सरकारको समेत लगानी रहेको १० अर्बको फण्डलाई अघि बढाउन प्रधानमन्त्रीसँग संघको आग्रह



काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष बद्री केसीले नेपाल सरकारसहितको लगानी रहेको १० अर्बको लगानी कोष ‘एनआरएन नेपाल डेभलपमेन्ट फण्ड’ लाई अघि बढाउन आग्रह गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा उनले यस्तो आग्रह गरेका हुन् । केसीले ‘एनआरएन नेपाल डेभलपमेन्ट फण्ड’ लाई अघि बढाउन देखा परेका कानूनी र व्यवहारिक कठिनाईबारे जानकारी गराउँदै ती कठिनाईलाई तत्काल सम्बोधन गर्न आग्रह गरे ।

उनले विदेशमा रहेका बहुसंख्यक नेपालीलाई सामाजिक सुरक्षा कोषमा जोड्नुपर्ने, विदेशमा कामका शिलशिलामा अंगभंग भएका नेपालीलाई स्वदेश फिर्ता गर्न तदारुकता देखाउनु पर्ने बताए । घाइतेका परिवारलाई आर्थिक सहायतासहित पुर्नएकीकरण लगायतका विषयमा सरकारले पहलकदमी लिनुपर्ने माग अध्यक्ष केसीले गरे ।

यस्तै संघका अध्यक्ष कुल आचार्यले संघले उठाएको गैरआवासीय नेपाली नागरिकताको मुद्दालाई तत्काल सम्बोधन गर्न अनुरोध गरे । ‘एक पटकको नेपाली सदैव नेपाली’ हुने भन्दै अध्यक्ष आचार्यले विविध कारण अन्योलमा परेको नागरिकताको विषयलाई यथाशक्य छिटो टुंगो लगाउन संघका तर्फबाट आग्रह गरे ।

जवाफमा प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशमा रहेका लाखौं नेपालीहरुको मन जित्ने गरि काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
‘विदेशमा लाखौं नेपालीहरु छन्, मैले मेरो दोस्रो कार्यकालसम्म एनआरएनएले उठाएका मागहरु सम्बोधनका लागि प्रयास गरे’ उनले भने, ‘अब मेरो तेस्रो इनिंग्स्मा विदेशमा बस्ने बहुसंख्यक नेपालीको मन जित्छु ।’

भेटमा प्रधानमन्त्री दाहालले नेपालमा विद्यमान कतिपय कानूनी प्रावधानले सिर्जना गरेका अप्ठ्यारालाई नेपाल सरकारले क्रमशः सच्याउँदै आएको र अबको दिनमा पनि कानूनी उल्झनलाई पन्छाउने प्रयास आफ्नो तर्फबाट जारी रहने बताए ।


क्लिकमान्डु