थाइल्याण्डको ब्राण्ड दुसित थानीको धुलिखेलमा निर्माणाधीन होटलको लागत ३६% ले बढ्यो



काठमाडौं । एक दशकअघि नेपाली हस्पिटालिटी क्षेत्रमा प्रवेश गरेको थाइल्यान्डको प्रसिद्ध ब्रान्ड दुसित थानी होटलको निर्माण अवधि लम्बिँदा लागत बढेको छ ।

काभ्रेको धुलिखेलमा निर्माणधीन होटल सन् २०२१ को जुलाईमा नै सम्पन्न भइसक्नुपर्ने हो । तर, कोभिड महामारीको असरले गर्दा सन् २०२२ को सेप्टेम्बरसम्ममा ७० प्रतिशतमात्रै आर्थिक प्रगति भएको ओमस्टोन एसिया क्यापिटल प्रालिले जनाएको छ ।

कम्पनीअनुसार कोभिडका कारण निर्माण अवधि लम्बिँदा लागत खर्च ३६ प्रतिशतले बढेको जनाएको छ ।

कम्पनीले यसअघि तयार गरेको लागत मूल्याङ्कन प्रतिकोठा २ करोड ६० लाख रुपैयाँ खर्च हुने जनाएको थियो । तर, अहिले उक्त लागत मूल्य बढेर प्रतिकोठा ३ करोड रुपैयाँ खर्च हुने कम्पनीको भनाइ छ ।

उक्त होटलको निर्माण लागत बढेसँगै दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि कम्पनीले १ अर्ब ४ करोड रुपैयाँको रेटिङ गराएको छ ।

जसमा कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ३ करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ करोड रुपैयाँको रेटिङ गराएको छ ।

होटल निर्माणका लागि ओमस्टोन एसिया क्यापिटलले दुसित ओभरसिज कम्पनीसँग समझदारी गरी दुसित थानी ब्रान्डको होटल निर्माण गरिरहेको छ ।

धुलिखेलमा निर्माणाधिन अवस्थामा रहेको कम्पनी सन् २०१८ देखि निर्माण शुरु भएको थियो । कम्पनीले अहिलको लागतअनुसार करिब १ अर्ब ७३ करोड खर्च हुने अनुमान गरेको छ ।

होटलमा भारतीय मूलका व्यापारी विष्णु मोर र गैरआवासीय नेपाली संघ थाइल्यान्डका पूर्वअध्यक्ष र अहिले धितोपत्र बोर्डका अध्यक्षसमेत रहेका रमेश हमालको लगानी छ ।

दुसित थानी थाइल्यान्डको निकै चर्चित होटल ब्रान्ड हो । दुसित होटल एण्ड रिसोर्टको व्यवस्थापनमा भारत, दुबई, माल्दिभ्स, केन्या, कतार, सिंगापुर, युएई, थाइल्यान्ड, चीनलगायत अन्य ४० भन्दा बढी देशमा होटल तथा रिसोर्ट सञ्चालित छन् ।


क्लिकमान्डु