मेटा र ट्विटरपछि अमेजोनले निकाल्यो ३५ सय कर्मचारी



एजेन्सी । ट्विटर, नेटा र माइक्रोसफ्टपछि अन्तर्राष्ट्रिय इ–कमर्श प्लेटफर्म अमेजोनले पनि आफ्ना कर्मचारीहरुलाई निकाल्न सुरु गरेको छ । कम्पनीले जनाएअनुसार आर्थिक मन्दिका कारण घाटा कम गर्नका लागि कम्पनीले कर्मचारीलाई निकाल्न सुरु गरेको हो ।

वाल स्ट्रिट जर्नलको एक रिपोर्टकाअनुसार अमेजोन इन्कले आफ्नो गैर नाफामुलक व्यावसायको समीक्षा गरिरहेको छ । यसमा भ्वाइस असिस्टेन्ट एलेक्सा बनाउने शाखादेखि अन्य शाखाहरु पनि रहेका छन् । कम्पनीले विश्वभर बढिरहेको आर्थिक मन्दीका कारण ‘कस्ट कटिङ’ गर्नका लागि कर्मचारीहरुलाई निकाल्न लागेको बताइएको छ ।

अमेजोनले आफ्नो एलेक्सा व्यावसायको गम्भीर रुपमा मूल्यांकन गरिरहेको वाल स्ट्रिट जर्नलको रिपोर्टमा जनाइएको छ । अमेजोनले आफ्नो भ्वाइस असिस्टेन्टमा नयाँ क्षमताहरु जोड्ने कोशिश गर्नुपर्ने देखिएको जनाएको छ ।

रिपोर्टमा बताइएअनुसार थप क्षमतालाई जोडनका लागि कम्पनीले धेरै लगानी आवश्यक भएको र ग्राहकलाई अहिलेजस्तो थोरै उपयोगिता नभएर थप प्रयोगका लागि यसको प्रयोग हुन सक्ने बनाउन खोजिरहेको छ । यसका लागि कम्पनीले लगानी बढाउन कर्मचारीलाई कम गर्न लागेको देखिएको छ ।

अमेजोनका एक उच्च अधिकारीलाई उदृत गर्दै वाल स्ट्रिटले लेखेअनुसार कम्पनीले पछिल्लो हप्ता नै नयाँ कर्मचारी भर्ती गर्न बन्द गरिसकेको छ । यता कम्पनीमा काम गरिरहेका एक सफ्टवेयर इञ्जिनियर जेमी झांगले आफ्नो लिंकडेनमा पोस्ट गर्दै कम्पनीले आफूलाई निकालेको जानकारी दिएका छन् ।

पूर्व कर्मचारीहरुको सामाजिक सञ्जालमा बताएअनुसार अमेजोनले अमेजोन ग्लोबल रोबोटिक्समा काम गरिरहेका अधिकांश कर्मचारीलाई निकालेको छ । उक्त कम्पनीमा ३७ सय हाराहारीमा कर्मचारी थिए । उक्त कम्पनीबाट ३५ सय जना कर्मचारीलाई निकालिएको समाचारमा जनाइएको छ ।

कम्पनीले आफ्ना कर्मचारीलाई निकालेको जानकारी पूर्व कर्मचारीहरुले दिएको पनि कम्पनी स्वयंले भने यस विषयमा कुनै पनि जानकारी दिएको छैन । यस विषयमा कम्पनीसँग बुझ्ने प्रयास गर्दा वाल स्ट्रिट जर्नललाई पनि कुनै जवाफ प्राप्त नभएको समाचारमा जनाइएको छ ।


क्लिकमान्डु