संसारकै ठूलो अर्थव्यवस्था भएको अमेरिका प्रतिव्यक्ति आयमा १०औं स्थानमा, कसरी हुन्छ अर्थतन्त्रको मापन ?



एजेन्सी । संसारका सबैभन्दा धनी देशहरु कुन कुन हुन् भन्ने जस्ता प्रश्नको जवाफ दिन सहज लागे पनि त्यो यति सहज छैन । यो विषयमा प्रायः अनुमानहरु हुन्छन्, तर सत्यता भने प्राय धेरैलाई थाहा हुँदैन । सटिक जवाफको रुपमा संसारकै धनी देश कुन हुन् भन्ने प्रश्नको उत्तर आवश्यक हुन्छ ।

सामान्य रुपमा कुनै पनि देश कति धनी वा कति गरिब छ भन्ने विषयको अनुमान उक्त देशको कुल ग्रार्हस्थ्य उत्पादन वा जीडीपीको आधारमा लगाइन्छ । जीडीपी कुनै एक निश्चित समयमा कुनै पनि देशको वस्तुहरु र सेवाहरुको उत्पादन जोडेर बन्छ । कुनै पनि देशको सम्पत्तिबारे जान्नका लागि यसलाई एक संकेतका रुपमा हेरिन्छ ।

अर्थव्यवस्थाको मापनका लागि जीडीपी यस्तो विषय हो, जुन सबैभन्दा चर्चित छ र धेरैले यसैको प्रयोग पनि गर्ने गर्छन् । जीडीपीमार्फत् अन्य विषयहरुसँगै सरकारले कति कर हासिल गरेको छ र शिक्षा तथा स्वास्थ्य जस्ता क्षेत्रमा कति पैसा खर्च गरिरहेको छ भन्ने जस्ता कुराहरु बारेमा थाहा हुन्छ ।

हुन त जीडीपीको मापनमाथि विभिन्न प्रश्नहरु पनि उठ्ने गरेको छ । तर, यसकै आधारमा दुनियाँका सबैभन्दा धनी देशहरुको बारेमा जानकारी प्राप्त गर्न सकिन्छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष र भिजुअल क्यापिटलिष्टले अक्टोबर २०२२ को तथ्यांकको आधारमा दुनियाँका १० धनी देशहरुको सूची बनाएका छन् । उक्त सूचीकाअनुसार संसारकै सबैभन्दा धनी देश अमेरिका रहेको छ ।

सूचीको शीर्ष स्थानमा रहेको सबैभन्दा धनी देश अमेरिकाको जीडीपी २५.०३५ ट्रिलियन अमेरिकी डलर रहेको छ ।
त्यस्तै, दोस्रो नम्बरमा चीन रहेको छ । चीनको जीडीपी १८.३२१ ट्रिलियन अमेरिकी डलर रहेको छ ।

जापान ४.३०१ ट्रिलियन अमेरिकी डलरको जीडीपीसहित तेस्रो नम्बरमा रहेको छ भने चौथो नम्बरमा रहेको जर्मनीको जीडीपी ४.०३१ ट्रिलियन अमेरिकी डलरको रहेको छ ।

पाँचौं नम्बरमा भने नेपालको छिमेकी देश भारत रहेको छ । भारतको जीडीपी ३.४६९ ट्रिलियन अमेरिकी डलरको रहेको छ ।

बेलायत ३.१९९ ट्रिलियन अमेरिकी डलरको जीडीपी सहित छैटौं धनी राष्ट्र रहेको छ भने २.७७८ ट्रिलियन अमेरिकी डलरको जीडीपी रहेको फ्रान्स सातौं धनी राष्ट्र रहेको छ ।

आठौं, नवौं र दशौं नम्बरमा क्रमशः क्यानडा, रुस र इटली रहेका छन् । यी देशहरुको जीडीपी क्रमशः २.२ ट्रिलियन, २.११३ ट्रिलियन र १.९९ ट्रिलियन अमेरिकी डलर रहेको छ ।

