निजी क्षेत्र हतोत्साही हुनुपर्ने अवस्था छैनः मुख्यसचिव



काठमाडौं । नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले निजी क्षेत्र हतोत्साही हुनुपर्ने अवस्था नरहेको बताएका छन् ।

सोमबार काठमाडौंमा भएको ग्लोवल आईएमई बैंक र बैंक काठमाण्डुबीचको एकीकृत कारोबार शुरु भएको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताउनुभएको हो । उनले देशको अर्थतन्त्र निरन्तर सकारात्मक बन्दै गइरहेकाले निजी क्षेत्र लगानी गर्नका लागि आत्तिनु नपर्ने बताए ।

मुख्यसचिव बैरागीले पछिल्लो समय अर्थतन्त्रमा सकारात्मक संकेत देखापरेको बताए । उनले अर्थतन्त्रका सूचकहरुमा समेत सुधार हुँदै गइरहेको अवस्थामा बैंकहरु मर्जर भइ देशकै ठूलो बैंक बनेको ग्लोवल आईएमई बैंकको कारोबारपछि सूचकमा झनै राम्रो हुने बताए ।

उनले निजी क्षेत्रलाई सरकारको साथ सदैव रहेको भन्दै सरकार निजी क्षेत्रको मनोबल कसरी बढाउने भन्नेबारेमा लागिपरेको बताए । उनले वर्तमान सरकारको प्राथमिकतामा नै अर्थतन्त्र परेकाले निजी क्षेत्रले आफ्नो मनोबल बढास्र एक जुट भइ काम गर्न आवश्यक रहेको बताए ।

उनले भने ‘अर्थतन्त्रमा सकारात्मक संकेत देखापरेका छन्, सूचकहरुमा सुधार आएको छ । यो मर्जरले सूचकमा राम्रो गर्नेछ । निजी क्षेत्र हतोत्साही हुनुपर्ने स्थिति छैन । सरकारले साथ दिनेछ, दिँदै आएको छ । निजी क्षेत्रको मनोबल कसरी अघि बढाउने भन्नेमारेमा प्रधनमन्त्रीको प्राथमिकता छ । निजी क्षेत्रले मनोबल उठाएर एक जुट भइ काम गर्ने हो भने लगानी प्रवद्र्धन गर्नेकुरामा इच्छित कुरा प्राप्त गर्नेछौँ ।’


क्लिकमान्डु