काठमाडौं–८ मा सायमीको अग्रता, पछ्याउँदै श्रेष्ठ
काठमाडौं । काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्रको प्रारम्भिक मत परिणाम हेर्दा हाम्रो नेपाली पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।
हाल भइरहेको मत गणनामा हाम्रो नेपाली पार्टी (लौरो अभियान)का सुमन सायमी अघि देखिएका छन् । उनलाई पछ्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका विराज भक्त श्रेष्ठ दोस्रो स्थानमा रहेका छन् ।
सायमी र श्रेष्ठ पालै पालो यो क्षेत्रमा पहिलो र दोस्रो नम्बरमा मत प्राप्त गर्ने उम्मेदवारका रुपमा देखिएका छन् । एमाले तथा गठबन्धनका उम्मेदवारहरु भने यो क्षेत्रमा पछाडि देखिएका छन् ।
हाल भइरहेको मतगणनामा अग्रता लिएका सायमीले १ हजार ८५२ मत प्राप्त गरेका छन् । त्यस्तै, उनलाई पछ्याइरहेका श्रेष्ठले १६ सय ७३ मत प्राप्त गरेका छन् ।
यो क्षेत्रमा तेस्रो स्थानमा नेकपा एमालेका उम्मेदवार शिवसुन्दर राजवैद्य रहेका छन् । उनले ८५७ मत ल्याएका छन् । त्यस्तै, चौथो स्थानमा गठबन्धनकातर्फबाट उम्मेदवार रहेका एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ छन् । उनले हाल ६७० मत प्राप्त गरेका छन् ।