यो तथ्यांकले विश्वका सबैभन्दा धनी १० राष्ट्रहरुको अर्थव्यवस्थाको बारेमा केही जानकारी त प्राप्त हुन्छ । तर, यहि तथ्यांककै आधारमा सबै कुरा प्राप्त हुँदैन ।

जीडीपीबारे आलोचना गर्ने केही आलोचकहरुकाअनुसार जीडीपीमा सबैभन्दा महत्वपूर्ण कुरा उत्पादन हो । यस विषयको सुरुवात गर्ने अर्थशास्त्री सिमोन कुजनेट्स भने यसलाई धेरै महत्व दिँदैनन् ।

उनको विचारमा १९३० को दशकमा अर्थव्यवस्थाको समग्र रुपमा मापन गर्नका लागि एउटै तरिकाको खोजी गर्नुपर्ने थियो । यसमार्फत देशलाई आर्थिक मन्दीबाट बाहिर निस्किन सहायता होस् भन्ने लक्ष्य राखिएको थियो ।

यसकारण वास्तवमा उत्पादनको रुपमा लिइने सम्पत्तिको आकंलन गर्नुपर्ने थियो, ताकी यसबाट राम्रो जीवनशैलीको अनुमान गर्न सकियोस् ।

तर, यस्तो सोच हुँदा हुँदै दोस्रो विश्वयुद्ध शुरु भयो र प्राथमिकताहरुमा परिवर्तन आए । राम्रो जीवनशैलीको ठाउँमा जीवन बचाउनुपर्ने चुनौतीहरु सामुन्ने देखिए ।

अत्यधिक प्रभावशाली बेलायती अर्थशास्त्री जोन मेनार्ड कीन्सका लागि अर्थव्यवस्थाले के उत्पादन गर्न सक्छ र युद्धको समयमा मानिसहरुको खपतका लागि कमसेकम कति आवश्यक हुन्छ भन्ने कुरा महत्वपूर्ण थियो । बचेका उत्पादनहरुबाट युद्धको खर्च निकाल्नुपर्ने थियो ।

अर्थात्, दुवै पक्षीय अनुमान आवश्यक थियो र यसको अनुमानको उद्देश्यमा पनि परिवर्तन आएको थियो । र यहि शैली त्यसपछि पनि पनि उस्तै किसिमले रहेको थियो ।

युद्धपछि अमेरिकाले जुन देशलाई पुनर्निर्माणका लागि सहायता दिएको थियो, ती देशहरुले कसरी यसको प्रयोग गरिरहेका छन् भन्ने जान्न चाहेको थियो । यसका लागि अमेरिकाले फेरि जीडीपीलाई नै अघि सारेको थियो ।

यसपछि संयुक्त राष्ट्रसंघले पनि यही मापनलाई नै विश्वव्यापी मापनको रुपमा स्वीकारेको थियो ।

प्रतिव्यक्ति जीडीपीका आधारमा कुन देश धनी ?

कुजनेट्सले आर्थिक कल्याणका लागि जुन इकाई बनाउन चाहन्थे, त्यो अर्थव्यवस्थको गतिविधि मापन गर्ने इकाई बन्यो ।

धेरै कुराहरु जुन समाजका लागि राम्रो नभए पनि अर्थव्यवस्थाका लागि राम्रो हुन्छन्, त्यो नै यसमा प्रमुख अन्तरको रुपमा रहेको छ । उदाहरणका लागि अर्थव्यवस्थमा बच्चाको ज्यान बचाउने कुनै पनि वस्तुको उत्पादनले त्यति नै महत्व राख्छ, जति उसलाई मार्ने हतियारको उत्पादनले राख्छ । सँगै यसले गुणस्तरभन्दा पनि संख्यालाई मात्रै मापनको आधार बनाएको हुन्छ ।

जब तपाईं कुनै रेल यात्रामा टिकटको भुक्तानी गर्नुहुन्छ, तब यो जीडीपीको गणनामा समेटिन्छ । तर, यहि बेला तपाईंले यात्रा गर्न लागेको रेलको अवस्था कस्तो छ, मानिसको भिड कस्तो छ, गुणस्तर कस्तो छ भन्ने कुराहरु यसमा समेटिदैन् । राम्रो वा नराम्रो भन्ने कुराले यसमा खासै अर्थ राख्दैन ।

