आयात १९% ले घटेपछि राजस्वमा धक्का, ५ महिनामा लक्ष्यभन्दा १ खर्ब कम उठ्यो



काठमाडौं । आयात निरुत्साहित गर्ने नीतिले सरकारलाई नै अफ्ठ्यारोमा पारेको छ । आयात घट्दा सरकारले संकलन गर्ने राजस्वमा गंभीर धक्का लागेको छ ।

आर्थिक वर्षको शुरुवातदेखि नै राजस्व संकलन लक्ष्यभन्दा निकै कम छ । अर्थ मन्त्रालय स्रोले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको ५ महिना अर्थात् मंसिर मसान्तसम्ममा सरकारले लक्ष्यभन्दा १ खर्ब रुपैयाँ कम भन्सार राजस्व संकलन गरेको छ ।

‘सरकारले ५ महिनामा २ खर्ब ५७ अर्ब रुपैयाँ भन्सार राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा जम्मा १ खर्ब ५७ अर्ब रुपैयाँ मात्रै उठेको छ,’ अर्थ मन्त्रालय स्रोतले क्लिकमाण्डूसँग भने, ‘आयातमा गरिएको कडाइका कारण ५ महिनामा १९ प्रतिशतले आयात घट्दा राजस्वमा गंभीर धक्का लागेको हो ।’

राजस्व संकलन यही गतिमा हुने हो भने राजस्वले सरकारको चालु खर्च धान्न पनि नपुग्ने भएको छ ।

‘सरकारी कर्मचारीलाई तलब खुवाउन पनि आन्तरिक ऋण लिनुपर्ने अवस्था देखिएको छ, जुन भयावह हुनसक्छ,’ स्रोतले भन्यो ।


क्लिकमान्डु