भारतबाट इन्धनको मूल्य बढेर आए पनि निगमले नबढाउने



काठमाडौं । नेपाल आयल निगमले हाललाई इन्धनको मूल्य यथावत् राख्ने भएको छ ।

आज विज्ञप्ति जारी गर्दै निगमले भारतबाट केही मूल्य बढेर आए पनि समग्रमा निगम पाक्षिक ९९ करोड नाफामा रहेकाले हाललाई इन्धनको मूल्य यथावत राख्ने जनाएको छ ।

भारतीय आयल कर्पोरेसनको बक्यौता र नेपाल सरकारको ऋण व्यवस्थापन चुनौतिपूर्ण रहेको निगमले जनाएको छ ।

‘भारतीय आयल कर्पोरेसनको बक्यौता नेपाल सरकारको ऋण व्यवस्थापन चुनौतिपूर्ण अवस्था रहेकाले हाललाई पेट्रोलियम पदार्थको खुद्रा मूल्य यथावत राखिएको छ’ निगमले भनेको छ ।

भारतीय आयल कर्पोरेसन(आईओसी)ले नेपाल आयल निगमलाई आइतबार इन्धनको मूल्य बढाएर पठाएको छ । आईओसीले पठाएको नयाँ मूल्यसूचीमा पेट्रोलको भाउ प्रतिलिटर २ रुपैयााँ ५४ पैसा, डिजेलमा २ रुपैयाँ ९५ पैसा, हवाई इन्धनमा ४ रुपैयाँ १३ पैसा र ग्यासमा प्रतिसिलिन्डर ७८ रुपैयाँ २२ पैसा बढेर आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा प्रशोधित इन्धनको मूल्य बढेपछि आईओसीले पनि मूल्य बढाएर पठाएको निगमले जनाएको छ ।


क्लिकमान्डु