अर्कातिर, यसले सम्पत्तिको असमान वितरणको बारेमा पनि कुनै पनि संकेत गर्दैन । कुनै पनि देशको जीडीपी धेरै हुन सक्छ, तर त्यहाँको आर्थिक असमानताको अवस्था पनि धेरै हुन सक्छ ।

ध्यान दिनुपर्ने कुरा प्रति व्यक्ति जीडीपीको तथ्यांकमा धनी राष्ट्रहरुको सूचीमा भन्दा धेरै फरक हुन्छ । प्रति व्यति वास्तविक धरेलु उत्पादन यस्तो इकाई हो, जसले देशको राष्ट्रिय आय (कुनै निश्चित समयमा वास्तविक घरेलु उत्पादनको माध्यमबाट) र स्थानबीच निवासीहरुको सम्बन्धलाई देखाउँछ ।

तर, यसबाट पनि वास्तविकताको बारेमा थाहा हुँदैन । विशेषज्ञहरुकाअनुसार यसमार्फत कुनै पनि देशको सामाजिक आर्थिक स्थितिको बारेमा भने धेरै जानकारी हुन्छ ।

आईएमएफको हालको अनुमान (२०२३)को आधारमा प्रति व्यक्ति जीडीपीको आधारमा संसारका १० धनी देशहरुको सूचीमा शीर्ष नम्बरमा लक्जमबर्ग रहेको छ । देशको कुल जीडीपीको आधारमा सबैभन्दा धनी देश अमेरिका भएता पनि प्रतिव्यक्ति जीडीपीका आधारमा सबैभन्दा धनी देश लक्जमबर्ग रहेको छ ।

त्यस्तै, दोस्रो देखि दशौं स्थनमा क्रमशः सिंगापुर, आयरल्याण्ड, कतार, मकाउ, स्विट्जरल्याण्ड, नर्वे, संयुक्त अरब इमिरेट्स (युएई), ब्रुनेई र अमेरिका रहेका छन् ।

अमेरिकाबाहेक देशको कुल जीडीपीका आधारमा संसारकै शीर्ष १० धनी देशहरुको सूचीमा भएका देशहरु यो सूचीमा छैनन् । संसारकै धनी देश अमेरिका यो सूचीमा त छ । तर, दुनियाँको सबैभन्दा ठूलो अर्थव्यवस्था भए पनि वैश्विक वास्तविक घरेलु उत्पादनको लगभग २० प्रतिशत हिस्सा ओगटेको भए पनि प्रतिव्यक्ति जीडीपीको सूचीमा भने अमेरिका १० औं स्थानमा रहेको छ ।

यो सूचीको शीर्ष स्थानमा रहेको देश लक्जमबर्ग क्षेत्रफलदेखि जनसंख्या सबैको आधारमा संसारकै सबैभन्दा सानो देशहरुमध्येमा पर्छ । तर, यो देश संसारकै धनी मध्येको एक हो ।

वास्तवमा यो देश संसारकै सबैभन्दा ठूलो बैंकिङ केन्द्रको रुपमा रहेको छ । यसको राजधानीमा २ सयभन्दा धेरै बैंक र १ हजारभन्दा धेरै इन्भेष्टमेन्टट फन्ड सञ्चालनमा रहेका छन् ।

संसारकै सबैभन्दा शिक्षित र अत्यधिक कुशल कर्मचारीहरु उत्पादन गर्ने देशहरुमध्येमा पर्छ लक्जमबर्ग । यो देश बहुर्राष्ट्रिय कम्पनीहरुको माग पूरा गर्नेदेखि उद्योगहरुको लागि केन्द्र र वित्तीय सेवामा आधारित आयात तथा निर्यात अर्थव्यवस्थामा समृद्ध छ ।

यो देशमा साना र मध्यम आकारका उद्योगहरु पनि धेरै छन् । क्षेत्रफलमा सानो भएता पनि समृद्ध कृषि क्षेत्र पनि यहाँको आर्थिक स्थितिलाई सुधार्नमा भूमिका खेल्ने देश पर्छ ।


क्लिकमान्डु