कस्ट अफ लिभिङ बढ्दै गएको कोषले जनाएको छ ।

आईएमएफले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार चीनको आर्थिक वृद्धि ५.२ प्रतिशत हुँदा भारतको वृद्धीदर ६.१ प्रतिशत हुने अनुमान गरिएको छ ।

ठूलो अर्थतन्त्र रहेका देशमध्ये यो वर्ष बेलायतको अर्थतन्त्र ०.६ प्रतिशतले संकुचित हुँदा अमेरिकाको अर्थतन्त्र १ प्रतिशत, युरोपियन युनियनको १.४ प्रतिशत, जापानको अर्थतन्त्र १.८ प्रतिशतले वृद्धि हुनेछ । युक्रेनसँग युद्ध गरिरहेको रसियाको अर्थतन्त्रपनि सन् २०२३ मा ०.३ प्रतिशतले वृद्धी हुने आईएमएफको अनुमान छ ।

आगामी दिनमा चीनको अर्थतन्त्र कसरी सुधार हुन्छ, रसिया युक्रेन युद्ध कुन अवस्थामा जान्छ र महँगी कसरी बढ्छ भन्नेमा विश्व अर्थतन्त्र निर्भर रहेको कोषको अनुमान छ ।

पछिल्लो समय कयौं देशले वैदेशिक ऋणको समस्या सामाना गर्नुको साथैं तत्कालै रसिया युक्रेन युद्ध समाप्त हुने सम्भावना नदेखिएकाले विश्व अर्थतन्त्र सुधार नहुने कोषले जनाएको छ ।


क्लिकमान्डु